काठमाडौँ- हात्तिगौडाका विक्रान्त कार्की एसईईको नतिजा आएसँगै ए लेभल पढने सोच रहेको बताउँछन। चितवनकी रविना केसी पनि ए लेभल अध्ययनका लागि कलेजहरुमा पुगी जानकारी लिन थालेको बताउछिन्। पछिल्लो समय ए लेभेल अध्ययनका लागि विद्यार्थीहरुमा आर्कषण देखिएको छ। काठमाडौँका विक्रान्त र चितवनकी रविना त प्रतिनिधिपात्र मात्र हुन् उनीहरु जस्ता धेरै विद्यार्थी ए लेभल अध्ययन गर्ने सोचाईमा छन्। एसईईपछि अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनेका लागि उत्कृष्ट विकल्पका रुपमा ए लेभल रहेको छ।
ए लेभल विश्वस्तरका पाठ्यक्रम, पठन प्रणाली र प्रमाण पत्र हो । ए लेभल अध्ययनका एसईईमा राम्रो ग्रेड नै ल्याउनुपर्छ भन्ने जरुरी छैन ।एसईईमा प्राप्त हुने ग्रेडले ए लेभल भर्नाको लागि खास फरक पार्दैन । ए लेभल पढ्नका लागि एउटै सर्त हो, विद्यार्थीको रुचि। ए लेभलमा विद्यार्थीले घोक्ने भन्दा पनि पाठ बुझ्ने, मनन गर्ने, विश्लेषण गर्ने अभ्यास जरुरी हुन्छ।
रचनात्मक क्षमता भएका विद्यार्थी ए लेभलका लागि योग्य हुन्छन् ।‘इन्डिपेन्डेन्ट लर्नर’ जो छन्, उनीहरुले ए लेभल पढ्न उपयुक्त हुन्छ। यसमा विद्यार्थीले स्वअध्ययन गर्न सक्छन्। विभिन्न स्रोतबाट आफूलाई आवश्यक कुरा खोजीखोजी पढ्न सक्छन्। पढ्नका लागि शिक्षक नै चाहिन्छ भन्ने छैन। अहिले त प्रविधिको व्यापकता छ। यस्तो स्थितिमा विद्यार्थीले पढ्नका लागि अनेक सामग्री फेला पार्न सक्ने भएकाले पनि ए लेभल विद्यार्थीहरुका लागि सहज बनेको बताउँछन् जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक गोपाल भण्डारी।ए लेभलमा विद्यार्थीहरुले ६० भन्दा बढि विषयमध्येबाट आफूले चाहेको विषय छनोट गर्न सक्छन्। मुलुक अनुकूल भिन्नाभिन्नै विषय पठनपाठन गर्ने सुविधा ए लेभलमा छ। नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय रहेको छ। मिहिनेती र सिर्जनशील विद्यार्थीले ए लेभलमा राम्रो नतिजा ल्याउन सक्ने भण्डारी बताँउछन्।
ए लेभल नै किन ?
विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल। यो शैक्षिक कार्यक्रम विश्वका एक सय २५ देशमा सञ्चालनमा छ। क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम,शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यसलाई समयअनुकुल र वैज्ञानिक मानिन्छ। ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ।
ए लेभलका कोर्स व्यावहारिक एवं प्रयोगात्मक छ। विश्वभर एकै प्रणालीबाट यसको पठनपाठन हुन्छ। मुलुक अनुकूल भिन्नाभिन्नै विषय पठनपाठन गर्ने सुविधा ए लेभलमा छ। नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन्। त्यसबाहेक विज्ञान, गणित,मानविकी, व्यवस्थापनका छुट्टाछुट्टै विषय पढ्न सकिन्छ। नेपालको पाठ्यक्रममा जस्तो अनिवार्य विषय पढ्नुपर्ने झमेला हुँदैन ।
विद्यार्थीले कुनै विषयमा पोख्त भएपछि आफ्नो ईच्छा अनुसार परीक्षा दिन सक्छन्। एउटा संकायको विद्यार्थीलेअर्को संकाय पढ्न छुट हुन्छ। कुनै विषयमा कम ग्रेड हासिल भएमा पुनः विद्यार्थीले सोही विषयको मात्र परीक्षा दिन सक्छन्। यसको कोर्स हरेक वर्ष अध्यावधिक समेत गरिन्छ।वर्षमा दुई पटक ए लेभलको परीक्षा विश्वभर एकसाथ सञ्चालन हुन्छ। जस अन्र्तगत मे–जुनमा र अक्टोबर–नोभेम्बरमा अर्को परीक्षा हुने गर्छ।
परीक्षाको नतिजा पहिलोको अगस्टमा र दोस्रोको जनवरीमा सार्वजनिक हुन्छ। ए लेभलमा ग्रेडप्रति सन्तुष्ट नभएसम्म परीक्षा दिन पाइन्छ। यसमा फेल भएको सर्टिफिकेट आउँदैन। ए लेभलमा फेल नभई अनग्रेडेड भन्ने हुन्छ। तुलनात्मक रुपमा यहाँ त्यति धेरै फेल हुँदैनन्। समग्रमा १० देखि १५ प्रतिशत मात्रै फेल हुन्छन्। ए लेभल पूरा गर्न चार विषयमा उत्तीर्ण गर्नुपर्छ। यद्यपि विद्यार्थीले चाहेको अवस्थामा अरु विषयमा पनि परीक्षा दिन पाउँछन्। ए लेभलको पढाइ जति प्रयोगात्मक र व्यावहारिक छ, उत्ति नै यसको परीक्षा प्रणाली पनि पारदर्शी र सन्तुलित छ।
विश्वभर मान्यता प्राप्त
ए लेभलको प्रमाणपत्रलाई संसारभरका विश्वविद्यालयले विश्वास गर्ने भएकाले अन्तर्राष्टिय शिक्षा लिन चाहने विद्यार्थीका लागि यो एक उपयुक्त रोजाइ हुनसक्छ। प्रत्येक विषय अनि प्रत्येक सेसनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई क्याम्ब्रिजले सम्मान एवं प्रमाणपत्र दिने समेत गर्छ। यसमा राम्रो ग्रेड ल्याउने विद्यार्थीले विश्वका कतिपय विश्वविद्यालयबाट छात्रवृत्तिको अवसर समेत पाउन सक्छन्। ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्वर्ड जस्ता विश्वविख्यात विश्वविद्यालयमा छात्रवृत्ति सहित पढ्ने अवसर समेत मिल्न सक्छ ।ए लेभल अध्ययनपछि विद्यार्थी कुन क्षेत्रमा अध्ययन गर्ने हो, सोही अनुरुप बाटो समात्न सक्छन् । जस्तो चिकित्सा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ।
धेरैको सोचाई ए लेभल अध्ययनपछि विदेश नै जानूपर्छ भन्ने रहेको छ। तर ए लेभलमा राम्रै नतिजा हासिल गरेर स्वदेशमै पढ्नेहरु पनि छन्। अब स्तरीय पढाइका लागि विदेश जानैपर्छ भन्ने धारणा पनि घट्दै गएको छ । अमेरिकामा आईटी पढ्नु र नेपालमा आईटी पढ्नुमा अब फरक छैन। उही समयमा उही विश्वविद्यालयमा विश्वको जुनसुकै कुनाबाट पनि अध्ययन गर्न सकिने अवस्था रहेको छ।
नेपालमा ए लेभल
नेपालमा ए लेभलको अध्ययन हुन थालेको तीन दशकभन्दा बढी समय भएको छ। नेपालमा बुढानीलकण्ठ स्कुलबाट ए लेभलको पठनपाठन सुरु भएको हो ।नेपालमा ब्रिटिश काउन्सिलले ए लेभलको परीक्षा सञ्चालन र अनुगमन गर्ने गरेको छ।
ए लेभललाई कक्षा ११ र १२ को समकक्षता प्रदान गरिएको छ। यो दुईवर्षे कोर्स हो। अहिले नेपालमा ३० भन्दा बढी कलेजमा ए लेभलको पढाइ हुदै आएको छ।
(विद्यार्थी र कलेज व्यवस्थापकहरु सँगको कुराकानीमा आधारित )