काठमाडौँ - नेपालका विद्यार्थीहरूका लागि उच्च शिक्षाका अवसर, चुनौती तथा भविष्यका सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यले इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (IERIN) ले राष्ट्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
थापाथलीस्थित आरम्भ बैंक्वेटमा बिहीबार आयोजित “नेपाल र विदेशमा उच्च शिक्षाका अवसर तथा चुनौती” विषयक कार्यक्रममा शिक्षाविद्, उच्च शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शैक्षिक परामर्शदाता, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षाको बदलिँदो परिदृश्य, विद्यार्थीको शैक्षिक निर्णय प्रक्रिया, अध्ययनका अवसर, चुनौती तथा भविष्यका आवश्यक सीपबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यार्थीहरूलाई सही सूचना, गुणस्तरीय परामर्श र दीर्घकालीन करियर लक्ष्यका आधारमा अध्ययनको मार्ग छनोट गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलमा युनिभर्सिटी अफ हर्टफोर्डसायरका अन्तर्राष्ट्रिय शिक्षा विज्ञ डा. भानु कौशिक, युनिभर्सिटी अफ एडिलेडका दक्षिण एसिया क्षेत्रका वरिष्ठ व्यवस्थापक अनुप श्रेष्ठ, पर्यटन तथा शिक्षा क्षेत्रका विज्ञ उज्ज्वल सत्याल तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सहप्राध्यापक एवं सहायक डिन डा. खगेन्द्र आचार्य वक्ताका रूपमा सहभागी थिए।
कार्यक्रमको सहजीकरण इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS) की वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरे ले गरेकी थिइन्।
छलफलका क्रममा गुणस्तरीय उच्च शिक्षाको अर्थ, नेपाल र विदेशमा अध्ययनका अवसर, विद्यार्थीका आकांक्षा, अध्ययनको खर्च, रोजगारीका सम्भावना, उद्योग–शैक्षिक संस्थाबीचको सहकार्य तथा विश्वव्यापी श्रम बजारका लागि आवश्यक सीप विकासका विषयमा विशेष बहस भएको थियो।
वक्ताहरूले उच्च शिक्षा सम्बन्धी निर्णय केवल गन्तव्य मुलुकको आकर्षणका आधारमा नभई विद्यार्थीको रुचि, क्षमता, आर्थिक अवस्था र दीर्घकालीन करियर लक्ष्यलाई केन्द्रमा राखेर गरिनुपर्नेमा जोड दिएका थिए। साथै, नैतिक शैक्षिक परामर्श, वित्तीय तयारी, सीप विकास तथा शैक्षिक संस्थाहरू, उद्योग र नीति निर्माताबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
आयोजक संस्था IERIN का अनुसार कार्यक्रमले विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूलाई स्वदेश तथा विदेशमा उपलब्ध उच्च शिक्षा अवसरबारे यथार्थ जानकारी प्रदान गर्नुका साथै नेपालको उच्च शिक्षा प्रणालीलाई नवप्रवर्तन, गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत थप सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा युनिभर्सिटी अफ हर्टफोर्डसायर र योर्क सेन्ट जोन युनिभर्सिटी एसोसिएट पार्टनरका रूपमा रहेका थिए भने सफ्टवारिका कलेज, कलेज अफ आईटी एन्ड ई–कमर्स, नेसनल एजुकेशन कन्सल्टेन्सी (NEC), LBEF क्याम्पस, EduBridge, Study Square, Route2Uni, युनिभर्सिटी अफ वर्सेस्टर तथा युनिभर्सिटी अफ ईस्ट लन्डन ले शिक्षा साझेदारका रूपमा सहयोग गरेका थिए।
त्यसैगरी, ब्रिटिस काउन्सिल IELTS साझेदार, आरम्भ बैंक्वेट एन्ड इभेन्ट्स आतिथ्य साझेदार तथा नबिल बैंक बैंकिङ साझेदारका रूपमा कार्यक्रममा आबद्ध रहेका थिए।
IERIN ले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण वक्ता, सहभागी, साझेदार संस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, नैतिक अभ्यास र रचनात्मक संवादलाई प्रवर्द्धन गर्दै जाने प्रतिबद्धता जनाएको छ।