काठमाडौँ – एसईईको नतिजा सार्वजनिक भएसँगै देशभरबाट गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि धेरै संख्यामा विद्यार्थीहरु अध्ययनका लागि काठमाडौँ उपत्यका भित्र आउने गर्छन्। यसरी विद्यार्थीहरु उज्वल भविष्यका लागि काठमाडौँ आउदै गर्दा विद्यालय छनोटमा द्वविधा पनि हुने गरेको छ।
विद्यार्थी र अभिभावकमा हुने यस्तै द्वविधाको समाधानका लागि हामीले केही उत्कृष्ट विद्यालयका जानकारी प्रस्तुत गर्दैछाैँ। उत्कृष्ट विद्यालय छनोट गर्दा हामीले राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा प्राप्त गरेकोे नतिजा, विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्या, अध्यापन हुने विषय, भौतिक शैक्षिक पूर्वाधार, अध्ययन पश्चात विद्यार्थीले प्राप्त गरेका उपलब्धी, शिक्षण सिकाइ उपलब्धी, शिक्षक विद्यार्थी अनुपात, अन्तरविद्यालय प्रतियोगितामा प्राप्त गरेका पुरस्कार, विद्यालयले सञ्चालन गर्ने तालिम र प्रतियोगिताको आधारमा काठमाडौँ उपत्यका भित्रका २५ उत्कृट शिक्षणसंस्था छनोट गरेका हौँ।
विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुग्ने उद्देश्यको साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि फेयरएक्सप्रेस मिडियाले कक्षा ११ र १२ को अध्यापन हुने २५ उत्कृष्ट शिक्षणसंस्थाको सूची वर्णानुक्रम अनुसार तयार गरेका छौँ।
ओमेगा माध्यामिक विद्यालय, कुमारीपाटी, ललितपुर

ललितपुर महानगरपालिका कुमारीपाटीमा रहेको ओमेगा माध्यामिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन तर्फका विषयहरु अध्यापन गरिन्छ। १२ रोपनी क्षेत्रफलमा ९ वटा भवनमा रहेको यस विद्यालयमा सुविधा सम्पन्न विद्यार्थीमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला रहेको छ। यस विद्यालयले राष्ट्रिय परीक्षा वोर्डले लिने परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ।
बोर्डले सञ्चालन गरेको २०८१ सालको कक्षा १२ को परीक्षामा ९९.२२ प्रतिशत, २०८० सालको परीक्षामा ९९.४४ प्रतिशत र २०७९ सालको नतिजामा ९९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। उत्कृष्ट नतिजा र प्रयोगात्मक शिक्षाका कारण ओमेगा विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। यस विद्यालयमा १२४ जना शिक्षक तथा ५६ जना कर्मचारी कार्यरत छन्। ओमेगामा ४ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्।
विद्यालयमा कक्षा ११ र १२ मा गरी २०८२ सालमा १ हजार ६ सय २८ जना, २०८१ सालमा १ हजार ५ सय ६२ जना र २०८० सालमा १ हजार ५ सय ४२ जना विद्यार्थीले अध्ययन गरेका थिए। विद्यालयले विद्यार्थीलाई सहजीकरणको लागि प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह, पुस्तकालय, यातायात र आवासको प्रवन्ध समेत गरेको छ।
यस विद्यालयले शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। साथै विभिन्न विद्यालयका गणित र विज्ञान विषय शिक्षकलाई तालिम समेत प्रदान गर्दै आएको छ। विद्यार्थीहरुलाई खेलकुद सहित विभिन्न अतिरिक्त प्रतियोगिताहरुमा पनि सहभागी गराउँदै आएको छ। ओमेगाका विद्यार्थीहरुले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अन्तर विद्यालय फुटसल, बास्केटबल, नृत्य र टेबल टेनिस लगायतका प्रतियोगिताहरुमा विभिन्न पदक जित्न सफल भएका छन्। ओमेगा विद्यालयको विद्यार्थी योङ्गी पौडेल दक्षिण एसिया युथ च्यापेनशिपमा टेबल टेनिस खेलमा नेपालबाट छनोट समेत भएकी थिइन्।
यस विद्यालयका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आंशिक छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। विद्यालयले विषयगत भ्रमण गराउने गरेको छ। जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको यस विद्यालयले जिवनोपयोगी शिक्षासँगै विद्यार्थीहरुको नतिजामा समेत ध्यानदिँदै आएको छ।
शिक्षक र कर्मचारीहरुको प्रत्यक्ष निगरानिमा विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएको यस विद्यालयले कमजोर विद्यार्थीहरुकालागि समेत विशेष तरिकाले अध्यापन गराउँदै आएको विद्यालयका प्राचार्य रमेश अधिकारी बताउँछन्।
एलआरआई स्कुल कंलकी, काठमाडौँ

काठमाडौँको कलंकीमा अवस्थित लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुल वि.स.२०४४ सालमा स्थापना भएको हो। यस विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुनतर्फका विषयहरु अध्यापन हँुदै आएको छ।
एलआरआईले प्रयोगात्मक र व्यवहारिक शिक्षामा विगत देखिनै जोड दिदैँ आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को विगत ३ वर्षको परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। एलआरआईमा २०८२ मा कक्षा ११ र १२ मा ४७७ जना विद्यार्थीले अध्ययन गरेका थिए। त्यसैगरि २०८१ मा ४२१ र २०८० मा ३६७ जना विद्यार्थीले अध्ययन गरेका थिए।
हाल एलआरआईमा २ जना विदेशी विद्यार्थीहरु समेत अध्ययनरत छन्। एलआरआईले कक्षा ११ मा निश्चित कोटामा मात्र भर्ना लिने गरेको छ। एलआरआईमा कक्षा ११ र १२ तर्फ हाल ५० जना भन्दा बढि संख्यामा शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन्। कूल २४ रोपनि क्षेत्रफलमा फैलिएको एलआरआईको ८ वटा सुविधासम्पन्न आप्mनै भवन रहेका छन्। उत्कृष्ट विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय, प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध गरिएको छ।
