काठमाडाैँ- देशभरका विद्यालय तथा कलेजहरूले कक्षा ११ मा भर्ना अभियान सुरु गरेका छन्।माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि विद्यार्थी आकर्षित गर्न विभिन्न शैक्षिक संस्थाहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका हुन्। भर्नाका लागि विद्यालय तथा कलेजहरुले विभिन्न चरणमा प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन्। सरकारले असार १ गते देखि कक्षा ११ काे पठन पाठन सूरु गर्न निर्देशन दिएको छ।
विद्यालयहरूले विज्ञान,व्यवस्थापन,कानुन,मानविकी,शिक्षा लगायत विभिन्न संकायमा भर्ना खुला गर्दै विद्यार्थी छनोट प्रक्रिया अघि बढाएका छन्।
केही संस्थाले प्रवेश परीक्षा तथा अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिरहेका छन् भने कतिपयले एसईईको नतिजाका आधारमा भर्ना प्रक्रिया सञ्चालन गरेका छन्। विशेषगरी निजी विद्यालय तथा कलेजहरूले छात्रवृत्ति, अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला र अतिरिक्त गतिविधिलाई प्राथमिकतामा राख्दै विद्यार्थी आकर्षित गर्ने प्रयास गरिरहेका छन्।शिक्षाविद्हरूले विद्यार्थीलाई विद्यालय छनोट गर्दा प्रचारभन्दा पनि शैक्षिक गुणस्तर, वातावरण, शिक्षकको क्षमता र नतिजालाई आधार बनाउन सुझाव दिएका छन्।

विज्ञान तर्फ विद्यार्थीहरुको आकर्षण,
अधिकांश विद्यालय र कलेजले कक्षा ११ र १२मा विज्ञान विषय पढाउने गरेका छन्।यसैवाट थाहा हुन्छ विज्ञान विषयमा विद्यार्थीहरुको आर्कषण कति रहेछ भन्ने।
काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेत माविमा शनिबार सम्पन्न प्रवेश परीक्षामा विज्ञान तर्फ मात्र २२ सय विद्यार्थी सहभागी भएका थिए। जबकी उक्त विद्यालयले सिमित कोटामा मात्र भर्ना लिने जनाएको छ। यो त एक सामुदायिक विद्यालयको उदाहरण हो। थुप्रै संख्यामा रहेका निजी विद्यालय तथा कलेजहरुले अहिले विज्ञान विषय अध्यापन गराउने गरेका छन्। विज्ञान विषय मात्र पढाई हुने विद्यालयहरु पनि छन्। त्यस्ता विद्यालयहरुमा विद्यार्थीले भर्ना पाउन उत्कुष्ट नम्बर ल्याउनै पर्नेछ।काठमाडौँको माईतीघरमा रहेको सेन्ट् जेभियर्स कलेजले विज्ञान विषय मात्र अध्यापन गराउदै आएको छ ,जहाँ प्रत्येक वर्ष असंख्य विद्यार्थीहरुले प्रवेश परीक्षा दिने गरेका थिए। यस वर्ष देखि भने विद्यार्थीको जिपिएका आधारमा कलेजले भर्ना लिने निर्णय गरिसकेको छ। तथापी विज्ञान विषय पढन चाहाने विद्यार्थीहरुको पहिलो रोजाईमा यो कलेज अहिले पनि परेको छ। विज्ञान विषय अध्ययन गर्न खोज्नेहरुका लागि काठमाडौँ मोडेल कलेज,ट्रिनिटी कलेज,किष्ट कलेज, प्रसादी एकेडेमी,क्यापीटल कलेज, ओमेगा कलेज सहित दर्जनौ विद्यालय र कलेजहरुमा प्रवेश परीक्षा भएका छन्।
यसरी विद्यार्थीहरुमा विज्ञान विषय तर्फ आर्कषण बढनुमा भविष्यको सुनिश्चततानै हो। विद्यार्थीहरुमा अध्ययनको जग बसाल्ने बिज्ञान विषयनै भएको बताँउछन् ,लामो समय देखि बिज्ञान विषय पढाउदै आएका शिक्षक दीपक वाग्ले। अन्य संकाय भन्दा विज्ञान संकायमा विद्यार्थीहरुले बढि मिहेनेत गर्नुपर्ने आवश्यकता भएकाले विद्यार्थीहरुमा कडा मिहेनेत गर्ने संस्कार समेत यसको अध्ययन मार्फत हुन्छ,उनी भन्छन्। अहिले मिहेनेत गरेर अध्ययन गर्दा पछि जुनसुकै संकाय अध्ययन गर्दा मिहेनेत गर्ने बानीका कारण उत्कृष्टता प्राप्त गर्न विद्यार्थीहरुलाई सहज हुने अनुभव स्वंयम विद्यार्थीहरुको पनि रहने गरेको छ।
विज्ञान विषय अध्ययन गर्दा पछि जुनकुकै संकायमा पनि अध्ययन गर्न सकिने भएकाले पनि विद्यार्थीहरुको आर्कषण देखिएको हो।
प्राविधिक शिक्षा अध्ययनका लागि सहज ,
