काठमाडाैँ- स्वास्थ्य सेवा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। अस्पतालमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको भूमिका जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ अस्पतालको समग्र व्यवस्थापन। बिरामीलाई प्रभावकारी सेवा उपलब्ध गराउन अस्पतालको प्रशासन, वित्त, मानव स्रोत, कानुनी पक्ष, सेवा व्यवस्थापन तथा योजना व्यवस्थित हुनु आवश्यक हुन्छ। यही व्यवस्थापन पक्षलाई व्यावसायिक रूपमा अघि बढाउन तयार पार्ने अध्ययन कार्यक्रम हो – ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (BHCM)।बीएचसीएम स्वास्थ्य क्षेत्र र व्यवस्थापनबीचको समन्वय गराउने स्नातक तहको कार्यक्रम हो। यो विषय अध्ययन गरेका जनशक्तिले अस्पताल, क्लिनिक, नर्सिङ होम, स्वास्थ्य बीमा कम्पनी, पुनःस्थापना केन्द्र, औषधि उद्योगलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाको व्यवस्थापनमा काम गर्न सक्छन्।
नेपालमा स्वास्थ्य क्षेत्र विस्तार हुँदै जाँदा अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको संख्या पनि बढिरहेको छ। स्वास्थ्य क्षेत्रमा सरकारी तथा निजी लगानी बढ्दै जाँदा दक्ष व्यवस्थापकीय जनशक्तिको आवश्यकता पनि बढिरहेको छ। त्यसैले स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा रुचि राख्ने विद्यार्थीका लागि बीएचसीएम सम्भावनायुक्त करियर विकल्पका रूपमा विकास हुँदै गएको छ।
कार्यक्रम : Bachelor in Health Care Management (BHCM)
अवधि : ४ वर्ष / ८ सेमेस्टर
क्षेत्र : स्वास्थ्य सेवा व्यवस्थापन
प्रमुख करियर : अस्पताल प्रशासन, स्वास्थ्य संस्था व्यवस्थापन, स्वास्थ्य बीमा, हेल्थकेयर कन्सल्टिङ, अनुसन्धान तथा स्वास्थ्यसम्बन्धी परियोजना व्यवस्थापन
अध्ययनपछि : स्वदेश तथा विदेशमा उच्च शिक्षा र रोजगारीका अवसर खोज्न सकिने
बीएचसीएम किन अध्ययन गर्ने?
बीएचसीएम अध्ययनपछि विद्यार्थीले स्वास्थ्य संस्थाको व्यवस्थापनसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्छन्। यस क्रममा अस्पताल सञ्चालन, स्वास्थ्य सेवा व्यवस्थापन, वित्तीय प्रणाली, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य कानुन, अनुसन्धान, बजार व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रको संवेदनशीलताबारे अध्ययन गरिन्छ।
स्वास्थ्य संस्था सञ्चालन गर्दा केवल प्रशासनिक ज्ञान मात्र पर्याप्त हुँदैन। बिरामीको अधिकार, स्वास्थ्यसम्बन्धी कानुन, नैतिकता र सेवाको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने भएकाले यस विषयले व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रको संवेदनशील पक्षलाई पनि समेट्छ।
बीएचसीएममा के - के पढाइ हुन्छ?
बीएचसीएम सामान्यतया चार वर्षे तथा आठ सेमेस्टरमा अध्ययन हुने स्नातक तहको कार्यक्रम हो। पाठ्यक्रममा व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषय समावेश गरिएका हुन्छन्।
यसअन्तर्गत विद्यार्थीले अस्पताल सञ्चालन तथा व्यवस्थापन, कम्प्युटर, मनोविज्ञान, सूक्ष्म अर्थशास्त्र, समाजशास्त्र, गणित, लेखा, अनुसन्धान, बजार व्यवस्थापन, स्वास्थ्य कानुनलगायत विषय अध्ययन गर्छन्।
यसले विद्यार्थीलाई अस्पताल तथा स्वास्थ्य संस्थाको दैनिक सञ्चालनदेखि दीर्घकालीन योजना निर्माणसम्म आवश्यक पर्ने व्यवस्थापकीय सीप विकास गर्न सहयोग पुर्याउँछ।
बीएचसीएम अध्ययनपछि कहाँ काम गर्न सकिन्छ?
बीएचसीएम पूरा गरेपछि विद्यार्थीका लागि स्वास्थ्य क्षेत्रभित्र विभिन्न करियर विकल्प खुल्छन्। प्रमुख कार्यक्षेत्रहरू यस्ता छन् :
- अस्पताल, क्लिनिक तथा नर्सिङ होम
- स्वास्थ्य बीमा कम्पनी
- कन्सल्टिङ फर्म
- जनस्वास्थ्यसम्बन्धी विभाग
- पुनःस्थापना केन्द्र
- विश्वविद्यालय तथा अनुसन्धान केन्द्र
- स्वास्थ्य क्षेत्रका विकास कार्यक्रम
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा कार्यक्रम
- सरकारी तथा गैरसरकारी संस्था
- औषधि उद्योग
- स्वास्थ्यसम्बन्धी परियोजना तथा संस्थाको व्यवस्थापन
यसका अतिरिक्त अनुभव र उच्च शिक्षा हासिल गरेपछि स्वास्थ्य सेवा व्यवस्थापन, अस्पताल प्रशासन तथा स्वास्थ्य नीति निर्माणसँग सम्बन्धित क्षेत्रमा पनि करियर विस्तार गर्न सकिन्छ।
नेपालमा बीएचसीएम अध्ययन
नेपालमा बीएचसीएम कार्यक्रम पोखरा विश्वविद्यालय तथा सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन हुँदै आएको छ। उपलब्ध जानकारीअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीएचसीएम सञ्चालन गर्ने कलेजहरूमा नेशनल ओपन कलेज सानेपा, नोबेल कलेज, सिनामंगल, नर्विक बिजनेस कलेज, अर्थव बिजनेस कलेज महाराजगञ्ज र एमआईटी कलेज, महेन्द्रनगर रहेका छन्।
कलेजअनुसार भर्ना प्रक्रिया तथा शुल्कमा फरक हुन सक्छ। सामान्यतया विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेपछि सम्बन्धित कलेजको प्रवेश परीक्षा तथा अन्तर्वार्ताको प्रक्रियाबाट बीएचसीएममा भर्ना लिन सक्छन्।
कक्षा १२ पछि बीएचसीएम कसले पढ्न सक्छ?
