काठमाडाैँ - नेपालमा इन्जिनियरिङ शिक्षाको औपचारिक सुरुआत सन् १९७२ (वि.सं. २०२९) मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान IOE स्थापना भएपछि भएको मानिन्छ। प्रारम्भिक चरणमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र मेकानिकल इन्जिनियरिङजस्ता सीमित कार्यक्रम र थोरै सिटबाट सुरु भएको इन्जिनियरिङ शिक्षा प्रवेश परीक्षामार्फत उत्कृष्ट विद्यार्थीलाई मात्र अध्ययनको अवसर दिने प्रणालीमा आधारित थियो।
वि.सं. २०४७ पछि उच्च शिक्षामा आएको उदारीकरणसँगै नेपालमा अन्य विश्वविद्यालयको स्थापना सँगै इन्जिनियरिङ शिक्षा थप विस्तार भएको छ। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान सबैभन्दा पुरानो र ठूलो संस्था हो, जसका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजहरूले देशका लागि हजारौँ दक्ष इन्जिनियर उत्पादन गरिरहेका छन्। आईओईले सन् १९७८ देखि स्नातक तह, सन् १९९६ देखि स्नातकोत्तर तह, सन् २००३ देखि विद्यावारिधि (पीएचडी) तथा सन् २०१८ देखि पोस्ट–डक्टोरल कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल संस्थानले आफ्ना पाँच आंगिक क्याम्पस र १० सम्बन्धन प्राप्त कलेजमार्फत स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरिरहेको छ। पीएचडी कार्यक्रम पुल्चोक क्याम्पसमार्फत सञ्चालन हुने गरेको छ भने स्नातक र स्नातकोत्तर कार्यक्रम पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल तथा चितवन इन्जिनियरिङ क्याम्पसमा सञ्चालन भइरहेका छन्। संस्थानले लुम्बिनी प्रदेशको घोराही (दाङ) र सुदूरपश्चिम प्रदेशको डोटीमा थप दुई आंगिक क्याम्पस स्थापना गर्ने योजना अघि बढाएकोे छ। यसका अतिरिक्त एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, कान्तिपुर इन्जिनियरिङ कलेज, नेसनल कलेज अफ इन्जिनियरिङ, हिमालय कलेज अफ इन्जिनियरिङ, सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेज, क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ तथा जनकपुर इन्जिनियरिङ कलेज गरी १० सम्बन्धन प्राप्त कलेजमार्फत पनि शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
आईओईअन्तर्गत सिभिल, विद्युतीय, इलेक्ट्रोनिक्स तथा कम्प्युटर, मेकानिकल, अटोमोबाइल, औद्योगिक तथा एरोस्पेस, वास्तुकला, एप्लाइड साइन्स तथा केमिकल, कृषि तथा जियोमेटिक्स इन्जिनियरिङ विभाग सञ्चालनमा रहेका छन्। देशको प्राविधिक तथा इन्जिनियरिङ शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको आईओईले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय विकासमा निरन्तर भूमिका खेल्दै आएको जनाएको छ।हाल संस्थानले १२ वटा स्नातक, ३६ वटा स्नातकोत्तर, विभिन्न विषयमा पीएचडी तथा पोस्ट-डक्टोरल कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्नातक तहमा सिभिल, विद्युतीय, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, अटोमोबाइल, जियोमेटिक्स, औद्योगिक, कृषि, रसायन, एरोस्पेस इन्जिनियरिङ तथा वास्तुकला गरि १२ विषय अध्ययन गराउदै आएको छ। स्नातकोत्तर तहमा संरचनात्मक इन्जिनियरिङ, यातायात इन्जिनियरिङ, जलस्रोत, भूकम्प, जलविद्युत्, वातावरण, ऊर्जा, सूचना तथा सञ्चार, कम्प्युटर प्रणाली, डाटा साइन्स, साइबर सुरक्षा, भौगोलिक सूचना, रक एन्ड टनेल, स्यानिटेसन, सामग्री विज्ञान, जलवायु परिवर्तन, वास्तुकला लगायत ३६ भन्दा बढी विशिष्टीकृत कार्यक्रम सञ्चालनमा छन्।
इन्जिनियरिङ अध्ययन संस्थानले आफूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट इन्जिनियरिङ शिक्षण संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। गुणस्तरीय इन्जिनियरिङ शिक्षा, अनुसन्धान तथा राष्ट्रिय आवश्यकता अनुरूपका अत्याधुनिक प्रविधिमा आधारित जनशक्ति उत्पादनलाई संस्थानले आफ्नो प्रमुख उद्देश्य बनाएको छ। यस उद्देश्यलाई पूरा गर्न आईओईले बजारको मागअनुसार शैक्षिक कार्यक्रम विकास गर्ने, अनुसन्धानलाई प्राथमिकता दिने, विश्वविद्यालय र उद्योगबीच सहकार्य विस्तार गर्ने, प्रभावकारी परीक्षा प्रणाली विकास गर्ने तथा राष्ट्रिय विकासका विषयमा नीतिगत नेतृत्व प्रदान गर्ने लक्ष्य निर्धारण गरेको छ।
त्यस्तै संस्थागत सुशासन, शैक्षिक पूर्वाधार विस्तार, सक्षम विद्यार्थी तथा दक्ष जनशक्ति उत्पादन, वित्तीय दिगोपन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।
पुल्चोक क्याम्पस
पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को केन्द्रीय तथा सबैभन्दा प्रतिष्ठित आंगिक क्याम्पस हो। वि.सं. २०२९ (सन् १९७२) मा स्थापना भएको यो क्याम्पस ललितपुर ,पुल्चोकमा अवस्थित छ।

नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको केन्द्रका रूपमा परिचित यस क्याम्पसले देशका लागि दक्ष तथा सक्षम इन्जिनियर उत्पादन गर्दै आएको छ।हाल पुल्चोक क्याम्पसमा स्नातक, स्नातकोत्तर (एम.एस्सी.) तथा विद्यावारिधि (पीएच.डी.) तहका विभिन्न इन्जिनियरिङ कार्यक्रम सञ्चालन भइरहेका छन्। जस अन्र्तगत बीई सिभिल इन्जिनियरिङ -१४४ सिट,बीई कम्प्युटर इन्जिनियरिङ - ९६ सिट,बीई मेकानिकल इन्जिनियरिङ -४८ सिट,बीई आर्किटेक्चर -४८ सिट,बीई इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ -४८ सिट,बीई इलेक्ट्रिकल इन्जिनियरिङ - ४८ सिट र बीई कृषि इन्जिनियरिङ अन्र्तगत -४८ सिट निर्धारण गरिएको छ। क्याम्पसमा आधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, पुस्तकालय, कम्प्युटर ल्याब, छात्रावास तथा शैक्षिक र प्रशासनिक प्रयोजनका लागि छुट्टाछुट्टै भवनको व्यवस्था रहेको छ।
दक्ष प्राध्यापक, अनुभवी कर्मचारी तथा अनुसन्धानमुखी शैक्षिक वातावरणका कारण पुल्चोक क्याम्पस नेपालमा इन्जिनियरिङ शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएको छ। पुल्चोक क्याम्पसले स्नातक तहमा मात्र सीमित नभई विभिन्न इन्जिनियरिङ विषयमा एम.एस्सी. तथा पीएच.डी. कार्यक्रम सञ्चालन गर्दै आएको छ। इन्जिनियरिङ अध्ययन संस्थानले प्रत्येक वर्ष स्नातक र स्नातकोत्तर तहका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने गर्दछ। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूले मात्र पुल्चोक क्याम्पसमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएकाले यहाँ भर्ना हुन अत्यन्त प्रतिस्पर्धा हुने गर्दछ। पुल्चोक क्याम्पसका विद्यार्थीहरू शैक्षिक उत्कृष्टता, अनुसन्धान क्षमता तथा व्यावसायिक दक्षताका लागि परिचित छन्। यहाँबाट अध्ययन पूरा गरेका इन्जिनियरहरू नेपाल तथा विदेशका सरकारी, निजी, औद्योगिक तथा अनुसन्धान संस्थाहरूमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्।
पुल्चोक क्याम्पसमा स्नातक तहका सातवटा इन्जिनियरिङ कार्यक्रममार्फत कुल ४८० विद्यार्थी भर्ना गरिन्छ। तीमध्ये २४० सिट पूर्ण छात्रवृत्तिका लागि छुट्याइएको छ भने बाँकी २४० सिट पूर्ण शुल्क (फुल–फी) तर्फका विद्यार्थीका लागि निर्धारण गरिएको छ। छात्रवृत्ति प्रवेश परीक्षाको योग्यताक्रम (मेरिट) का आधारमा प्रदान गरिन्छ।
थापाथली क्याम्पस
काठमाडौंको थापाथलीस्थित थापाथली क्याम्पस नेपालमा प्राविधिक तथा इन्जिनियरिङ शिक्षाको अग्रणी शैक्षिक संस्थामध्ये एक हो। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE) अन्तर्गत सञ्चालनमा रहेको क्याम्पस हो। देशलाई आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको यस क्याम्पसले करिब छ दशकदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा यस क्याम्पसले प्रदान गर्दै आएको छ।

स्थापनाकालमा क्याम्पसले मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा मेकानिकल ड्राफ्टिङ विषयमा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो।
सन् १९७३ मा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहि थापाथली क्याम्पस नामबाट सञ्चालन हुन थालेको हो। थापाथली क्याम्पसले हाल स्नातक र स्नातकोत्तर तहमा विभिन्न इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्नातक तह अन्र्तगत हाल सञ्चालित कार्यक्रमहरुमा बीई सिभिल इन्जिनियरिङ-९६ सिट, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ-४८ सिट,बीई मेकानिकल इन्जिनियरिङ-४८ सिट,बीई अटोमोबाइल इन्जिनियरिङ-४८ सिट, बीई औद्योगिक (इन्डस्ट्रियल) इन्जिनियरिङ-४८ सिट,बीई कम्प्युटर इन्जिनियरिङ-४८ सिट,बीई आर्किटेक-४८ सिट रहेका छन्।
थापाथली क्याम्पस नेपालकै एकमात्र इन्जिनियरिङ क्याम्पस हो, जहाँ बीई अटोमोबाइल इन्जिनियरिङ र बीई औद्योगिक (इन्डस्ट्रियल) इन्जिनियरिङ कार्यक्रम सञ्चालन हुँदै आएका छन्। आधुनिक प्रयोगशाला, अनुसन्धान सुविधा, कार्यशाला (वर्कसप), कम्प्युटर ल्याब, पुस्तकालय, स्टुडियो तथा प्रोजेक्टमा आधारित सिकाइको वातावरण क्याम्पसमा उपलब्ध छ। अनुभवी प्राध्यापक तथा अनुसन्धानमुखी शिक्षण प्रणालीका कारण विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।
पूर्वाञ्चल क्याम्पस
पूर्वाञ्चल क्याम्पस (साबिक Eastern Region Campus–ERC) त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को एक प्रमुख आंगिक क्याम्पस हो। सुनसरी जिल्लाको धरान–८, गंगालाल मार्ग (टिनकुने) मा अवस्थित यस क्याम्पस ४४३ रोपनी क्षेत्रफलमा फैलिएको छ।

