काठमाडाैँ- विश्वभरि नै सूचना प्रविधिको तीव्र विकासका कारण इन्फरमेसन टेक्नोलोजी (आईटी) हरेक मानिसको दैनिक जीवनको अभिन्न अंग बनेको छ। आईटी तर्फ ठूलो जनशक्ति खपत भइरहेको छ। अर्थात्, सहजै रोजगारी पाउन सकिने र आफ्नो पेसागत क्षेत्रको काम स्मार्ट तरिकाले गर्न सकिने भएको छ। पछिल्लो समय आईटीमा बढ्दै गएको अवसरका कारण विद्यार्थीहरुको आर्कषण पनि यस तर्फ बढदै गएको छ। यहि अवसरका कारण पनि आईटी विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ।
नेपालमा सञ्चालनमा रहेका १३ वटा विश्वविद्यालय मध्ये त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र यी बाट सम्बन्धन प्राप्त कलेजमा आईटी विषय अध्यापन हुन्छ।
नेपालमा स्नातक तहमा आईटी तर्फ ६/६ महिनाका ८ वटा सेमेस्टरमा चार वर्षीय कोर्स अध्यापन हुन्छ। स्नातक तहमा सूचना प्रविधि शिक्षा तर्फ ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका थुप्रै अन्य विषयहरु अध्ययन हुन्छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन बाबुराम दवाडीका अनुसार वार्षिक २० हजारभन्दा बढी विद्यार्थी सूचना प्रविधिका स्नातक कार्यक्रममा भर्ना हुने गरेका छन्। कतिपय विद्यार्थीमा आईटी पढे पछिका अवसर कस्तो हुने, कहाँ र कसरी पढने? सम्भावित बाटोहरु के – कस्तो हुन्? विश्वविद्यालय र कलेजहरुले प्रभावकारी र स्पष्ट परामर्श प्रदान गर्न नसकेको कारण कक्षा १२ सकेर आईटी पढ्ने सोच बनाएको विद्यार्थीहरु अन्योलमा परेको उनले बताए।
पछिल्लो समय विद्यार्थीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा आईटी तर्फका विषय अध्ययन गर्ने गरेका छन्। विदेशी विश्वविद्यालयहरूको सम्बन्धन लिएर नेपालमा ४० वटा भन्दा बढी कलेजले ७० वटा आईटीका कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेका छन्। ती कलेजमा आईटी विषय पढ्ने विद्यार्थीको संख्या १५ हजार भन्दा बढी रहेको छ।
कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अध्यक्ष सुनैना पाण्डेका अनुसार सूचना प्रविधि क्षेत्रका सम्बन्धित निकायहरुले गैरराजनीतिक, गैरपक्षीय, गैरनाफामूलक र सेवामुखी भएर काम गर्याे भने नेपालको आईटी क्षेत्रले फड्को मार्न संभव छ। राज्यले शहरी क्षेत्रका विद्यार्थीहरुलाई मात्र बढी प्राथमिकता दिनुभन्दा ग्रामीण क्षेत्रमा रहेका आईटी विषय पढ्न चाहने तर पहुँच नपुगेका विद्यार्थीहरुलाई समेत प्राथमिकता राखि डेटा प्रोटेक्सन, साइबर सेक्युरिटी जस्ता फ्रेमवर्क तयार गर्न जरुरी रहेको उनको भनाइ छ।
आईटी तर्फ स्नातक तहमा अध्यापन हुने विद्यार्थीको रोजाइको विषयहरु :
ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी)

बीएससी–सीएसआईटी कम्प्युटर विज्ञान र सूचना प्रविधि विज्ञानको समिश्रण भएको स्नातक तहमा अध्यापन हुने कोर्स हो। कम्प्युटर सफ्टवेयर प्रणालीको आवश्यक ज्ञान र हार्डवेयर प्रणालीको कार्यात्मक ज्ञानका लागि यो कोर्स आवश्यक पर्छ। अपरेटिङ सिस्टम, कम्प्युटर सञ्जाल, सफ्टवेयर इन्जिनियरिङ, र मोडलिङ डेटाबेस प्रणाली, कम्प्युटर ग्राफिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, वेब टेक्नोलोजी जस्ता उच्च प्रविधि प्रयोगको लागि यस तर्फका जनशक्ती आवश्यक पर्छन्।
त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त बीएससी सीएसआईटी ८ वर्षे ८ सेमेस्टर प्रणालीमा अध्यापन हुने कोर्स हो। बीएससी–सीएसआईटी अध्यनको लागि सरकारी कलेजमा ३ देखि ४ लाखसम्म खर्च हुन्छ। निजी कलेजमा ६ देखि १० लाखसम्म सर्च हुन्छ। यो विषय अध्ययनको लागि विद्यार्थीले कक्षा १२ मा अनिवार्य रूपमा विज्ञान विषय लिएर पढेको वा इन्जिनियरिङमा डिप्लोमा गरेको हुनुपर्ने र न्युनतम सी ग्रेड ल्याएको हुनुपर्छ।
ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)
.png)
बीआईटी नेपालमा धेरै विश्वविद्यालयले भिन्न–भिन्न ढंगले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम हो। बीआईटी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन्। पूर्वाञ्चल विश्वविद्यालय र अन्य विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा यो कोर्स सञ्चालनमा छ। यो विषय अध्ययन गर्न कक्षा १२ मा डी प्लस ग्रेड वा १ Þ८ जीपीए हासिल गरेको हुनुपर्दछ। यो कोर्समा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डेटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरुको अध्यापन हुन्छ।
यो विषय अध्ययन गरिसकेपछि विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरूको सञ्चालन गर्न सक्षम हुन्छन्। यो ८ सेमेस्टरको चार वर्षे कोर्स हो। यस विषय अध्ययनको लागि चार बर्षमा सरकारी कलेजमा ३ देखि ६ लाख र निजी कलेजमा ४ देखि १२ लाख रूपैयाँसम्म शुल्क लाग्छ।
ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस)
.png)
बीसीआइएस स्नातक तहमा पोखरा विश्वविद्यालयले तयार गरेको ४ वर्षे कोर्ष हो। यो विषय अध्ययनको लागि विद्यार्थीले कक्षा ११ र १२ न्युनतम सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ। आईटी र म्यानेजमेन्टका विषयहरु मिश्रण गरेर तयार पारिएको यो कोर्स तर्फ पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ।
बीसीआईएसको कोर्षमा विद्यार्थीले व्यवस्थापन अन्तर्गत पर्ने सबै विषय र आइटी अन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डेटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतका विषयहरु अध्ययन गर्छन्। अध्ययन पश्चात् विद्यार्थीले आइटी वा म्यानेजमेन्ट दुबैतर्फको रोजगार र अवसर छनोट गर्न सक्छन्। यो विषयको अध्ययन पश्चात विद्यार्थीले प्रणाली विश्लेषण, सूचना विश्लेषण, डेटाबेस म्यानेजर लगायतका धेरै क्षेत्रमा आफ्नो करिअर स्थापित गर्न सक्छ। साथै विद्यार्थीले स्नातकोत्तर तहमा म्यानेजमेन्ट वा आइटी विषयलाई रोजेर आफ्नो थप अध्ययनलाई अगाडि बढाउन सक्छ।
ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)
.png)
बीसीए आईटी सम्बन्धी कोर्स भएकोले कम्प्युटर एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ। कम्प्युटर(हार्डवेयर)लाई सरल र सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने हुदाँ बीसीएमा विद्यार्थीलाई एप्लिकेसन निर्माण गर्न सिकाइन्छ। बीसीए त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्यापन हुने चार वर्षे ८ सेमेस्टरको कोर्स हो।बीसीए अध्ययन पश्चात् विद्यार्थीहरुले सरकारी र गैरसरकारी आईटी उद्योग, एप्लिकेसन डेप्लपमेन्ट सेन्टर, मोबाइल एप्लिकेसन, ईकमर्स, आईटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम लगायतका सूचना प्रविधि तर्फका जनशक्ति आवश्यक पर्ने जुनसुकै संस्थामा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्छन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीसीए कार्यक्रम अध्ययनको लागि कक्षा १२ मा २.० जीपीए वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको र हरेक विषयमा ‘डी प्लस’ ग्रेड र विश्वविद्यलायले लिले प्रवेश परिक्षामा ४० प्रतिशत अंक ल्याएको हुनुपर्छ। कलेजले दिने छुटको आधारमा शुल्क फरक भएता पनि यो कोर्स पूरा गर्न चारवर्षमा कम्तीमा ४ देखि ८ लाख रुपैयाँसम्म शूल्क लाग्छ। बीसीए कार्यक्रम अहिले देशभर १ सय २४ वटा कलेजले सञ्चालन गरिरहेका छन्।
के भन्छन् सराेकारवाला ?
