काठमाडाैँ- पछिल्लो समय नेपाली विद्यार्थी अध्ययनका लागि जाने मुलुकका शिक्षा नीतिमा आएको परिवर्तनका कारण विद्यार्थीकाे शैक्षिक गन्तव्य परिवर्रतन भएकाे अवस्था छ। विद्यार्थीले यस अघि आवेदन दिने अष्ट्रेलिया, क्यानडा भन्दा अन्य मुलुक अमेरिका, युके, न्युजील्यान्ड तिर विद्यार्थीको आकर्षण बढेकाे छ। यसै सन्दर्भमा विभिन्न मुलुकले शिक्षा नीतिमा गरेको परिवर्तन, वर्तमान शैक्षिक अवस्था, विदेश अध्ययनमा जानुअघि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुराहरूका विषयमा नेपालबाट विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा सिईओ एंव एसोसियसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स इन नेपाल (ऐरी नेपाल)का निवर्तमान अध्यक्ष महेशबाबु तिमल्सिनासँग गरिएको कुराकानीको मुख्य अंश।
नेपाली विद्यार्थीको लागि उपयुक्त शैक्षिक गन्तव्य मुलुक कुन - कुन हुन् ?
नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन भइरहेको अवस्था छ। यस्तो अवस्थामा विद्यार्थीको रुचि, अभिभावकको क्षमता अनुसार अंग्रेजी भाषा बोलिने मुलुक नै नेपाली विद्यार्थीका लागि सहज हुन्छ। नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्युजील्यान्ड लगायतका मुलुक अध्ययन र अवसरका हिसाबले उपयुक्त हुन्छ। अहिले विभिन्न मुलुक अनुसार विद्यार्थीको पोलिसी पनि परिवर्तन भएको अवस्था छ। जसका कारण विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्यमा परिवर्तन भएको अवस्था छ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दा के कुरामा ध्यान दिनुहुन्छ?
विद्यार्थी कुनै मुलुक तोकेर शैक्षिक परामर्श व्यवसायीकोमा आएको खण्डमा उक्त मुलुकका लागि विद्यार्थीको योग्यता, अभिभावकको आर्थिक क्षमताले पुग्छ कि पुग्दैन। ती कुरामा ध्यान दिन्छौँ। सोहिअनुसार शिक्षणसंस्था पहिचान गरिदिने काम गर्छौ। तर जो विद्यार्थी कुनै पनि योजना बिना हामीकहाँ आइपुग्नुहुन्छ भने शैक्षिक परामर्श प्रदान गरेर विदेश अध्ययनका बारेमा सम्पूणर् जानकारी प्रदान गरेर उपयुक्त गन्तव्य पहिचान गर्ने काम गर्छौ।
प्रक्रिया पुरा गरेर आवेदन दिएका विद्यार्थीले भिसा नपाएको अवस्थामा कसरी मोटिभेट गर्नुहुन्छ?
भिसा आउने नआउने कुरा हाम्रो हातको विषय होइन। आफूले चाहेको देशमा भिसा नपाउँदा दःुखी हुनु स्वभाविक हो। तर विद्यार्थीले विदेश अध्ययनमा जादैँ गर्दा दोस्रो रोजाइको शैक्षिक गन्तव्य पनि बनाउनुपर्ने हुन्छ। यदि भिसा पाइएन भने नेपालमै पनि बसेर केही गर्न सकिन्छ भनेर उच्च शिक्षा आर्जन गर्ने योजना बनाउनुपर्छ। नेपालमा उच्च शिक्षा लिएपछि पछि आवश्यक लागेमा फेरिपनि विदेशमा अध्ययन गर्न जान सकिन्छ। भिसा नपाएका विद्यार्थीलाई अर्को देश एप्लाइ गर्ने वा नेपालको पढाईलाई निरन्तरता दिन आग्रह गर्छौ। हामीले सबै विद्यार्थीलाई विदेश अध्ययनका लागि मात्र परामर्श प्रदान नगरेर नेपालको शिक्षाका बारेमा पनि विस्तृत जानकारी दिने गरेका छौँ।
नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन हुँदै गर्दा न्यूजील्यान्ड तर्फ विद्यार्थीको आकर्षण बढेको देखिन्छ, यो नेपाली विद्यार्थीका लागि कस्तो शैक्षिक गन्तव्य हो?