बीएचसीएम अध्ययन गर्न कक्षा १२ उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्छन्। उपलब्ध विवरणअनुसार जुनसुकै संकायबाट कक्षा १२ मा न्यूनतम ‘C’ ग्रेड हासिल गरेका विद्यार्थीले यस कार्यक्रममा प्रवेशका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
तर भर्नाका लागि सम्बन्धित विश्वविद्यालय तथा कलेजले तोकेको योग्यता, प्रवेश परीक्षा र अन्तर्वार्ताका मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। त्यसैले भर्ना हुनुअघि सम्बन्धित कलेजको पछिल्लो प्रवेश सूचना हेर्नु आवश्यक हुन्छ।
शुल्क कति लाग्छ?
नेपालमा बीएचसीएम अध्ययनका लागि कलेजअनुसार शुल्क फरक हुन्छ। सामान्यतया चार वर्षको अध्ययनका लागि करिब ५ देखि ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। वास्तविक शुल्क भने कलेज, सुविधा तथा विश्वविद्यालयले तोकेको संरचनाअनुसार फरक पर्न सक्छ।
रोजगारी र आम्दानीको सम्भावना
स्वास्थ्य क्षेत्र निरन्तर सञ्चालन हुने सेवा क्षेत्र भएकाले यसको व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता पनि निरन्तर रहन्छ। नेपालमा हरेक वर्ष सीमित संख्यामा हेल्थकेयर म्यानेजमेन्टसम्बन्धी जनशक्ति उत्पादन हुने गरेको छ।
अध्ययन पूरा गरेपछि सरकारी तथा संस्थागत नियमअनुसार सुरुवाती तहमा करिब २५ देखि ३० हजार रुपैयाँसम्म मासिक पारिश्रमिकबाट करियर सुरु हुन्छ। अनुभव, जिम्मेवारी, संस्थाको प्रकृति तथा उच्च शिक्षाका आधारमा आम्दानी र पदमा वृद्धि हुँदै जान सक्छ।
विदेशमा पनि अवसर
बीएचसीएमको अध्ययन नेपालमा मात्र सीमित छैन। स्वास्थ्य सेवा व्यवस्थापन विश्वभर आवश्यक पर्ने क्षेत्र भएकाले सम्बन्धित योग्यता र अनुभव भएका जनशक्तिका लागि अन्तर्राष्ट्रिय श्रम बजारमा समेत अवसर खोज्न सकिन्छ।
स्नातक तह पूरा गरेपछि विद्यार्थीले स्वास्थ्य सेवा व्यवस्थापन, अस्पताल प्रशासन, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति, स्वास्थ्य अर्थशास्त्रलगायत क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न सक्छन्। स्वदेश तथा विदेशका विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि विभिन्न अवसर र छात्रवृत्तिको खोजी गर्न सकिन्छ।
कस्तो विद्यार्थीका लागि उपयुक्त?
स्वास्थ्य क्षेत्रप्रति रुचि भए पनि चिकित्सक वा नर्सिङजस्ता प्रत्यक्ष उपचारसम्बन्धी पेशाभन्दा अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनमा करियर बनाउन चाहने विद्यार्थीका लागि बीएचसीएम उपयुक्त विकल्प हुन सक्छ।
मानव स्रोत व्यवस्थापन, वित्त, प्रशासन, योजना निर्माण, नेतृत्व, अनुसन्धान र स्वास्थ्य सेवा प्रणालीमा रुचि राख्ने विद्यार्थीले यस विषयबाट राम्रो करियर निर्माण गर्न सक्छन्।
करियरको सम्भावना
नेपालमा अस्पताल तथा स्वास्थ्य संस्थाको विस्तार, स्वास्थ्य बीमाको विकास, निजी स्वास्थ्य संस्थामा बढ्दो लगानी र स्वास्थ्य सेवाको व्यावसायिक व्यवस्थापनको आवश्यकता बढ्दै जाँदा बीएचसीएम अध्ययन गरेका जनशक्तिको माग पनि विस्तार हुने सम्भावना छ।
स्वास्थ्य सेवा र व्यवस्थापनलाई जोडेर करियर बनाउन चाहने विद्यार्थीका लागि बीएचसीएम एउटा विशेषीकृत व्यवस्थापन शिक्षा हो। स्नातक तहमा प्राप्त ज्ञानसँगै व्यावहारिक अनुभव, इन्टर्नसिप, नेतृत्व क्षमता र उच्च शिक्षा थप्दै गएमा अस्पताल प्रशासन तथा स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा दीर्घकालीन करियर निर्माण गर्न सकिन्छ।