काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चित्त नबुझाएर पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीमध्ये ५ प्रतिशतभन्दा बढीको नतिजा परिवर्तन भएको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार शिक्षक तथा प्रशासनिक तहमा भएको त्रुटिका कारण सयौं विद्यार्थीको वास्तविक नतिजा प्रभावित भएको देखिएको हो।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार पुनर्योगका लागि आवेदन दिएका ३३ हजार ८ सय ५१ विद्यार्थीमध्ये हालसम्म २७ हजार ६ सय ५४ जनाको नतिजा परीक्षण गर्दा १ हजार ५ सय ५९ जनाको नतिजा परिवर्तन भएको छ। यो कुल परीक्षण गरिएका विद्यार्थीको ५.६३ प्रतिशत हो।
पुनर्योगपछि कतिपय विद्यार्थीको नतिजामा उल्लेखनीय सुधार भएको छ। विज्ञान र सामाजिक विषयमा क्रमशः ३.६ र २.४ जीपीए प्राप्त गरेका एक विद्यार्थीले पुनर्योगपछि दुवै विषयमा ४.० जीपीए प्राप्त गरेका छन्। यस्तै अंग्रेजी विषयमा २.४ जीपीए प्राप्त गरेका अर्को विद्यार्थीको नतिजा सुधार भई ४.० जीपीए कायम भएको छ भने ‘एनजी’ आएका एक विद्यार्थीले पुनर्योगपछि २ जीपीए प्राप्त गरेका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार उत्तरपुस्तिकामा प्राप्ताङ्क जोड्दा, कभरमा सार्दा तथा कम्प्युटरमा प्रविष्टि गर्दा भएका त्रुटिका कारण नतिजा फरक परेको हो। कतिपय अवस्थामा ७० अंक ल्याएको विद्यार्थीको अंक ७ मात्र प्रविष्टि भएको, प्राप्ताङ्क जोड्न छुटेको वा शून्य अंक प्रविष्टि गरिएकाले नतिजा प्रभावित भएको पाइयो, उनले बताए।
यस वर्ष विद्यालयमै उत्तरपुस्तिका परीक्षण गरिएकाले त्रुटिको सम्भावना बढेको र पुनर्योगका लागि आवेदन दिने विद्यार्थीको संख्या पनि वृद्धि भएको बोर्डले जनाएको छ। गत वर्ष २७ हजार ३ सय १७ जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष यो संख्या झण्डै ३४ हजार पुगेको छ।
बोर्डका अनुसार अझै ६ हजार ५ सय ३४ विद्यार्थीको पुनर्योग नतिजा आउन बाँकी छ। एनजी प्राप्त विद्यार्थीका लागि असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएकाले सोअघि सबै पुनर्योग नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
पुनर्योग प्रक्रियामा अर्को चुनौती उत्तरपुस्तिका खोजी पनि बनेको छ। बोर्डका कर्मचारीका अनुसार एक हजारभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका तत्काल फेला नपर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको छ। परीक्षा केन्द्र परिवर्तन भएका वा उत्तरपुस्तिका अन्य केन्द्रको पोकामा परेका कारण खोजी कार्य जटिल बनेको जनाइएको छ।
बोर्डले चरणबद्ध रूपमा सार्वजनिक गरेको पुनर्योग नतिजामा प्रत्येक चरणमा सयौं विद्यार्थीको नतिजा परिवर्तन भएको देखिएको छ। यसले उत्तरपुस्तिका परीक्षण, अंक गणना र डाटा प्रविष्टिमा अझ प्रभावकारी निगरानी आवश्यक रहेको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन्।यस वर्षको एसईई नतिजाअनुसार नियमिततर्फ सहभागी ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ४६ हजार ५ सय ७ विद्यार्थी अनुत्तीर्ण भएका थिए। उत्तीर्ण प्रतिशत ६१.८१ रहेको थियो।