काठमाडौँ - शैक्षिक जनशक्ति विकास परिषद्ले शिक्षा क्षेत्रको गुणात्मक सुधार तथा प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित तीन नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बुधबार बसेको परिषद्को २९औँ बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम,२०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।
शिक्षा नियमावली, २०५९ को नियम ७२ अनुसार स्थापना भएको परिषद्ले शिक्षक, शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न जनशक्तिको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका अनुसार नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम लागू भएपछि प्रशिक्षकहरूको दक्षता अभिवृद्धि हुने र शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन हुने तालिमहरू अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
यस्तै, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालयमा प्रभावकारी शैक्षिक नेतृत्व विकास गर्दै पठनपाठन, व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
त्यसैगरी, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारी तथा प्राविधिक सहायकहरूका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीय शासन प्रणालीअनुरूप तीनै तहका शिक्षा प्रशासनसँग सम्बन्धित कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार यसबाट जनमुखी सेवा प्रवाह प्रभावकारी बन्नुका साथै शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।