काठमाडौँ- नेपाल पर्यटन, होटल तथा पर्यटन व्यवस्थापन प्रतिष्ठान (NATHM) ले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न छोटो तथा लामाे समयका तालिम कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, बेसिक फुड प्रिपरेशन (कुक), बेकरी, बरिस्टा तथा एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्स कार्यक्रमका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन मागिएको हो।
सूचनाअनुसार ट्रेकिङ गाइड तालिममा २५ जना, ट्रेकिङ पोर्टर गाइडमा १५० जना, बेसिक फुड प्रिपरेशन (कुक) मा ४० जना, बेकरीमा २० जना, बरिस्टामा २० जना तथा एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्समा २५ जना प्रशिक्षार्थी छनोट गरिनेछ।
तालिमका लागि न्यूनतम शैक्षिक योग्यता कार्यक्रमअनुसार फरक–फरक तोकिएको छ। ट्रेकिङ गाइडका लागि प्लस–टु वा सो सरह उत्तीर्ण, अथवा एसईई उत्तीर्ण गरी कम्तीमा दुई वर्ष ट्रेकिङ क्षेत्रमा कार्य अनुभव वा सम्बन्धित प्राविधिक तालिम तथा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ। ट्रेकिङ पोर्टर गाइडका लागि एसईई उत्तीर्ण वा सम्बन्धित अनुभव तथा अन्य तालिमका आधारमा आवेदन दिन सकिनेछ। कुक, बेकरी, बरिस्टा र कुलिनरी आर्ट्स कार्यक्रममा भने एसईई वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिष्ठानका अनुसार तालिम शुल्क ट्रेकिङ गाइडका लागि १० हजार रुपैयाँ, ट्रेकिङ पोर्टर गाइडका लागि ३ हजार ५०० रुपैयाँ, बेसिक फुड प्रिपरेशन (कुक) का लागि ३० हजार रुपैयाँ, बेकरीका लागि २५ हजार रुपैयाँ, बरिस्टाका लागि १२ हजार रुपैयाँ तथा एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्सका लागि २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
इच्छुक उम्मेदवारले भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत गर्न सकिनेछ भने आवश्यक कागजातसहित प्रतिष्ठानको एक्सटेन्सन काउन्टरमा पनि फाराम बुझाउन सकिने सूचनामा उल्लेख छ।
प्रतिष्ठानले बरिस्टा, बेकरी र बेसिक फुड प्रिपरेशन (कुक) तालिमका लागि न्यूनतम १० जना तथा एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्सका लागि न्यूनतम २० जना आवेदन परेपछि मात्रै तालिम सञ्चालन गरिने जनाएको छ। साथै, तालिमको विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