एलआरआईले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको छ। प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता मार्फत क्रिकेट टुर्नामेन्टका १० भन्दा बढी प्रतियोगितामा पुरस्कार प्राप्त गरेको छ। एलआरआईका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विज्ञान, व्यवस्थापन, मेडिकल, ईन्जिनियरिङ लगायतका क्षेत्रमा पूर्ण तथा आंशिक छात्रवृत्तिसहित स्वदेशि तथा विदेशी विश्वविद्यालयमा अध्ययन गर्दै आएका छन्।
विद्यार्थीलाई प्रयोगात्मक शिक्षणबिधि मार्फत पठनपाठन गराउँदै, गुणस्तरीय शिक्षा प्रदान गर्नु, विद्यार्थी मैत्री शैक्षिक वातावरणमा अध्यापन गराउनु, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तित्व विकासको अवसर प्रदान गर्नु एलआरआईको विशेषता हो।
एलआरआईले विद्यार्थीहरुलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। खेलकुद, चित्रकला, मुट कोर्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्यालेन्ट हन्ट, सहित विद्यार्थीहरुलाई व्यवहारिक सँगै बारिस्टा, कुकिङ, बेकरी, प्लम्बिङ लगायतका सीपमुलक तथा व्यवसायिक तालिम समेत प्रदान गर्दै आईरहेको छ। विद्यार्थीहरुका लागि संसदीय अभ्यास समेत गराउँदै आएको एलआरआईले पछिल्लो समय चीनियाँ भाषाको प्रशिक्षण प्रदान गरि छात्रवृत्तिमा अध्ययनका लागि चीन जाने अवसर समेत प्रदान गर्दै आएको छ।
विश्वका विभिन्न विश्वविद्यालयहरुसँग सम्झौता गरि एलआरआईले विद्यार्थीहरुलाई सहजीकरण पनि गर्ने गरेको छ। एलआरआईले विद्यार्थीहरुलाई शैक्षिक मार्गदर्शन, उत्प्रेरणासँगै भौतिक सुविधाको राम्रो र प्रभावकारी प्रबन्ध गर्दै आएको छ।
क्यापिटल मावि (सिसिआरसी), कोटेश्वर, काठमाडौँ
.jpeg)
काठमाडौँको कोटेश्वर नरेफाँटमा रहेको क्यापिटल माध्यमिक विद्यालय अर्थात (सिसिआरसी)मा विज्ञान, व्यस्थापन र कानुन संकाय तर्फका विषयहरु अध्यापन हुँदै आएको छ। २६ वर्षअघि कक्षा ११ र १२ को अध्ययन अध्यापनको लक्ष्यसहित स्थापित सीसीआरसी कलेजले निरन्तर प्रगतिको यात्रा तय गर्दै हजारौं प्रतिभाशाली विद्यार्थी उत्पादन गरिसकेको छ।
युरोप, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा पुगेका विद्यार्थीहरूले विश्वभर नेपालको नाम प्रख्यात बनाइरहेका छन्। डाक्टर, इन्जिनियर, वैज्ञानिक र नेतृत्वकर्ताका रूपमा देश निर्माणमा लागेका विद्यार्थीहरू सीसीआरसीका मात्र नभएर राष्ट्रकै गौरवका रुपमा रहेका छन्। विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले एमविविएस, बिई आदिको प्रवेश परिक्षामा छात्रवृत्ति समेतमा नाम निकाल्न सफल भएका छन्। यति मात्र होइन विश्वका प्रतिष्ठित विश्वविद्यालयमा समेत यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
सीसीआरसी राजधानीका प्रतिष्ठित कलेजमध्ये अग्रस्थानमा रहँदै आएको छ। आफनो स्थापनाको २५ वर्ष अर्थात् रजतजयन्ती मनाइसकेको सीसीआरसीले निरन्तररुपमा विद्यार्थी र अभिभावकको विश्वास र माया प्राप्त गरिरहेको छ। विद्यार्थीहरूको एन.ई.बी. परीक्षामा उच्च प्राप्ताङ्क, मेडिकल, इन्जिनियरिङ लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका छात्रवृत्ति परीक्षामा प्राप्त उच्च सफलता यसको शैक्षिक स्तरीयताको समेत प्रमाण हो।
अनुभवी शिक्षक, सन्तुष्ट अभिभावक, समर्पित व्यवस्थापन, सुसज्जित भौतिक पूर्वाधार र सेवामूलक गतिविधिहरूले सीसीआरसीलाई विद्यालय मात्र नभइ सपनाहरूको थलो बनाएको छ। करिब ६ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा अत्याधुनिक कक्षा कोठा रहेको यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवासिय व्यवस्थासँगै चमेना गृह र यातायातको समेत सहज प्रबन्ध रहेको छ।
सिसिआरसीले विद्यार्थीहरुका लागि विज्ञान, व्यवस्थापन र कानुन सम्वन्धि विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ। विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि परामर्श र विभिन्न विश्व प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनका लागि समेत परामर्श प्रदान गर्ने गरेको छ।
विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको सिसिआरसीले अन्तरविद्यालय विज्ञान प्रर्दशनी, हाजिरी जवाफ, कविता, बक्तृत्वकला, बास्केटबल प्रतियोगिता सहित फुटबल, चेस, फुटसल लगाएतका थुप्रै प्रतियोगिताहरु सञ्चालन गर्दै विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ। यस्ता प्रतियोगिताहरुमा यस विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा सिसिआरसीले २०८१ सालमा ९९.५ प्रतिशत, २०८० सालमा ९९.७ प्रतिशत, २०७९ मा ९९.२ प्रतिशत नतिजा ल्याउन सफल भएको छ।
कक्षा ११ र १२ मा २०८२ सालमा २ हजार ५ सय ५ जना, २०८१ सालमा २ हजार ५ सय १७ जना र २०८० मा २ हजार ३ सय ८५ जना विद्यार्थीले यस विद्यालयमा अध्ययन गरेका थिए। हाल कक्षा ११ मा २ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्। विद्यालयमा हाल १ सय ४४ जना शिक्षक कर्मचारी कार्यरत छन्।
गुणस्तरीय शिक्षा, दक्ष तथा अनुभवि विषयगत शिक्षक, अतिरिक्त क्रियाकलापमा जोड, पूर्व तयारी कक्षा सञ्चालन, व्यवस्थित र आधुनिक भौतिक शैक्षिक पूर्वाधारको व्यवस्थाले पनि विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्ने उपप्रधानाध्यापक दीपक राज उपाध्याय बताउँछन्।
काठमाडौँ मोडल माध्यमिक विद्यालय (केएमसी), बागबजार, काठमाडौँ
