काठमाडौं- सरकारले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिगत आधार तयार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएकी हुन्।
उनका अनुसार पहिलो चरणमा सङ्घीय सरकारअन्तर्गत कार्यरत अस्थायी प्रकृतिका कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेटिनेछ। त्यसपछि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सबै तहका अस्थायी प्रकृतिका कर्मचारी तथा शिक्षकलाई क्रमशः कोषमा आबद्ध गराउने सरकारको योजना छ ।
चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रुपैयाँमध्येबाट यस्तो व्यवस्था कार्यान्वयन गर्ने आधार तयार गरिएको मन्त्री बादीले बताइन्।
सरकारले निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सामाजिक सुरक्षा सुविधा नपाएका सरकारी कर्मचारीलाई समेत कोषमा समेट्ने नीति लिएको उनको भनाइ छ। त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन स्थानीय तहको सहभागिता र सहयोगदानलाई प्रोत्साहन गरिनेछ ।
श्रमिकका लागि हाल एक प्रतिशत हुने रकम बराबरको सहयोगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको उनले जानकारी दिइन्। सामाजिक सुरक्षाको दायरालाई नेतृत्व तहदेखि आधारभूत श्रमिकसम्म विस्तार गर्ने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्री बादीले बताइन्।
यसैगरी, सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ।
मन्त्री बादीले विभिन्न सरकारी निकाय तथा कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षा व्यवस्थालाई समन्वय र एकीकृत गर्दै एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको पनि बताइन्। सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिबद्धताबाट निर्माण भएको नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्।
कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार गम्भीर रहेको पनि मन्त्री बादीले स्पष्ट पारिन्।