काठमाडौं - अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पनि गुणस्तरीय शिक्षा र सिकाइको अवसर सुनिश्चित गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले विद्यालय तथा अनुसन्धान केन्द्र भवन निर्माण सुरु गरेको छ। भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत भएकाे बताइन।
उनले बालबालिकाको क्षमताभन्दा पनि शिक्षा प्रणालीले उनीहरूको फरक आवश्यकता सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गरिन। कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाको सिक्ने क्षमता, संवाद गर्ने शैली, व्यवहार र आवश्यकता फरक हुने भएकाले सोहीअनुसार शिक्षण प्रणाली विकास गर्नुपर्नेमा जाेड दिइन। समतामूलक, संवेदनशील र करुणामय समाज निर्माणको परिकल्पनालाई व्यवहारमा उतार्न महानगरपालिकाले अटिजम स्कूल तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको पनि उनले बताइन। काठमाडौं महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा भवनको जग पूजा तथा शिलान्यास गरिएको हो।
९ करोड ७७ लाखभन्दा बढीमा निर्माण सम्झौता
अटिजम स्कूल तथा अनुसन्धान केन्द्र भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ। निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको छ। भवन निर्माणको काम २०८४ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
कार्यक्रममा अटिजम भएका बालबालिकाका अभिभावक दिलनाथ कँडेल, अटिजम केयर नेपाल सोसाइटीका डा. सुनिता मलेखु अमात्य तथा अभियन्ता सविता उप्रेतीलगायतले आफ्ना धारणा राखेका थिए।
यस्तो हुनेछ भवनको संरचना
निर्माण हुने भवनमा बालबालिकाको सिकाइ, तालिम, प्रशिक्षण, अनुसन्धान तथा प्रशासनिक कार्यका लागि विभिन्न संरचना रहनेछन्।
-
भूमिगत तलामा: ३० वटा दुईपाङ्ग्रे सवारी पार्किङ
-
जमिन तलामा: खुला क्षेत्र, प्रवेशद्वार, भर्याङ र लिफ्ट
-
पहिलो, दोस्रो र तेस्रो तलामा: तालिम तथा प्रशिक्षण कक्ष
-
चौथो तलामा: प्रशासनिक तथा अनुसन्धान कक्ष
-
पाँचौँ तलामा: बार्दली
-
लिफ्ट क्षमता: ८ जना
वडा अध्यक्ष ढकालका अनुसार काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग र सेवाको माग बढ्दै गएको अवस्थामा निर्माण हुन लागेको यो केन्द्रले विद्यार्थीको सीप, ज्ञान र क्षमता विकासमा सहयोग पुर्याउने छ।