क्याम्पसमा हाल कृषि, आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड इन्फर्मेसन तथा मेकानिकल इन्जिनियरिङ गरी ७ वटा स्नातक कार्यक्रम सञ्चालनमा छन्। साथै, ल्यान्ड एन्ड वाटर इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। क्याम्पसमा कृषि इन्जिनियरिङमा -२४ सिट,सिभिल इन्जिनियरिङ - २४ सिट, कम्प्युटर इन्जिनियरिङ- ४८ सिट,
इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ - ४८ सिट र मेकानिकल इन्जिनियरिङ तर्फ - ४८ सिट निर्धारण गरिएको छ। गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै पूर्वाञ्चल क्याम्पसले दक्ष इन्जिनियर उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। नेपालको पूर्वी क्षेत्रमा इन्जिनियरिङ शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा यस क्याम्पसले आफ्नो पहिचान स्थापित गरेको छ।
पश्चिमाञ्चल क्याम्पस
पश्चिमाञ्चल क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको एक प्रमुख आंगिक क्याम्पस हो। पोखरा महानगरपालिका–१६, लामाचौरमा अवस्थित यो क्याम्पस वि.सं. २०३८ सालमा स्थापना भएको हो।

प्रारम्भिक चरणमा प्राविधिक तथा डिप्लोमा (ओभरसियर) तहका विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि समयक्रमसँगै क्याम्पसले स्नातक तहका इन्जिनियरिङ कार्यक्रम विस्तार गर्दै आएको छ। सन् १९९९-२००० शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङमा स्नातक कार्यक्रम सुरु गरिएको थियो। त्यसयता यहाँ अध्ययन गरेका विद्यार्थीहरूले शैक्षिक उपलब्धिका साथै अनुसन्धान, नवप्रवर्तन तथा अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता हासिल गरेका छन्। हाल पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ,सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ, विद्युतीय (इलेक्ट्रिकल) इन्जिनियरिङ,मेकानिकल इन्जिनियरिङ, जियोम्याटिक्स इन्जिनियरिङ कार्यक्रमहरु सञ्चालनमा रहेका छन्। कार्यक्रम अन्र्तगत सिभिल इन्जिनियरिङमा ९६,कम्प्युटर इन्जिनियरिङमा४८,इलेक्ट्रिकल इन्जिनियरिङमा ४८,इलेक्ट्रोनिक्स, कम्युनिकेसन तथा इन्फर्मेसन इन्जिनियरिङमा४८,मेकानिकल इन्जिनियरिङ,४८,जियोम्याटिक्स इन्जिनियरिङमा४८ कोटा निर्धारण गरिएको छ। इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको प्रमुख क्याम्पसका रूपमा पश्चिमाञ्चल क्याम्पसले दक्ष, प्रतिस्पर्धी र व्यावसायिक इन्जिनियर उत्पादन गर्दै आएको छ। यहाँ अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय, अनुसन्धान संस्था र उद्योगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। पश्चिमाञ्चल क्याम्पसमा आधुनिक प्रयोगशाला, कार्यशाला, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, अनुसन्धान सुविधा तथा हरियालीयुक्त शैक्षिक वातावरण उपलब्ध छ। क्याम्पसले उद्योग तथा अनुसन्धान संस्थासँग सहकार्य गर्दै विभिन्न अनुसन्धान, तालिम तथा प्राविधिक परियोजनाहरू सञ्चालन गर्दै आएको छ।
त्रिभुवन विश्वविद्यालय,इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगत आङ्गिक सँगै अन्य निजी क्षेत्रका १० वटा कलेजले सम्वन्धन प्रदान गरिएको छ।ति कलेजहरुले संचालन गरेका कार्यक्रम र कलेजका विशेषताहरुलाई क्रमैसँग प्रस्तुत गरिएको छ।
एडभान्स इन्जिनियरिङ कलेज, कलंकी, काठमाडौँ।
एडभान्स इन्जिनियरिङ कलेज काठमाडौँको कलंकीमा अवस्थित निजी इन्जिनियरिङ शिक्षण संस्था हो। सन् २००० मा स्थापित यो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।
एडभान्स इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ तर्फका सिभिल इन्जिनियरिङ ,इलेक्ट्रोनिक्स र सूचना प्रविधि इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ,इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय अध्यापन हुन्छ।
यस कलेजमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, स्मार्ट कक्षाकोठा, प्रोजेक्ट वर्क सुविधा, इन्टर्नसिप तथा औद्योगिक भ्रमण सुविधा सहितका अत्याधुनिक भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। एडभान्स कलेजमा अनुभवी तथा अनुसन्धानमुखी शिक्षककर्मचारी कार्यरत छन्। यस कलेजमा विद्यार्थीहरु पढाइ पछि नेपालको सरकारी तथा निजी क्षेत्रका इन्जिनियरिङ कम्पनीहरू, निर्माण फर्महरू, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि कम्पनी, परामर्शदाता संस्था लगायतका क्ष्ोत्रहरुमा कार्यरत छन्। साथै धेरै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा छात्रवृत्ति सहित उच्च शिक्षा अध्ययनका लागि अवसर प्राप्त गरेका छन्। गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई जोड दिदैँ शिक्षालाई आधुनिक युगसँग सुसंगत बनाउने उद्देश्य बोकेको एडभान्स कलेज पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ।