काठमाडौँको मुटु बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यायालयमा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन तर्फका विषय अध्यापन हुदै आएको छ। करिब २० रोपनी क्षेत्रफलमा ५ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा केएमसीले उत्कृष्ट नतिजा हासिल गर्दे आएको छ। बोर्डले लिएको परीक्षाको विगत ३ वर्षको नतिजामा ९९ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्। यस विद्यालयमा २ सय ५० भन्दा बढि शिक्षक कर्मचारी कार्यरत रहेका छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा ४४४४ जना, २०८१ सालमा ४ हजार ४ सय ८४ जना, २०८० सालमा ३ हजार ९ सय ६२ जना विद्यार्थीले अध्ययन गरेका थिए। यहाँ २ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्।
यस विद्यालयले अनुसन्धान तथा प्रस्तुती, मुट कोर्ट, रोवोर्टिक्स वर्कसप, मिनी म्याराथोन, लिडरसिप ट्रेनिङ, केएमसी ट्यालेन्ट हन्ट, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम, प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
केएमसीले हिसान हाजिरी जवाफ प्रतियोगिता, युटीसी हाजिरी जवाफ प्रतियोगिता जस्ता प्रतियोगिता, युटीसी हाकाथोन, युवा वैज्ञानिक सम्मेलन, नेपाल आर्थिक प्रतियोगिता जस्ता ५० भन्दा बढि प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ।
केएमसीका विद्यार्थीहरु २०८२ सालमा मात्र चिकित्सा शास्त्रमा ५४ जनाले पूर्ण छात्रवृत्ति, इन्जिनियरिङ अध्ययन तर्फ ६७ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। त्यस्तै हरेक वर्ष २०० जनाभन्दा बढीले एमबीबीएस र ३०० भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनमा प्रवेश पाउन सफल हुँदै आएका छन्। गत वर्ष २२ जना विद्यार्थी सिए फाउन्डेसन उत्तीर्ण र १२ जना विद्यार्थीले नेपाल ल क्याम्पसमा अध्ययनका लागि प्रवेश परीक्षा पास हुन सफल भएका छन्।
आफ्ना विद्यार्थीहरूको अनुशासनलाई केन्द्रमा राखेर व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन गर्नुनै यस विद्यालयको विशेषता रहदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा प्रत्येक वर्ष शतप्रतिशत नतिजा, कक्षा १२ पछि हुने विभिन्न प्रवेश परीक्षाका लागि कक्षा ११ देखिनै तयारी कक्षा सञ्चालन, अत्याधुनिक भौतिक संरचना, सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालयका साथै दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले केएमसीनै रोज्ने प्राचार्य डा.नगेन्द्र बहादुर अर्याल बताउँछन्।
काठमाडौँ मोडेल सेकेण्डरी स्कूल, ललितपुर

ललितपुरको बालकुमारीस्थित काठमाडौँ मोडेल सेकेण्डरी स्कूल (केएमसी) ललितपुरले शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा र आधुनिक पूर्वाधारका कारण आफूलाई अग्रणी शिक्षण संस्थाका रूपमा स्थापित गराएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन विषयको अध्यापन हुँदै आएको छ।
विद्यालयमा हाल ४२ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत रहेका छन्। ३५६१ वर्ग मिटर क्षेत्रफलमा फैलिएको विद्यालयमा चार तले ३ वटा र दुई तले २ वटा आधुनिक तथा भूकम्प प्रतिरोधात्मक भवन रहेका छन्। कुल ५१ वटा कक्षाकोठा सहित प्रत्येक कक्षामा करिब ४० विद्यार्थीलाई सहज रूपमा अध्ययन गराउन सकिने व्यवस्था विद्यालयमा रहेको छ। विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि नेतृत्व विकास तालिम, वादविवाद, वक्तृत्वकला, खेलकुद, विज्ञान प्रदर्शनी, सामाजिक सेवा कार्यक्रम, ट्यालेन्ट हन्ट, स्पेलिङ बी, म्याथ ओलम्पियाड, मोडेल पार्लियामेन्ट, मुट कोर्ट लगायत विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। शैक्षिक उपलब्धिको हिसाबले पनि विद्यालयले उत्कृष्ट नतिजा कायम गर्दै आएको छ। विगत तीन वर्षमा ९७ प्रतिशतसम्म नतिजा प्राप्त भएको विद्यालयले जनाएको छ। नियमिततर्फ कक्षा १२ को नतिजामा २०७९ मा ९७.२०%, २०८० मा ९७.०५% र २०८१ मा ९७.६५% विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा विद्यार्थीको संख्यामा पनि हरेक वर्ष वृद्धि हुँदै गएको छ।
कक्षा ११ मा २०८० मा ४५५, २०८१ मा ४६९ र २०८२ मा ४७६ विद्यार्थी अध्ययनरत छन्। कक्षा १२ सहित विद्यालयमा कुल विद्यार्थी संख्या ९४५ रहेको छ।विभिन्न प्रतियोगितासँगै अन्तरविद्यालय प्रतियोगितामा समेत विद्यालयले विभिन्न उपलब्धि हासिल गरेको छ। २०८१ मा महालक्ष्मी नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने प्रथम विद्यालय पुरस्कार तथा २०७४/७५ मा प्रधानमन्त्रीबाट उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गरेको छ।
विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, कानुन, चार्टर्ड अकाउन्टेन्सी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्राचार्य मुकुन्द कुमार गिरीले अनुभवी शिक्षक, अनुशासित वातावरण, आधुनिक शिक्षण पद्धति, पर्याप्त भौतिक पूर्वाधार र सृजनात्मक क्रियाकलापका कारण अभिभावक र विद्यार्थीको पहिलो रोजाइको विद्यालय बन्न सफल भएको बताए।
उनले विद्यालयले तयारी कक्षा समेत सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्रदान गर्ने समावेशी वातावरण, प्रविधिमैत्री शिक्षण पद्धति र व्यावहारिक सीपमा केन्द्रित कार्यक्रमहरूले विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयको दाबी छ।
काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय, बल्खु, काठमाडौँ
.jpeg)
काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय काठमाडौँको बल्खुमा अवस्थित रहेको छ। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ मा १६ सय २२ जना २०८१ सालमा १६ सय १३ र २०८० मा १६ सय १६ जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बर्नहार्टले २०८१ सालमा ९९ प्रतिशत, २०८०सालमा ९८ प्रतिशत र २०७९ सालमा ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका थिए। विद्यालयमा कक्षा ११ र १२ मा गरि १ सय ४० जना शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन्। कुल ७ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालय भित्र ६ तले सुविधासम्पन्न आफ्नै भवनहरुमा अत्याधुनिक कक्षा कोठाहरु रहेका छन्।
