काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पुनर्योग (रेटोटलिङ) पछि ७४२ जना विद्यार्थीको नतिजामा परिवर्तन भएको छ। यससँगै बोर्डको नतिजा प्रकाशन प्रक्रियामा देखिने त्रुटि यस वर्ष पनि दोहोरिएको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ३३ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये २.२३ प्रतिशत अर्थात् ७४२ जनाको नतिजा परिवर्तन भएको हो। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष नतिजा परिवर्तन हुने विद्यार्थीको संख्या केही कम भए पनि त्रुटि पूर्ण रूपमा रोकिएको छैन।
बोर्डले कक्षा १२ को परीक्षा १४ वैशाखदेखि २७ वैशाखसम्म सञ्चालन गरी ५ असारमै नतिजा सार्वजनिक गरेको थियो। परीक्षा सकिएको ४० दिनमै नतिजा प्रकाशित गरिएपछि विद्यार्थीहरूले नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै प्रदर्शनसमेत गरेका थिए।
पुनर्योगको नतिजाअनुसार सुरुमा ‘एनजी’ (नन–ग्रेडेड) प्राप्त गरेका १२९ जना विद्यार्थीले विभिन्न विषयमा ग्रेड प्राप्त गरेका छन्। केही विद्यार्थीले ‘ए प्लस’सम्मको ग्रेड हासिल गरेका छन्। एनजी प्राप्त गर्ने विद्यार्थीको ग्रेडसिटमा प्राप्तांक उल्लेख नहुने र उनीहरू अनुत्तीर्ण मानिने व्यवस्था छ।
विषयगत रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षामा ३१, अंग्रेजीमा ८४, नेपालीमा ५०, गणितमा ७१, एकाउन्टमा ५६, फिजिक्समा ७२, बायोलोजीमा ४२, केमेस्ट्रीमा ७८ र कम्प्युटर साइन्समा ३२ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ। अन्य विषयमा भने परिवर्तन हुने विद्यार्थीको संख्या १० जनाभन्दा कम रहेको छ।
बोर्डले पुनर्योगका लागि प्रतिविद्यार्थी १ हजार रुपैयाँ तथा उत्तरपुस्तिका हेर्न २ हजार रुपैयाँ शुल्क तोकेको छ। पुनर्योगपछि पनि चित्त नबुझेका विद्यार्थीलाई उत्तरपुस्तिका अवलोकन गर्ने व्यवस्था गरिएको छ।
यसैबीच, शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीको विरोधपछि उपसचिव रमा खतिवडाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएको छ। समितिले उत्तरपुस्तिका परीक्षण, परीक्षांक प्रमाणीकरण तथा डेटा इन्ट्री प्रक्रियाको अध्ययनपछि त्रुटि गत वर्षसरह रहे पनि छिटो नतिजा सार्वजनिक गर्ने क्रममा आवश्यक प्रक्रिया पर्याप्त रूपमा पालना नभएको निष्कर्ष निकालेको हो।
समितिका अनुसार परीक्षकले अंक जोड्दा, उत्तरपुस्तिकाको मूल पृष्ठमा अंक टिपाउन छुटाउँदा तथा डेटा इन्ट्रीका क्रममा भएका त्रुटिका कारण नतिजा प्रभावित भएको पाइएको छ। आगामी दिनमा परीक्षकलाई अनिवार्य तालिम, कार्यस्थलमै उत्तरपुस्तिका परीक्षण, सीसीटीभी निगरानी र त्रुटि गर्ने परीक्षकलाई कारबाही गर्ने व्यवस्था लागू गर्न सुझाव दिइएको छ।
उता, एसईईको नतिजामा पनि यस वर्ष ३२ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा १ हजार ८ सय ७९ जनाको नतिजा परिवर्तन भएको थियो।
शिक्षक वा बोर्डका कर्मचारीको त्रुटिका कारण नतिजा परिवर्तन हुँदा पनि विद्यार्थीबाट पुनर्योग शुल्क असुल्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै सरोकारवालाले यस्तो अवस्थामा शुल्क फिर्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।