हिमालय कलेज अफ इञ्जिनियरिङ, च्यासल ,ललितपुर।
गुणस्तरीय इञ्जिनियरिङ शिक्षा मार्फत दक्ष इञ्जिनियर उत्पादन गरि देशको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यका साथ सन् २००० मा स्थापना भएको यस हिमालय कलेज अफ इञ्जिनियरिङ इञ्जिनियरिङ शिक्षा प्रदान गर्ने नेपालकै अग्रणी संस्था हो।

त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि हाल कलेजले कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजीका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
शैक्षिक क्षेत्रमा लामो समयदेखि आबद्ध प्राज्ञिक समुहद्धारा संचालित यस कलेज रहेको स्थान सबै दिशाबाट सहज र पहुँचयोग्य रहेको छ।
कुल १९.५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा सात तल्ले मुख्य भवन र पाँचवटा प्रयोगशाला भवनहरू रहेका छन्। कलेजले इञ्जिनियरिङ संस्थान (क्ष्इभ्) ले तोकेको शैक्षिक र प्रशासनिक मापदण्डहरू कडाइका साथ पालना गरेको छ।
पठनपाठन प्रक्रियालाई अझ प्रभावकारी बनाउन कलेजले नियमित रूपमा सेमिनार, कार्यशाला, तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ।साथै, स्थलगत भ्रमण, परियोजना कार्य र व्यावहारिक अभ्यासहरू मार्फत विद्यार्थीहरूको अनुभवलाई सशक्त बनाउने प्रयास पनि गर्दे आएको छ।
कलेजले प्रत्येक वर्ष अन्तरकलेज र अन्तरविद्यार्थी खेलकुद प्रतियोगिताहरू आयोजना गर्दे आएको छ। कलेजले स्वदेश तथा विदेशमा भएका सम्वन्धित विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ।
२०६५ मा काठमाडौंमा आयोजित अन्तर इञ्जिनियरिङ कलेज प्रतियोगितामा कलेजको रोबोटिक्स टिमले ग्रान्ड प्रिक्स उपादी जित्न सफल भएको थियो। साथै कलेजका विद्यार्थीहरूले भारतको मुम्बइमा सन् २०११ र २०१३ मा आयोजित टेक फेस्टमा पनि सहभागिता जनाएका थियो। कलेजबाट स्नातक भएका इञ्जिनियरहरू कम्प्युटर, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन, सिभिल इञ्जिनियरिङ र वास्तुकलाको क्षेत्रमा दक्षता देखाउँदै आएको कलेजका प्रिन्सिपल डा.रविन्द्र राज गिरी बताउँछन्।
इम्पेरियल कलेज अफ इन्जिनियरिङ, ताथली, भक्तपुर (साविकको जनकपुर इन्जिनियरिङ कलेज)
इम्पेरियल कलेज अफ इन्जिनियरिङ (आईसीई) नेपालका अग्रणी निजी इन्जिनियरिङ शिक्षण संस्थामध्ये एक हो। यस कलेजको स्थापना वि.सं. २०५८ मा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा जनकपुर इन्जिनियरिङ कलेजका रूपमा भएको थियो।

स्थापना कालदेखि नै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष तथा व्यावसायिक इन्जिनियर उत्पादन गर्दै आएको यस कलेजले वि.सं. २०८२ मा आफ्नो नाम परिवर्तन गरी इम्पेरियल कलेज अफ इन्जिनियरिङ राखेको हो। हाल कलेज भक्तपुर जिल्लाको ताथलीमा अवस्थित यस कलेजमा त्रिभुवन विश्वविद्यालय , नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ कार्यक्रम सञ्चालन भइरहेका छन्। सिभिल इन्जिनियरिङ तर्फ - ९६ सिट
इलेक्ट्रोनिक्स, सञ्चार तथा सूचना इन्जिनियरिङ स्नातकमा- ४८ सिट र कम्प्युटर इन्जिनियरिङ स्नातक तफ–४८ सिट निर्धारण गरिएको छ।अनुभवी शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूको नेतृत्वमा सञ्चालित कलेजले उच्चस्तरीय शैक्षिक वातावरण, आधुनिक पूर्वाधार र व्यवहारिक शिक्षामा विशेष जोड दिएको छ।
पाठ्यक्रममा आधारित अध्ययनसँगै कलेजले नियमित रूपमा सेमिनार, कार्यशाला, तालिम, परियोजना कार्य, अनुसन्धान तथा शैक्षिक भ्रमण सञ्चालन गर्दै आएको छ। आधुनिक प्रयोगशाला, अत्याधुनिक कम्प्युटर ल्याब, उच्च गतिको इन्टरनेट, समृद्ध पुस्तकालय, क्यान्टिन, निःशुल्क यातायात तथा छात्रावास सुविधा जस्ता सेवा–सुविधाले विद्यार्थीलाई उत्कृष्ट सिकाइ वातावरण प्रदान गरेका छन्। इम्पेरियल कलेज अफ इन्जिनियरिङले अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। नियमित शैक्षिक कार्यक्रमका अतिरिक्त अनुसन्धान तथा परियोजनामूलक गतिविधिमार्फत विद्यार्थीको व्यावहारिक ज्ञान, सिर्जनशीलता, नेतृत्व क्षमता र रोजगारीयोग्यता अभिवृद्धि गर्न कलेज प्रतिबद्ध छ। यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल तथा विदेशका सरकारी, गैरसरकारी र निजी संस्थाहरूमा सफलतापूर्वक कार्यरत छन्।कलेजको दीर्घकालीन लक्ष्य नैतिक मूल्य, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता तथा अनुसन्धानमुखी सोच भएका विश्वस्तरीय इन्जिनियर उत्पादन गर्नु हो। साथै, प्राविधिक शिक्षामा उत्कृष्टता हासिल गर्दै उद्योग–शैक्षिक सहकार्य विस्तार गर्ने, अनुसन्धान तथा विकासलाई प्रवद्र्धन गर्ने र आधुनिक पूर्वाधारसहितको उत्कृष्ट शिक्षण संस्थाका रूपमा स्थापित हुने कलेजले लक्ष्य बोकेको छ।