बर्नहार्टमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायात लगायत आवश्यक सम्पूर्ण सुविधा उपलब्ध रहेको छ। यस विद्यालयका विद्यार्थीहरुले मेडिकल, ईन्जिनियरिङ, सीएलगायत विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृतिमा नाम निकाल्न सफल हँुदै आएका छन्।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न बर्नहार्ट स्कुलले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा हासिल गर्दे आएको छ। यस विद्यालयले मोटिभेस्नल स्पिकिङ, शिक्षक तालिम, जनरल स्टडिज, योग शिक्षा लगायतका तालिम पनि शिक्षक र विद्यार्थीहरुका लागि सञ्चालन गर्दै आएको छ। समयको माग अनुसारको शिक्षा प्रदान गर्नुनै बर्नहार्टको विशेषता रहेको छ। प्रयोगात्मक र व्यहारिक शिक्षामा विद्यालयले जोड दिदै आएको छ। विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउदै विद्यार्थीको हेरचाहलाई विद्यालयले प्राथामिकता दिँदै आएको छ।
विद्यार्थी मैत्री वातावरण, सुविधा सम्पन्न भवन, उत्कृष्ट नतिजा र विश्वव्यापी शिक्षाको लागि विद्यार्थी तथा अभिभावकले बर्नहार्टलाई रोज्ने गरेको विद्यालयका प्राचार्य पुरुषोतम बिष्ट बताउँछन्।
काठमाडौँ वर्ल्ड स्कुल, गुण्डु, भक्तपुर
.jpeg)
भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुल विशिष्ट श्रेणीको विद्यालय हो। यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। साथै ए लेभलको अध्यापन पनि यस विद्यालयमा गरिदै आएको छ।
पूर्णकालिन शिक्षकहरूद्वारा अध्यापन हुने यस विद्यालयमा विश्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यस विद्यालयमा कक्षा ११ मा २०८१ सालमा २०० जना, २०८० सालमा २१५ जना र २०७९ सालमा २०० जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९० प्रतिशत, २०७९ सालमा ८८ प्रतिशत र २०७८ सालमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २०० जना रहेको छ भने यस विद्यालयमा १२ जना विदेशी विद्यार्थी रहेका छन्। यस विद्यालय ५५ रोपनी क्षेत्रफलमा ७ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, छात्रबास, चमेना गृह र आफ्नै ३५ वटा यातायातका साधन सहितको सुविधा रहेको छ। आफ्नै सुविधासम्पन्न भवनसहित स्विमिङपुल, बास्केटबल, फुटसल कोर्ट हुनुका साथै विद्यार्थीले सान्त मनोरम वातावरणमा अध्ययन गर्ने अवसर पाउँछन्।
विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षामा जोड दिदैँ आएको यस विद्यालयमा विद्यार्थीका लागि व्यक्तीत्व विकास, सीप र दक्षतामा जोड दिदैँ अध्यापन गराइन्छ। काठमाडौँ वल्ड स्कुलले विद्यार्थीका लागि कम्प्युटर सफ्टवेयर डेभलपमेन्ट, रोर्वटिक्स, होटल म्यानेजमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँ वल्ड स्कुलले प्याब्सन छात्र फुटसल प्रतियोगितामा विजयी हुनुका साथै विभिन्न अन्तरविद्यालय प्रतियोगितामा विजेता बन्न सफल भएको थियो। विस्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारसहित विद्यार्थीमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। अभिभावक तथा विद्यार्थीहरुले मनोरम वातावरण, आधुनिक भौतिक शैक्षिक पूर्वाधार, उच्चस्तरिय गुणस्तरीय शिक्षाका कारण काठमाडौँ वल्ड स्कुल रोज्ने गरेका छन्।
ग्लोबल कलेज अफ म्यानेजमेन्ट र ग्लोबल स्कुल, मध्यबानेश्वर, काठमाडौँ
.jpeg)
काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान तर्फका विषय अध्यापन हुदै आएको छ। ग्लोबल कलेज काठमाडौँ उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई अब्बल साबित गरिसकेको यस कलेजले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विगत ३ वर्षदेखी शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ।
सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल कलेजमा अत्याधुनिक विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशालाका साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रबन्ध गरिएको छ।
ग्लोबलले विभिन्न प्रतियोगिताहरुमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ। यस कलेजले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी प्रतियोगिता र प्रशिक्षण समेत दिँदै आएको छ। राष्ट्रिय स्तरको वाइड डिबेट च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै उत्कृष्ट म्यानेजमेन्ट स्कुल कलेज विधामा विभिन्न संघसंस्थाहरूले ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन्। यस कलेजल व्यवस्थापन तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड प्राप्त गरेको थियो।
व्यवस्थापन र विज्ञान संकायलाई छुट्टाछुट्टै भवन, छुट्टै व्यवस्थापनका साथमा कर्मचारी संयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने उत्कृष्ट कलेज हो ग्लोबल कलेज।
यस कलेजले विद्यार्थीलाई करियर काउन्सिलिङ, फिल्ड भिजिट, रिपोर्ट राइटिङ, आर्ट, गायन, नृत्य, कन्टेन्ट राइटिङ, एङ्करिङ, भिडियोग्राफी, फोटोग्राफी लगायतका तालिमहरू सञ्चालन गर्दै आएको छ। शिक्षण र सिकाइलाई प्राथमिकतामा राखी अध्यापन गराइनु यस विद्यालयको विशिष्ट विशेषता रहि आएको छ।