‘आईटी नेपालमै बसेर विदेशी डलर आम्दानी गर्ने शिक्षा हो’


सुरेन्द्र सुवेदी, क्याम्पस प्रमुख, काठमाडौँ मोडेल कलेज (केएमसी)
नेपालकै शैक्षिक वातावरणमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा आईटिमा लिन सकिन्छ। नेपालमा नयाँ विश्वविद्यालयहरूले सूचना प्रविधि तर्फका विषय थप त गरेका छन् तर विद्यार्थी विदेशी विश्वविद्यालयको कोर्समा आर्कषित भएका छन्। अहिलेको २१ औँ शताब्दिको डिजीटल युगमा विद्यार्थीलाई नेपालमै पढ्नुपर्छ भनेर बाध्य पार्ने कुरा त संभव हुँदैन तर नेपालमै अवसर दिन सकियो भने विद्यार्थी विदेश जाँदैनन्। नेपालमा नभएका विषय पढ्न वा यहाँ सिट नपाएर विदेश जाने कुरा सामान्य हो तर यहाँको शिक्षण संस्थामा सिट खालिहुँदा विद्यार्थी विदेशिनुलाई सामान्य रुपबाट हेर्नु हुँदैन।
विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरिसकेपछि करिअर प्लान बनाएर रुचि, बजारको माग र अध्ययन पश्चात अवसर हुने विषय रोज्नुपर्छ। सम्बन्धित निकायहरुले पनि प्रत्येक वर्ष आईटी तर्फको विषय अध्ययनको लागि विद्यार्थी विदेश जानुको कारण र नेपालमै अध्ययन गर्ने वातावरण बनाउन के गर्नुपर्छ भन्ने जस्ता विविध विषयमा अनुसन्धान तथा मुल्याङ्कन गर्न जरुरी छ।
आईटी क्षेत्रकोे काम विश्वको जुनसुकै कुनामा बसेर पनि डलर आम्दानी गर्न सकिन्छ। नेपाल सरकारले नेपालका शिक्षण संस्थालाई धरासायी हुनबाट जोगाउन र विद्यार्थी विदेशिनबाट रोक्नको लागि नीति परिवर्तन नै गरेर अगाडी बढ्न जरुरी छ। कतिपय संस्थाले विद्यार्थीलाई अहिले पनि घोकन्ते हिसाबले पढाइरहेको छ। यो सामान्य कुरा हो तर हटाउने प्रयास गर्न जरुरी छ।
'सूचना प्रविधि क्षेत्रको विकासमा राज्यले ध्यान दिन आवश्यक छ'

सुनैना पाण्डे, अध्यक्ष, कम्प्यूटर एसोसियसन अफ नेपाल (क्यान महासंघ)
विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि विदेश जानबाट रोक्नको लागि सूचना, प्रविधि क्षेत्रमा सकारात्मक तरङ्ग ल्याउन जरुरी छ। नेपाल सरकार र सम्बन्धित निकायहरुले पनि कम्प्युटर विज्ञान सम्बन्धी साक्षरता र सीपहरूको विकासको लागि आवश्यक रणनीति, ऐन कानुन निमार्ण तथा संशोधन गनुपर्छ। अहिले सूचना तथा सञ्चार प्रविधिको युग हो। त्यसकारण आईटी विषय आफैमा एक महत्वपूर्ण विषय हो। राज्यले शहरी क्षेत्रलाई मात्र जोड दिनुभन्दा ग्रामीण क्षेत्रमा पहुँच नपुगेका आममानिसहरूलाई प्राथमिकता राखि डेटा प्रोटेक्सन, साइबर सेक्युरिटी जस्ता फ्रेमवर्क तयार गर्न जरुरी छ।
नेपालमा लगभग ५० प्रतिशत ईन्टरनेटको एक्सिस छ। यसलाई सतप्रतिशत बनाई आईटी क्षेत्र व्यापक बनाउन आवश्यक छ। सरकारले सूचना प्रविधिमा आधारित रहेका उद्यमशीलतामा जोडिन आवश्यक सरकारी कागजपत्रको कार्यमा सहजीकरण ल्याउनुपर्दछ। आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउन, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान र सुझाबका लागि क्यान र नेपाल सरकारबीच सहकार्य हुन जरुरी छ।