कान्तिपुर इन्जिनियरिङ कलेज,धापाखेल ललितपुर।
कान्तिपुर इन्जिनियरिङ कलेज सन् १९९८ मा स्थापना भएको नेपालकै त्रिभुवन विश्वविद्यालय अन्र्तगत इन्जिनियरिङ अध्ययन संस्थानवाट सम्बन्धन प्राप्त सबैभन्दा पुराना निजी इन्जिनियरिङ कलेजमध्ये एक हो।

ललितपुरको शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा अवस्थित यस कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै दक्ष, प्रतिस्पर्धी र सामाजिक उत्तरदायी इन्जिनियर उत्पादन गर्दै आएको छ। कलेजले युरोप र एसियाका ५० भन्दा बढी विश्वविद्यालय तथा ५० भन्दा बढी राष्ट्रिय शैक्षिक संस्था, उद्योग र संघ–संस्थासँग सहकार्य गर्दै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान, तालिम तथा व्यावसायिक अवसर उपलब्ध गराउँदै आएको छ। अनुभवी पूर्णकालीन प्राध्यापक, आधुनिक प्रयोगशाला, सुरक्षित तथा सुविधासम्पन्न पूर्वाधार, अत्याधुनिक शिक्षण विधि र अनुसन्धानमुखी वातावरणका कारण केईसी नेपालका उत्कृष्ट इन्जिनियरिङ शिक्षालयमध्ये एकका रूपमा परिचित छ।
देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूको सहभागिताले कलेजलाई ‘मिनी नेपाल’ को रूपमा समेत चिनाएको छ। विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा नवप्रवर्तनमा जोड र गुणस्तर सुनिश्चितताप्रतिको प्रतिबद्धताले केईसीले गुणस्तर प्रत्यायन (त्तब्ब्) प्राप्त गर्ने लक्ष्यसमेत अघि बढाएको छ। कलेजका पूर्वविद्यार्थी (ब्गिmलष्) हरू नेपाल तथा विदेशका प्रतिष्ठित संस्था र उद्योगमा सफलतापूर्वक कार्यरत छन्। हाल कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई सिभिल इन्जिनियरिङ तर्फ – ९६ सिट,बीई कम्प्युटर इन्जिनियरिङ – ९६ सिट,बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन तथा सूचना इन्जिनियरिङ – ९६ सिट रहेको छ। यसका अतिरिक्त निकट भविष्यमा बीई इलेक्ट्रिकल इन्जिनियरिङ तथा ब्याचलर इन आर्किटेक्चर कार्यक्रम सञ्चालन गर्ने योजना कलेजले अघि बढाएको छ।
स्थापनाकालदेखि नै कान्तिपुर इन्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय सहकार्यलाई विशेष महत्व दिएको छ। बेलारुसको पोलोत्स्क स्टेट युनिभर्सिटीसँगको सहकार्यबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध अहिले युरोप र एसियाका ५० भन्दा बढी विश्वविद्यालय तथा उद्योगसम्म विस्तार भएको छ। कलेजले विभिन्न अन्तर्राष्ट्रिय परियोजनामार्फत सयौं विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई छात्रवृत्ति, तालिम तथा उच्च अध्ययनका अवसर प्रदान गरेको छ। कलेजले ५० भन्दा बढी उद्योग, कम्पनी तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थीलाई औद्योगिक अनुभव, इन्टर्नसिप तथा रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ। कलेजका प्राचार्य डा. केशर प्रसाईं गुणस्तरीय शिक्षा, अनुसन्धान, उद्योगसँगको सहकार्य र आधुनिक पूर्वाधारमार्फत दक्ष तथा विश्वस्तरीय इन्जिनियर उत्पादन गर्ने बताउँछन्।
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी , ललितपुर ।
इन्जिनियरिङ,व्यवस्थापन र आईटी तर्फका दक्ष जनशक्ति उत्पादन गर्न सफल शिक्षण संस्था हो ’काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’। ललितपुरको बालकुमारीमा रहेको यस कलेज सन् २००३ मा स्थापना भएको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङतर्फ सिभिल, कम्प्यूटर र इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, आईटीतर्फ बीसीए, बीएससी सीएसआइटी र व्यवस्थापन संकायतर्फ बीबीएम र बीबीए विषय अध्यापन हुदै आएको छ।
यस कलेजमा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङमा ९६, कम्प्युटर इन्जिनियरिङमा ४८, इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फररमेसन इन्जिनियरिङमा ४८ सिट रहेको छ। भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा रहेको छ। काठफोर्डमा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले उज्वल भविष्य बनाउने सपना बोकेका इमान्दार, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था गरेको छ।
साथै यस कलेजले प्रत्येक विद्यार्थीलाई अध्यन पश्चात् आवश्यकता अनुसार अनिवार्य इन्टर्नसीपको व्यवस्था गर्ने गरेको छ। कलेजमा अध्यनरत पूर्व विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरमा समेत रोजगारीको अवसर प्राप्त गर्न सफल भएका छन्। यस कलेजमा अध्ययन पश्चात विदेश गएकाहरुले पनि ईन्जिनियरिङ र आईटी पेसामा उत्कृष्ट अवसर पाउन सफल भएका छन्। यस कलेजले विद्यार्थीहरुको क्षमता, योग्यता र आर्थिक स्थिति अनुसार प्रत्येक वर्ष विशेष छुट प्रदान गर्ने गरेको छ।