गोल्डेनगेट ईन्टरनेशनल कलेज, बत्तिसपुतली, काठमाडौँ
.jpeg)
काठमाडौँ बत्तिसपुतलीमा रहेको गोल्डेनगेट ईन्टरनेशनल माध्यमिक विद्यालयमा विज्ञान व्यवस्थापन तथा मानविकि तर्फका विषय अध्यापन हुन्छ। गोल्डेनगेटमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार १ सय, २०८० सालमा २ हजार ३ सय र २०७९ मा २ हजार ५ सय जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा गोल्डेनगेटले २०८० सालमा ९७ प्रतिशत, २०७९ मा ९८ प्रतिशत र २०७८ सालमा ९९ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ६७४ जना रहेको छ।
गोल्डेनगेट २० रोपनी क्षेत्रफलमा रहेको सुविधासम्पन्न भवनभित्र अवस्थित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला हुनुका साथै विद्यार्थीको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ।
गोल्डेनगेटका विद्यार्थीले अन्तर विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट टुर्नामेन्ट, फुटबल, बास्केटबल, चेस, टेबलटेनिस लगायतका थुप्रै क्रियाकलापमा विभिन्न स्थान हासिल गर्न सफल भएका छन्। गोल्डेनगेटका विद्यार्थी अविशेक बरालले एसियन कराते च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए। गोल्डेनगेटमा अध्यनत विद्यार्थीले विभिन्न ४८ वटा प्रतियोगितामा राष्ट्रिय मेडल प्राप्त गर्न सफल भएका छन्। गोल्डेन गेटले विद्यार्थीलाई स्पोर्टस, लिडरसिप, कम्यूनिकेशन, चित्रकला, कविता लेखन सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
यस कलेजमा अध्ययन गरेका प्राय विद्यार्थीहरु नेपालका शैक्षिक संस्थामा कार्यरत छन्। दूरदर्शी सोचलाई कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा, सर्वोत्कृष्ट नतिजा, दक्ष र अनुभवी शिक्षककर्मचारी, नतिजामुखी शिक्षा, शैक्षिक व्यवस्थापन र अन्य अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले यस कलेजलाई रोज्नुपर्ने कलेजका अध्यक्ष रमेश शिलवाल बताउँछन्।
ट्रिटन माध्यमिक विद्यालय, कोटेश्वर, काठमाडौँ
.jpeg)
काठमाडौँ कोटेश्वरमा रहेको ट्रिटन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन तथा कानुन संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा १९९६ जना, २०८१ सालमा १ हजार ८ सय ६१ जना, २०८० सालमा १ हजार २ सय ३० जना विद्यार्थीले अध्ययन गरेका थिए। ट्रिटनमा हाल ५ जना विदेशी विद्यार्थीहरु अध्ययनरत रहेका छन्। राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षामा ट्रिटनले २०८१ मा ९९.२ प्रतिशत, २०८० सालमा ९८.९ प्रतिशत, २०७९ मा ९७.६ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। ट्रिटनमा हाल १२८ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन्। कुल ४ रोपनी क्षेत्रफलमा रहेको ट्रिटनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री र बतानुकुलित कक्षा कोठा, आवासीय प्रवन्ध, चमेना गृहसँगै यातायातको प्रबन्ध रहेको छ। ट्रिटन कलेजले प्रत्येक वर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, वर्कशप र विद्यार्थीलाई नेतृत्व विकासका तालिमसँगै अतिरिक्त क्रियाकलाप गर्दै आएको छ। ट्रिटनले ट्रिटन टल्क सो, ट्रिटन ट्यालेन्ट हन्ट, गायन तथा नृत्य, ब्याडमिन्टन, बास्केटबल, भलिबल, फुटसल, चेस लगायतका गतिविधि गर्दै आएको छ।
त्यस्तै ट्रिटनले कक्षा ११ र १२ का विद्यार्थीलाई पूर्वतयारी कक्षा सञ्चालन पनि गर्ने गरेको छ। यस कलेजले विभिन्न प्रतियोगिता आयोजना समेत गर्दै आएको छ। ट्रिटनले आयोजना गरेको अन्तरविद्यालय कविता प्रतियोगितामा तेस्रो स्थान, किष्ट कलेजले आयोजना गरेको विज्ञान प्रविधि प्रतियोगितामा प्रथम स्थान, आर्मी समुह (सीओएएस)ले आयोजना गरेको विज्ञान प्रर्दशनी प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।
ट्रिटनले अन्तरविद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगिता, फिजिक्स म्याथ ओलम्पियाड्,अन्तरविद्यालय कानुन हाजिरी जवाफ प्रतियोगिता लगायतमा पनि उत्कृष्ट स्थान हासिल गरेको छ।
ट्रिटनमा अध्ययन गरेका विद्यार्थीहरु ईन्जिनियरिङ तथा मेडिकल विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। प्रत्येक वर्ष विषयगत शैक्षिक भ्रमण पनि लैजादै आएको छ। प्रभावकारी शैक्षिक वातावरण, उत्कृष्ट नतिजा, परिवर्तनकारी सिकाइ, दक्ष तथा अनुभवी विषयगत शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले ट्रिटनलाई रोज्ने गरेको कलेजकी कार्यकारी निर्देशक रितु न्यौपाने बताउँछिन्।
नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
काठमाडौँ बबरमहल स्थित नेपाल मेगा कलेजमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। मेगामा कक्षा ११ र १२ मा २०८१ सालमा ८ सय ४१ जना, २०८० सालमा ८ सय ४३ जना र २०७९ मा ९ सय १६ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको २०८० सालको परीक्षाको नतिजा अनुसार ९९.५ प्रतिशत, २०७९ सालमा ९५ प्रतिशत र २०७८ सालमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। मेगामा कार्यरत शिक्षक कर्मचारिको संख्या ९८ जना रहेको छ। मेगा ३ रोपनी क्षेत्रफलमा २ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ।
मेगामा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै विद्यार्थीको सहजीकरणको लागि प्रविधि मैत्री कक्षाकोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ।