अन्य देशको तुलनामा विद्यार्थीका लागि न्यूजील्यान्ड सहज मुलुक हो। विद्यार्थीहरूले न्यूजील्यान्डलाई शैक्षिक गन्तव्य बनाउँदै गर्दा सामान्यता एकेडेमिक रुपमा ५० देखी ६० प्रतिशत, आईईएलटीएसमा ६ र कर तिरेको बैँक खाताबाट वर्षमा २० लाख कारोबार भएको कागजपत्र आवश्यक पर्छ। मनासिब कारण देखिए ग्याप पनि एसेप्ट हुन्छ।
शैक्षिक गन्तव्यको हिसाबले न्यूजील्यान्डका विश्वविद्यालय/कलेज सरकारी अनुदानमा सञ्चालित हुने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा प्रतिवद्ध छन्। सरकारी क्याम्पस भएकाले पनि विद्यार्थीको पढाइ प्रभावित हुँदैन।
अन्य देशको तुुलनामा न्यूजील्यान्डको स्थाइ बासोबासको प्रक्रिया सहज छ। त्यहाँ गएपछि सबै विद्यार्थीले हप्तामा २० घण्टाको वर्कपर्मिट पाउँछन्। यदि विद्यार्थीको डिग्री कोर्स हो भने कोर्स सकिएपछि तीन वर्षसम्मको पोस्टस्टडी वर्कको सुविधा पाउँछन्। अन्य देशमा जानु अघि विश्वविद्यालय/कलेजको शूल्क तिरेर मात्र आवेदन दिन पाइन्छ। तर न्यूजील्याण्डमा भीसा आएपछि मात्र विश्वविद्यालय/कलेजको खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ। जसले गर्दा भिसा नआउनेको पैसा काटेर फिर्ता आउने झन्झट हुँदैन।
न्यूजील्यान्ड जाने विद्यार्थीको दुई वर्षसम्मको ग्याप छ भने सामान्य मानिन्छ तर त्यो भन्दा धेरै ग्याप छ भने विशेष कारण खुलाउनुपर्दछ। स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले आफ्नो डिपेन्डडेन्ट सजिलै लान पाउँछन् र डिपेन्डडेन्टले पूणर्कालिन समय काम गर्न पाउँछन्।
विद्यार्थीको न्यूजील्यान्डमा आकर्षण बढ्नुको कारण के होला?
न्यूजील्यान्ड बसोबासका हिसाबले नेपालको मौसमसँग मिल्लोजुल्दो नै छ। न्यूजिल्यान्डमा सिमित विद्यार्थीहरू मात्र अध्ययनका लागि जान पाएका छन्। पछिल्लो अन्तिम वर्षमा नेपालबाट पाँचसयको हारहारीमा मात्र विद्यार्थी न्यूजील्यान्डमा अध्ययनका लागि गएका थिए। जसले गर्दा पनि विद्यार्थीहरूले सजिलै काम पाउने, पढ्नलाई पनि सहज, योग्य व्यक्तिहरूको मात्र सहभागिता हुँदा आविसीय प्रवन्ध र स्थाइ बसोबासका लागि पनि सहज छ। विद्यावारिधी तह अध्ययन गर्ने विद्यार्थीले स्थानीय विद्यार्थीको शूल्क जतिमा पढ्न पाउँछन्।
नेपाली विद्यार्थीले विद्यावारिधी तह पूरा गर्न वार्षिक करिब ८ हजार डलर शूल्क तिरेर मात्र पढ्न पाउने भएकोले विद्यार्थीको आकर्षण बढेको हो। न्युजील्यान्डको वातावरण नेपालसँग मिल्ने र नेपाल न्यूजील्यान्डको पुरानो आत्मिय सम्बन्ध भएकाले पनि नेपालीलाई हेर्ने दृष्टिकोण पनि फरक छ। अत्यन्तै सुरक्षित मुलुक भएकाले पनि नेपाली विद्यार्थी ढुक्क भएर न्यूजील्यान्डमा अध्ययनका लागि जान सक्छन्।
कंगारुले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई कस्तो सेवा प्रवाह गर्दै आएको छ?
कंगारु एजुकेसन फाउन्डेसनले देशभरका आफ्ना शाखाहरूबाट विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। अन्यौँलमा परेर आएका विद्यार्थीलाई सत्यतथ्य जानकारीसहित परामर्श प्रदान गर्नुका साथै गुणस्तरीय सेवा प्रति प्रतिवद्ध छ। कंगारुले भिसा एप्लाई गरेदेखि भिसा नआउन्जेल र त्यसपश्चात् पनि विद्यार्थीलाई हरेक कदममा साथ दिने गरेको छ। कंगारुले भिसा एप्लाई गरेपछि अन्तर्वार्ता र भिसा आएपछि टिकट लगायत सम्पूणर् कदममा विद्यार्थीलाई १८ वर्षदेखि साथ दिदैँ आएको छ।