कलेजले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिको आधारमा जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रावृति प्रदान गर्ने गरेको छ।
काठफोर्ड कलेजले मेरिट, शैक्षिक योग्यता र उत्कृष्ट नतिजाको आधारमा र विशेष गरि छात्रा विद्यार्थीहरुलाई विशेष छात्रावृतिको व्यवस्था गरेको छ। काठफोर्ड कलेजले विद्यार्थीलाई पढाइका अलावा खेलकुद, कला साहित्य लगायत मेन्टरसिप, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि लगायतका थुप्रै तालिमहरू प्रदान गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ। विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गर्ने गरेको छ। कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई विशेष जोड दिँदै आएको छ।
यस कलेजले इन्जिनियरिङ, आईटी र व्यवस्थापन क्षेत्रको ज्ञान र क्षमतालाई सुसज्जित गर्दै दक्ष जनशक्ती उत्पादन गर्दे आएको यस कलेजका प्रिन्सिपल सुनिल पोखरेल बताउँछन।
काठमाडौं इन्जिनियरिङ कलेज (KEC), कालीमाटी,काठमाडौँ।
दक्ष र अनुभवि प्राध्यापकहरूको समुहले २८ वर्ष अघि स्थापना गरेको काठमाडौँ ईन्जिनियरिङ कलेज (केईसी) काठमाडौँको कालीमाटीमा रहेको छ। सन् १९९८ मा स्थापना भएको यो कलेज नेपालकै पहिलो ISO ९००१ः२०१५ प्रमाणित इन्जिनियरिङ कलेजका रूपमा परिचित छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

आधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय, बहुउद्देश्यीय हल, खेलकुद सुविधा, प्रशस्त पार्किङ तथा अध्ययनका लागि उपयुक्त शैक्षिक वातावरण कलेजमा उपलब्ध छ।
अनुभवी प्राध्यापक, अनुसन्धानमुखी शिक्षण प्रणाली र प्रयोगात्मक सिकाइमा जोड दिँदै कलेजले दक्ष तथा प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ। केईसीमा ईन्जिनियरिङ विषयतर्फ आर्किटेक्चर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङ विषय अध्यापन हुदै आएको छ। आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८, सिभिल इन्जिनियरिङ तर्फ ९६, कम्प्युटर इन्जिनियरिङतर्फ ९६, इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ४८ र कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङतर्फ ९६ जना विद्यार्थी भर्ना लिने गरेको छ। गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण, अनुसन्धान, नवप्रवर्तन र उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै उचित शुल्कमा अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यस कलेजले आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ।
कलेजले इन्जिनियरिङ शिक्षामा निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। इन्जिनियरिङ शिक्षामा आफूलाई अग्रपंक्तिमा उभ्यान सफल यस कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल हुदै आएको छ।े नेपालकै उत्कृष्ट इन्जिनियरिङ कलेजको विधामा केईसीले थुप्रै अवार्ड समेत प्राप्त गर्न सफल हुदै आएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन कलेजहरूमध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत हासिल गर्न सफल यस कलेजले विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गर्दे आएको छ।‘एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट अवार्ड डिजाइन प्रतियोगिता’, बर्जर र स्पेसेस इन्टेरियर डिजाइन एक्सेलेन्स अवार्ड जस्ता थुपै पुरस्कारहरु प्राप्त गर्न कलेज सफल भएको छ। कलेजले इन्जिनियर बन्ने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था समेत गर्दे आएको छ।
इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापक तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक, शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीको रोजाइमा केईसी पर्ने गरेको छ।
ख्वपा कलेज अफ इन्जिनियरिङ,भक्तपुर ।
ख्वपा कलेज अफ इन्जिनियरिङ नेपालकै पहिलो सामुदायिक इन्जिनियरिङ कलेज हो, जसको सञ्चालन भक्तपुर नगरपालिकाद्वारा गरिएको छ। कलेजले गुणस्तरीय तथा सर्वसुलभ इन्जिनियरिङ शिक्षा प्रदान गर्दै दक्ष इन्जिनियर र आर्किटेक्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।
कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा निम्न स्नातक तहका कार्यक्रम सञ्चालन गरिरहेको छ। क्लेजमा बीई सिभिल इन्जिनियरिङ – तर्फ ९६सिट,बीई कम्प्युटर इन्जिनियरिङमा – ४८ सिट र बीई इलेक्ट्रिकल इन्जिनियरिङमा – ४८ सिट रहेको छ।