मेगाले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ। मेगाका विद्यार्थीले अन्तरविद्यालय कविता प्रतियोगीतामा तेस्रो स्थान, हाजिरीजवाफ प्रतियोगिता र मुटकोर्ट प्रतियोगीतामा दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। हालसम्म मेगामा अध्ययन गरेका ६५ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने सिईई परीक्षा र १३५ जना विद्यार्थीले ईन्जिनियरिङ अध्ययन संस्थान आईओईले लिने प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन्।
गत वर्षको परीक्षामा चिकित्सा शिक्षा तर्फ ५ जना र इन्जियिनयरिङ तर्फ १२ जनाले पूर्ण छात्रावृतिमा नाम निकालेका थिए। यस कलेजले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको समेत व्यवस्था गर्दै आएको छ।विद्यार्थीहरुको व्यक्तिगत हेरचाह, पारिवारिक वातावरण र विश्वस्तरिय गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रवेश परीक्षा केन्द्रित पाठ्यक्रम, शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकको रोजाइमा मेगा कलेज पर्ने गरेको छ।
भिएस निकेतन माध्यमिक विद्यालय, तिनकुने, काठमाडौँ
काठमाडौँको तिनकुनेमा रहेको विनायक सुधा निकेतन (भि.एस) माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ४ सय २० जना, २०८० सालमा १ हजार ३ सय ५६ जना र २०७९ सालमा १ हजार १ सय ५५ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९८.५ प्रतिशत र २०७८ सालमा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १०४ जना रहेको छ भने यस विद्यालयमा विदेशी विद्यार्थी छैनन्। यस विद्यालय ४ रोपनी क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्।भिएस निकेतनले विद्यार्थीका लागि सिनियर डिभिजन क्याडेट तालिम, कम्प्युटर सफ्टवेयर लगायत रोर्वट निर्माण गर्ने तालिम सञ्चालन गर्दै आएको छ।
भिएस निकेतनमा विज्ञान समुह पढ्ने विद्यार्थीले बनाएको रोबोर्ट रेस प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुको साथै थुप्रै अन्तरविद्यालय प्रतियोगितामा विजेता भएको थियो। भिएस निकेतनमा अध्ययन गरेका विद्यार्थी रश्मी जोशी प्रभु बैँकमा सीईओ र बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर भइसकेका छन्।
सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। अनुशासित वातावरण, आधुनिक भौतिक शैक्षिक पूर्वाधार, उच्चस्तरिय गुणस्तरीय शिक्षा र प्राईम लोकेशनको कारण विद्यार्थी र अभिभावकले भिएसलाई रोज्नुपर्ने भिएस निकेतनको दावी छ।
मनास्लु वर्ल्ड कलेज, चुच्चेपाटी, चावहिल, काठमाडौँ
काठमाडौँको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय अन्तर्गतका विषयमा अध्यापन गराईन्छ। यस विद्यालयमा हाल कक्षा ११ र १२ मा गरि करिब १५०० विद्यार्थी अध्ययनरत छन्।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८१ मा ८४.६२ प्रतिशत , २०८० सालमा ७८.३४ प्रतिशत र २०७९ सालमा ९८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए।विद्यालयमा १ सय ५४ जना शिक्षक र कर्मचारी कार्यरत रहेका छन्। ८ रोपनी भन्दा बढि क्षेत्रफलमा ९ वटा सुविधासम्पन्न भवनमा सञ्चालित यस विद्यालय शैक्षिक भौतिक पूर्वाधारमा सम्पन्न रहेको छ।
विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा यस विद्यालयले विद्यार्थीहरुलाई उपलब्ध गराउदै आएको छ। मनास्लुले विभिन्न समयमा विद्यार्थी र शिक्षकको लागि स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। विद्यालयले विद्यार्थी र शिक्षकहरुका लागि नेतृत्व विकासका विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। स्थापनाकाल देखिनै विद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साँस्कृतिक आदान प्रदान तथा शैक्षिक भ्रमण समेत सञ्चालन गर्दे आएको छ।
विद्यालयले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता २०८०, काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको अन्तर कलेज फुटबल प्रतियोगितामा, जेभिएर बास्केटबल प्रतियोगिता सहित, होटल म्यानेजमेन्ट अफ द इयर २०७९ लगायतका पुरस्कार प्राप्त गर्न सफल भएको छ। यस विद्यालयले अष्ट्रेलियावाट इर्मजिङ प्लस टु स्कुल तथा कलेज , बेलायतवाट बेस्ट प्लस टु एकेडेमिक एक्सिलेन्स अवार्ड २०२५, लगायतका थूप्रै अवार्ड तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्।विद्यालयले अन्तराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट व्यवस्थापन तथा शैक्षिक गतिविधिका लागि आईएसओ २००९ :२०१५ प्रमाणित कलेजको मान्यता प्राप्त गर्न सफल भएको छ। विद्यालयले पढाईसँगै विभिन्न पेशागत सीप तथा तालिमहरु उपलब्ध गराई विद्यार्थीहरुलाई दक्ष वनाउने कार्य गर्दे आएको छ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि सक्षम जनशक्ति उत्पादन गर्दै नेतृत्वदायी क्षमताको विकासलाई प्राथामिकता दिनु मनास्लुको विशेषता रहेको कार्यकारी निर्देशक कुमार मोक्तान बताँउछन्।
मिड भ्याली स्कुल, सूर्यविनायक, भक्तपुर
.jpeg)
भक्तपुर सूर्यविनायकमा रहेको मिड भ्याली स्कुल काठमाडौँ उपत्यकाकै उत्कृष्ट शैक्षिक संस्था हो। यस स्कुलले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकता दिदै आएको छ। विद्यार्थीहरूलाई सुरक्षित, समावेशी र प्रेरणादायी सिकाइ वातावरण प्रदान गर्दै उनीहरूको क्षमता पहिचान र भविष्य निर्माणमा सहयोग गर्दै आएको छ। गुणस्तरीय शिक्षाप्रति आफनो दृढ प्रतिबद्धता जनाउदै आएको यस स्कुलले ज्ञान, सीप, अनुशासन, जिम्मेवारी र मानवीय मूल्यले सम्पन्न विद्यार्थी उत्पादन गर्दे आएको छ।
