काठमाडौँ- नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा मदरसा शिक्षाको गुणस्तर सुधार र शिक्षक तालिमका लागि पर्याप्त व्यवस्था नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिद्धिकीले विद्यालय शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा, शिक्षक क्षमता विकास तथा शैक्षिक पूर्वाधार सुधारका कार्यक्रम समेटिनु सकारात्मक भए पनि मदरसा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना नदेखिएको बताइन्।
उनले मदरसामा अध्ययनरत विद्यार्थीहरू पनि राष्ट्रको शैक्षिक प्रणालीका अभिन्न हिस्सा भएकाले उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्। देशको शैक्षिक योजनामा कुनै पनि समुदायका बालबालिका पछाडि पर्नु हुँदैन, उनले भनिन्।
सांसद सिद्धिकीले मदरसामा अध्यापन गराउने मौलानाहरूका लागि नेपालका पाठ्यक्रम र समसामयिक शैक्षिक आवश्यकताअनुसार तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। साथै, प्रविधिमैत्री शिक्षाको विकास र शिक्षकको क्षमता अभिवृद्धिका कार्यक्रम बजेटमा समावेश हुनुपर्ने उनको भनाइ थियो।
मदरसा शिक्षाको पक्षमा बोल्दै उनले मदरसाबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू उर्दु र अरबी भाषासहित राज्यले निर्धारण गरेको पाठ्यक्रममा पनि दक्ष हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुने बताइन्।
उनले मदरसा शिक्षालाई केवल धार्मिक शिक्षाको रूपमा मात्र नहेरी गुणस्तरीय शिक्षा, समान अवसर र समावेशी विकासको दृष्टिकोणबाट हेर्न आग्रह गरिन्। बजेटमा मदरसा शिक्षा र मूलधारको शिक्षाबीच समन्वय गर्ने स्पष्ट नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले अर्थमन्त्रीलाई यस विषयमा थप ध्यान दिन आग्रह गरिन्।
सांसद सिद्धिकीले समता र समानताको राज्यको प्रतिबद्धतालाई व्यवहारमा उतार्न बजेटले सबै समुदायका विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरिन्।