स्थापनाकालदेखि नै कलेजले आर्थिक रूपमा मध्यम तथा विपन्न वर्गका विद्यार्थीलाई सुलभ शुल्कमा उच्चस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको छ। आधुनिक प्रविधिसँगै नेपालको मौलिक ज्ञान, परम्परागत प्रविधि तथा निर्माण सामग्रीको संरक्षण, विकास र अनुसन्धानलाई पनि कलेजले विशेष प्राथमिकता दिएको छ। साथै, परम्परागत वास्तुकला, पुरातात्त्विक संरचना तथा स्वदेशी प्रविधिमा अनुसन्धान गरी राष्ट्रिय विकासमा योगदान पु¥याउने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ।
सबै वर्गका नागरिकलाई इन्जिनियरिङ शिक्षा पहुँचयोग्य बनाउने, स्वदेशी ज्ञान तथा प्रविधिको संरक्षण र विकास गर्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने, प्रतिस्पर्धी तथा दक्ष इन्जिनियर उत्पादन गर्ने तथा स्नातकहरूलाई राष्ट्रिय संस्थामा आबद्ध भई देश सेवामा प्रेरित गर्दै आएको छ।
कलेजले उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति सुविधासमेत उपलब्ध गराउँदै आएको छ।
प्रत्येक कार्यक्रममा +२ विज्ञान, आई.एस्सी. वा डिप्लोमा तहमा न्यूनतम ७५ प्रतिशत अंक प्राप्त गरी प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिन्छ। साथै आर्थिक रूपमा विपन्न, मेहनती तथा अनुशासित विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराइन्छ। प्रत्येक सेमेस्टरको नतिजाका आधारमा १०० प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ। समुदायमुखी अवधारणा, अनुभवी प्राध्यापक, गुणस्तरीय शैक्षिक वातावरण, अनुसन्धानमुखी शिक्षा तथा सर्वसुलभ शुल्कका कारण ख्वपा कलेज अफ इन्जिनियरिङ नेपालमा इन्जिनियरिङ अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ।
ललितपुर इन्जिनियरिङ कलेज, चाकुपाट,ललितपुर।
ललितपुर इन्जिनियरिङ कलेज ललितपुरको चाकुपाटमा रहेको छ। सन् २०१० मा स्थापना भएको यस कलेज आईएसओ ९००१ः२०१५ प्रमाणित प्रतिष्ठित इन्जिनियरिङ शिक्षण संस्थाका रुपमा रहेको छ।
कलेजले गुणस्तरीय, व्यवहारिक तथा रोजगारमुखी प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष, सिर्जनशील र प्रतिस्पर्धी इन्जिनियर तथा सूचना प्रविधि विशेषज्ञ उत्पादन गर्दै आएको छ।
कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ , तथा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन कार्यक्रम सञ्चालन गर्दे आएको छ।
अध्ययन–अध्यापन अनुभवी, योग्य तथा अनुसन्धान एवं औद्योगिक अनुभव भएका प्राध्यापकहरूको नेतृत्वमा सञ्चालीत यस कलेजमा विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपसमेत हासिल गर्ने अवसर प्राप्त गर्दै आएका छन्। आधुनिक शिक्षण प्रणालीलाई आत्मसात् गर्दै कलेजले सेमिनार, प्रयोगात्मक कक्षा, व्यक्तिगत ट्युटोरियल तथा परियोजनामूलक सिकाइलाई प्राथमिकता दिएको छ।
अत्याधुनिक प्रयोगशाला, कार्यशाला, स्मार्ट कक्षाकोठा, समृद्ध पुस्तकालय, उच्चगतिको इन्टरनेट, यातायात सुविधा, खेलकुद, शैक्षिक तथा करियर परामर्श कार्यक्रममार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा कलेजले विशेष ध्यान दिदै आएको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक, व्यवहारिक शिक्षण पद्धति तथा विद्यार्थी–मैत्री शैक्षिक वातावरणका कारण ललितपुर इन्जिनियरिङ कलेज नेपालका उत्कृष्ट इन्जिनियरिङ शिक्षण संस्थामध्ये एकका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको बताउँछन् कलेजका प्राचार्य प्रा.डा.सुरेन्द्र बहादुर ताम्राकार बताउँछन्।
नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीइ) कलेज, ताल्चिखेल, ललितपुुर ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर विसं २०५८ मा स्थापना भएको नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीइ) कलेज, ललितपुुरको ताल्चिखेलमा रहेको छ। रिङ रोडबाट नजिकै शान्त वातावरणमा अनुभवी र दक्ष प्राध्यापक समूहद्वारा अध्यापन हुने यस कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल हुदै आएको छ।
यस कलेजले सिभिल इन्जिनियरिङ तर्फ ९६, इलेक्ट्रिकल ईन्जिनियरिङ तर्फ ४८, कम्प्युटर इन्जिनियरिङ तर्फ ४८, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ तर्फ ४८ सिटमा विद्यार्थी भर्ना लिने गरेको छ।कलेजमा ३५ जना शिक्षक प्राध्यापक तथा ३२ भन्दा बढि कर्मचारी कार्यरत छन्।
१५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजको आफ्नै सुविधा सम्पन्न शैक्षिक भौतिक पूर्वाधार रहेको छ। भौतिक तथा शैक्षिक पूर्वाधारले सुसम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित नेपालकै सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने इन्जिनियरिङ कलेजका रुपमा स्थापित भएको छ।