मिड भ्यालीमा विज्ञान, व्यवस्थापन र कानुन तर्फको सकांयका विभिन्न विषयहरु अध्यापन हँुदै आएको छ। यस स्कुलले विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता, सहकार्य तथा व्यक्तित्व विकासका लागि विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिमा सहभागी गराउँदै आएको छ। खेलकुद तथा एथलेटिक्स , शैक्षिक भ्रमण, सांस्कृतिक कार्यक्रम, वादविवाद तथा वक्तृत्वकला, सामाजिक सेवा कार्यक्रम तथा क्लब तथा प्रतिस्पर्धात्मक गतिविधि मार्फत विद्यार्थीहरुको क्षमता विकासमा अग्रसर रहिआएको छ।
आधुनिक कक्षाकोठा, अनुभवी तथा दक्ष शिक्षक, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय तथा स्रोत केन्द्र, विद्यार्थीहरुका लागि परामर्श तथा करियर मार्गदर्शन अन्तरक्रियात्मक सिकाइ वातावरण यस मिड भ्याली स्कुलका विशेषताहरु हुन्।
विद्यार्थी केन्द्रित सिकाइ वातावरण, विद्यार्थीहरुको शैक्षिक तथा व्यक्तिगत विकासमा जोड, समावेशी तथा सहयोगात्मक वातावरण व्यवहारिक तथा व्यवसायमुखी शिक्षामा स्कुलले जोड दिँदै आएको छ।
मुनलाइट सेकेन्डरी स्कुल(मोलिस), कुमारीपाटी, ललितपुर

ललितपुरको सातदोबाटोमा रहेको मुनलाइट माध्यमिक विद्यालय (मोलिस)मा विज्ञान,व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुदै आएको छ। विद्यार्थीको संख्यात्मक वृद्धि भन्दा पनि शैक्षिक गुणस्तरमा प्राथमिकता दिने यस विद्यालयले सिमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने गरेको छ। यस विद्यालयले विद्यार्थीको सुविधा तथा भौतिक पूर्वाधारमा ध्यान दिदैँ आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दे आएको छ।
वि.स २०८१ र २०८० सालमा ९९ प्रतिशत २०७९ सालमा ९७.८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ९८ रहेको छ। ४ रोपनी भन्दा बढि क्षेत्रफलमा फैलिएको मोलिसको आफ्नै सुविधासम्पन्न भवन रहेको छ।विद्यालय परिसरमा बास्केटबल कोर्ट तथा फुटसल कोर्ट निर्माण गरिएको छ।मोलिसमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, पुस्कालय, आवासिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ। यस विद्यालयले विद्यार्थीहरुलाई खेलकुद सहित अतिरिक्त प्रतियोगिताहरुमा सहभागिता गराउदै आएको छ।मोलिसका विद्यार्थीहरुले डिएभी फुटसल कपमा पहिलो स्थान, जेम्स फुटसलमा दोस्रो स्थान, पिइए हाजिरिजवाफ प्रतियोगितामा पहिलो स्थान, ईकोनेमिक ओलम्यिाड लगायतका थुप्रै प्रतियोगिताहरुमा पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
मोलिसले प्रत्येकवर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, कार्यशाला र नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दे आएको छ।विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको मेलिसले फुटसल, ट्यालेन्ट हन्ट, ब्याडमिन्टन,बास्केटबल आदि खेलको प्रशिक्षण पनि दिदै आएको छ।
यस विद्यालयका विद्यार्थीहरुले नियमित रुपमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दे आएको छ। मोलिसले आईओएम,आईओई लगायतका परीक्षामा विद्यार्थीहरुले उत्कृष्ट नतिजा निकाल्न सफल हुदै आएका छन्। लामो समयदेखी शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक व्यक्तित्वहरुबाट स्थापित, निरन्तर उत्कृष्ट नतिजा र सहुलियत शुल्कमा पठनपाठन गर्नु मोलिसको विशेषता रहेको छ।
गुणस्तरीय शिक्षा,विद्यार्थी केन्द्रित प्रशासनिक व्यवस्था,सुविधायुक्त भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी अभिभावकसँग नियमित सम्पर्क र नेतृत्व विकासको प्रशस्त अवसरका कारण विद्यार्थी र अभिभावकले मोलिसलाई रोज्ने गरेको मोलिसका उप प्राधानाध्यापक प्रमोद कुमार चौधरी बताउँछन्।
युनाईटेड एकेडेमी, कुमारिपाटी, ललितपुर
युनाईटेड एकेडेमी ललितपुरको कुमारिपाटीमा अवस्थित एक अग्रणी शैक्षिक संस्था हो। सन् १९९७ मा स्थापना भएको यस युनाईटेड एकेडेमीले विगत दुई दशकभन्दा बढी समयदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै काठमाडौँ उपत्यकाकै सबैभन्दा रोजाइको शैक्षिक संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ। युनाईटेडले प्लस टु कार्यक्रमसँगै आफ्नो शैक्षिक दायरा विस्तार गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ।
संस्थाअन्तर्गत ‘युनाइटेड स्कुल’ र ‘युनाइटेड युनिभर्सल स्कुल’ नामक जुनियर विङमार्फत माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्मको शिक्षा प्रदान गर्दै आएको छ भने ‘युनाइटेड कलेज’ नामक सिनियर विङमार्फत त्रिभुवन विश्वविद्यालयसँग आबद्ध बीए, बीबीएस, बीसिए, बीबीएम तथा एमबीएस कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस विद्यालयले विद्यार्थीलाई समग्र र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आधुनिक तथा वैज्ञानिक शिक्षण विधि र प्रभावकारी शैक्षिक पद्धति अवलम्बन गर्दै आएको छ।
उत्कृष्ट नतिजा, छात्रवृत्ति तथा प्रतिष्ठित विश्वविद्यालयहरूमा विद्यार्थीको सफल प्रवेशको गौरवपूर्ण इतिहास बोकेको यस विद्यालयले गुणस्तरीय शिक्षामा आफ्नो अलग पहिचान बनाएको छ। विद्यार्थीको रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विविध शैक्षिक विषयहरू समेटिएको पाठ्यक्रमको अध्यापन गराउनु यस विद्यालयको विशेषता रहेको छ। अनुभवी तथा दक्ष शिक्षकहरू मार्फत विद्यार्थीहरुले प्रेरणा, हौसला र सही दिशा प्राप्त गर्नुनै यस विद्यालयको फरक विशेषता रहदै आएको छ।
विद्यार्थीले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र होइन, सिर्जनात्मक सोच, नेतृत्व क्षमता, अनुसन्धानमुखी अध्ययन र व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्छन भन्ने मान्यतालाई व्यवहारिकरुप दिदै आएको यस विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण पद्धति र विद्यार्थीकेन्द्रित दृष्टिकोणमार्फत प्रत्येक विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