प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरु आर्कषित हुन थालेका छन्। विगतमा कम जिपिए ल्याउने विद्यार्थीहरुले अध्ययन गर्ने विषयका रुपमा लिने गरिए पनि पछिल्लो समय राम्रै अंक प्राप्त गरेका विद्यार्थीहरु यस तर्फ आर्कषित हुन थालेका हुन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटी) ले पनि शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना प्रक्रियालाई थप सहज र व्यवस्थित बनाएको छ। परिषद्ले ‘प्रवेश प्रक्रिया,भर्ना तथा रजिस्ट्रेसनसम्बन्धी कार्य सञ्चालन मार्गदर्शन–२०८३’ जारी गरेसँगै शिक्षालयहरूलाई प्रवेश परीक्षा, भर्ना र रजिस्ट्रेसनमा थप अधिकार प्रदान गरिएको हो।
परिषद्का उपाध्यक्ष मोहमद साफीउल्लाले नयाँ मार्गदर्शन विद्यार्थी केन्द्रित रहेको बताउँदै विगतमा एसइईपछि प्राविधिक शिक्षातर्फ देखिने अन्योल र झन्झट अन्त्य हुने दाबी गरे। उनका अनुसार अब परिषद् वा प्रदेश कार्यालयहरूले प्रवेश परीक्षा,छनोट,भर्ना तथा सिफारिस कार्य गर्ने छैनन्। एसइई नतिजा सार्वजनिक भएको भोलिपल्टदेखिनै देशभरका शिक्षालयले भर्ना सूचना प्रकाशित गरी जिपिएका आधारमा विद्यार्थी भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ। परिषद्का अनुसार अब सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा जुनसुकै विषय वा धार अध्ययन गरेका विद्यार्थीले पनि परिषद्अन्तर्गतका प्राविधिक कार्यक्रम अध्ययन गर्न पाउनेछन्।हाल देशभर परिषद्अन्तर्गत ६७ आंगिक शिक्षालय, ‘टेक’ कार्यक्रम सञ्चालन भएका ८ सय ६० सामुदायिक विद्यालय तथा ४५० सम्बन्धन प्राप्त शिक्षालय गरी कुल १ हजार ३ सय ७७ शिक्षालय सञ्चालनमा रहेका छन्। स्वास्थ्य तथा प्राविधिक शिक्षा क्षेत्रमा गरी करिब ७५ हजार सिट क्षमता भए पनि विगतमा जटिल भर्ना प्रक्रियाका कारण आधाभन्दा कम विद्यार्थी मात्रै भर्ना हुने गरेका थिए।
सबै विद्यालय कानुन पढाउँदै,
पछिल्ला केही वर्ष यता देखि कानुन विषयमा विद्यार्थीहरुको आकर्षण बढदै गएको छ। विद्यार्थीको यहि आर्कषणलाई ध्यान दिदै काठमाडौँ उपत्यकाका अधिकांश विद्यालय र कलेजहरुले कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउन सुरु गरेका हुन्।
विगतमा एसएलसी पछि त्रिभुवन विश्वविद्यालयको आईएल कोर्स अध्ययन गर्न पाईने अवस्था थियो। नेपाल ल क्याम्पस लगायत काठमाडौँ उपत्यका बाहिरका क्याम्पसहरुमा मात्र पढन् पाईने अवस्थाबाट अब भने विद्यालय तह अर्थात कक्षा ११ र १२ मै कानुन विषय अध्ययन गर्न सहजै पाईने भएको हो।
स्वरोजगार मुलक शिक्षाकारुपमा पनि कानुन विषयलाई लिने गरिन्छ। नेपालको सरकारी सेवामा पनि कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रशस्तै अवसर हुने भएकाले पनि कानुन अध्ययन गर्न विद्यार्थीहरु आर्कर्षित भएका हुन्। कानुन थाहा छैन भन्ने छुट छैन,त्यसैले पनि कानुनका सामान्य ज्ञान हासिल गर्न पनि विद्यालय तहमा कानुनको अध्ययन उपयुक्त मानिन्छ।
सदाबाहार संकाय व्यवस्थापन, मानविकी र शिक्षा
लामो समय देखि नेपाली विद्यार्थीहरुले अध्ययन गर्ने संकायहरुमा व्यवस्थापन,मानविकी र शिक्षा संकाय पर्छन् । शिक्षा संकाय अध्ययन गर्ने भनेको शिक्षक हुन हो भन्ने मान्यता रहेको छ।शिक्षा संकायका अधिकांश विद्यार्थी अध्यापन क्षेत्रमै लाग्ने गरेको पाईन्छ।
व्यस्थापन अध्ययन गर्ने विद्यार्थीहरुको संख्या स्थिर जस्तै छ।यस अन्र्तगत नयाँ नयाँ विषयहरु समावेश गर्दे लगिएकाले पनि विद्यार्थीहरुको रोजाईमा यो संकाय पर्ने गरेको छ। बैकिङ ,बिमा लगायत कर्पोरेट क्षेत्रमा व्यवस्थापन अध्ययन गरेका विद्यार्थीहरुले अवसर प्राप्त गर्ने भएकाले पनि व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीहरुको संख्या उल्लेख्यरुपमा नघटेको पाईएको हो।अधिकांश विद्यालय तथा कलेजहरुले व्यवस्थापन विषय पढाउदै आएका छन्। मानविकी अन्तर्गत धेरै विषय अध्ययन हुने भए पनि पछिल्लो समय विद्यार्थीहरु कानुन तर्फ मोडिएको पाईन्छ।
मानविकीलाई आईटीसँग जोड्दै अध्यापन भएको पनि छ। मानविकी अन्तरगत विगतमा लोकप्रिय रहेका विषयहरु पत्रकारिता,गृह विज्ञान जस्ता विषयहरु कलेजहरुले पढाउन छोडेका छन्।