यस कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई जोड दिँदै आएको छ। कलेजले विद्यार्थीहरुमा इन्जिनियरिङ क्षेत्रको ज्ञान र क्षमतालाई उजागर गरि दक्ष जनशक्ती उत्पादन गर्दे आएको छ।यस कलेजले प्रत्येक विद्यार्थीलाई आठौँ सेमेस्टर पछि आवश्यकता अनुसार इन्टर्नसीपको व्यवस्था गरेको छ। यसले विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको सुनिश्चितता प्रदान गर्ने गरेको छ।कलेजले प्रवेश परीक्षाका आधारमा विद्यार्थीहरु सँग शूल्क लिने व्यवस्था गरेको छ। कलेजले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागीताका लागि जोड दिदै आएको छ। कम्प्यूटर ल्याब, हाईड्रोपावर ल्याब, यूनिभर्सल टेस्टिङ ल्याब, ईलोक्ट्रोनिक्स ल्याब, सेमिनार हल लगायतका भौतिक शैक्षिक पूर्वाधारहरुको व्यवस्था रहेको छ।
एनसीईले शिक्षक र विद्यार्थीको अनुसन्धानकार्यका लागि अनुदान उपलब्ध गराउँदै आएको छ। यस कलेजले जटिल र प्रतिस्पर्धात्मक विश्व बजारसँग प्रतिस्पर्दा गर्न सक्ने सक्षम र कुशल इन्जिनियरहरू उत्पादन गर्दै आएको छ। यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा पनि आफ्नो राम्रो प्रभाव छोड्न सफल भएका छन्।
सगरमाथा इन्जिनियरिङ कलेज,सानेपा, ललितपुर।
ललितपुरको सानेपामा रहेको रहेको सगरमाथा इन्जिनियरिङ कलेज त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेज हो। नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा दक्ष इन्जिनियर उत्पादनमा समर्पित अग्रणी शैक्षिक संस्थाका रुपमा यस कलेज रहेको छ।

वि.सं. २०६७ मा स्थापना भएको यस कलेजले उत्कृष्ट इन्जिनियरिङ शिक्षा प्रदान गर्दै विद्यार्थीलाई व्यावसायिक दक्षता, अनुसन्धान क्षमता र नेतृत्व विकासका लागि सक्षम बनाउने उद्देश्यका साथ आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ। सगरमाथा इन्जिनियरिङ कलेजमा स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स र सूचना तथा सञ्चार इन्जिनियरिङ तर्फका विषय अध्ययपन हुन्छ। सवै विषयमा कुल १सय ४४ विद्यार्थी कोटा प्राप्त गरेको यस कलेजमा २०८२ मा १सय २२ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजका ५१ जना विद्यार्थीले गत वर्ष स्नातक पुरा गरेका छन्। त्यस अघिका वर्षमा क्रमशः ५९ र ७२ जना विद्यार्थीले स्नातक उत्तिर्ण हुन सफल भएका थिए।
करिब १० रोपनी क्षेत्रफलमा रहेको यस कलेज आधुनिक शैक्षिक तथा भौतीक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकले सुसम्पन्न यस कलेजले विद्यार्थीलाई व्यावहारिक अनुभव र करियरको अवसर सँगै अनुसन्धान तथा नवप्रवर्तन, व्यक्तित्व तथा नेतृत्व विकासको अवसर यस कलेजको प्रमुख विशेषता रहेको छ। कलेजमा अत्याधुनिक विषयगत प्रयोगशाला, पुस्तकालय, प्रविधिमैत्री कक्षा कोठा तथा अध्ययन–अनुसन्धानका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। अनुभवी, दक्ष र समर्पित प्राध्यापकहरूको मार्गदर्शनमा विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप पनि हासिल गर्ने अवसर प्राप्त गर्देआएका छन्।
कलेजमा २३ भन्दा बढि पुर्णकालीन र ४० जना भिजिटिङ प्राध्यापक सँगै ३३ जना पुर्णकालीन कर्मचारीहरु कार्यरत रहेका छन्।
कलेजका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्दे आएका छन्। कलेजले उद्योग, सरकारी निकाय तथा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमार्फत विद्यार्थीलाई इन्टर्नसिप, औद्योगिक भ्रमण, परियोजना कार्य सँगै रोजगारीका अवसर समेत उपलब्ध गराउने प्रयास गर्ने गरेको छ। यि कार्य मार्फत विद्यार्थीलाई अध्ययनपछि व्यावसायिक जीवनमा प्रवेश गर्न सहयोग पु¥याउँदै आएको छ। कलेजले शिक्षक तथा विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन र अन्तरविषयगत सहकार्यमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै समाजका वास्तविक समस्याको समाधान खोज्ने वातावरण निर्माण गरेको छ।कलेजका विद्यार्थीहरु विभिन्न अन्तराष्ट्रिय कार्यक्रम तथा परियोजनाहरुमा समेत सहभागी हुने गरेका छन्। त्यस्ता विद्यार्थीहरुलाई कलेजले ६ महिना सम्म विदेशमा रहि कार्यक्रम तथा परियोजनामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। यस कलेजवाट उत्तिर्ण विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, औधोगिक प्रतिष्ठान, निर्माण कम्पनी, सुचना प्रविधि लगायतका क्षेत्रमा काम गर्न सफल हुदै आएका छन्।
सगरमाथा इन्जिनियरिङ कलेज केवल इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था मात्र होइन, भविष्यका सक्षम, सिर्जनशील र जिम्मेवार इन्जिनियर तयार गर्ने शैक्षिक केन्द्र पनि हो।कलेजले विद्यार्थीलाई ज्ञान, सीप, अनुसन्धान, नवप्रवर्तन र नेतृत्वको उत्कृष्ट संयोजन प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल करियर निर्माण गर्न सक्ने आधार तयार गरिरहेको छ।