युनिग्लोब स्कुल/कलेज, गणेश मन्दिर, कमलादी, काठमाडौँ

काठमाडौँको कमलादी स्थित युनिग्लोब स्कुलमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८२ सालमा ३ हजार १ सय, २०८१ सालमा २ हजार ७ सय ८६ जना, २०८० मा २ हजार ४ सय ५६ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा युनिग्लोबले २०८१ मा ९९ प्रतिशत २०८० सालमा ९८ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा ९७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
नेपालमा विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस माध्यमिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञ, अर्थविद् र शिक्षाविदहरु कार्यरत छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा ९८ जना शिक्षक र ४७ जना कर्मचारी कार्यरत छन्। १४ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा सुविधा सम्पन्न भवन रहेका छन्। विद्यार्थीका लागि विज्ञान, सूचना प्रविधि प्रयोगशाला, चमेना गृह, प्रविधि मैत्री कक्षाकोठा, यातायात, अत्याधुनिक पुस्तकालयको व्यवस्था रहेको छ।
उपत्यका भित्र सञ्चालित शिक्षणसंस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल यस युनिग्लोबले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै विभिन्न पदकहरू प्राप्त गर्न सफल भएको छ। विद्यार्थीले ३० भन्दा बढी प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न भएका थिए। युनिग्लोबका विद्यार्थीले ‘कुम्माट २०२४’ र ‘सीम्याट २०२४’ मा प्रथम स्थान हासिल गर्न सफल भएका थिए। सर्वोत्कृष्ट नतिजा र सम्पूर्ण भौतिक शैक्षिक पूर्वाधार उपलब्ध हुनु यस कलेजको विशेषता हो। विद्यार्थी–केन्द्रित सिकाइ पद्धतिः विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिलाई बुझेर सोही अनुसारको शिक्षण विधि र व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ।गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधि, दक्ष तथा अनुभवि शिक्षक र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले युनिग्लोबलाई रोज्ने गरेका छन्।
कलेजको शैक्षिक योजना र निर्णय प्रक्रियामा अभिभावकको नियमित राय–सुझावलाई उच्च प्राथमिकता दिने गरिएको छ। विद्यार्थीको उपस्थिति, शैक्षिक प्रगति र अनुशासनबारे अभिभावकलाई मोबाइल एप वा डिजिटल माध्यमबाट तत्काल जानकारी दिने व्यवस्था पनि यस कलेजले गरेको छ।
शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रैमासिक रूपमा सञ्चालन हुने ’प्यारेन्ट–टिचर मिटिङ’ मार्फत त्रिकोणात्मक सम्बन्ध सुदृढ पार्दे सुरक्षित शैक्षिक वातावरण, गुणस्तरीय नतिजा र विद्यार्थीको चौतर्फी विकासका कारण विद्यार्थी तथा अभिभावकहरूका मन जित्न यस कलेज सफल हुदै आएको छ।
रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल, काठमाडौँ
काठमाडौँको चावहिल स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा विज्ञान र व्यवस्थापन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ७ सय ३२ जना विद्यार्थी, २०८० मा १ हजार ९ सय २७ जना र २०७९ मा १ हजार ७ सय १२ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा रिलायन्सले २०८० सालमा ९९.३१ प्रतिशत, २०७९ सालमा ९९.४९ प्रतिशत र २०७८ सालमा ९९.७३ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
रिलायन्समा कार्यरत शिक्षक कर्मचारीको संख्या १४६ रहेको छ। करिब ५ रोपनी क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवनमा यस विद्यालय सञ्चालित छ। यस विद्यालयले विगतदेखि नै आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। रिलायन्समा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय सहितको व्यवस्था रहेको छ। यस विद्यालयले विषय शिक्षकलाई तालिम प्रदान गर्नुको साथै कोअर्डिनेट तालिम, विषयगत तालिम, पाठ्यक्रम सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
रिलायन्सले जिल्ला स्तरिय तहको कबड्डी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै यस विद्यालयले अन्तरविद्यालय फुटबल, बास्केटबल, फुटसल, हाजिरीजवाफ, भलिबल लगायतका विभिन्न प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ। रिलायन्सका विद्यार्थीहरुले ईन्जिनियरिङ प्रवेश परीक्षा र चिकित्सा शिक्षा तर्फको एकिकृत प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। यस विद्यालयले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको व्यवस्था गर्दै आएको छ।
विद्यार्थीहरुलाई व्यक्तिगत हेरचाह प्रदान गर्नु नै यस कलेजको फरक विशेषता हो। गुणस्तरीय शिक्षा, आईसीटी र सफ्ट स्किल डेप्लपमेन्ट, विद्यार्थीमैत्री वातावरण, अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले रिलायन्सलाई रोज्ने गरेका छन्।
लिभरपुल सेकेन्डरी स्कुल/कलेज, नयाँ बानेश्वर, काठमाडौँ
काठमाडौँ महानगरपालिका वडा नं १० नयाँ बानेश्वरमा अवस्थित लिभरपुल सेकेन्डरी स्कुलमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा १ हजार ७ सय ३५ जना, २०८१ सालमा १ हजार ७ सय २७ जना, २०८० सालमा १ हजार ७ सय ९१ जना र २०७९ मा १ हजार ५ सय ४८ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा अनुसार २०८१ सालमा ९७ प्रतिशत, २०८० सालमा ९७ प्रतिशत, २०७९ सालमा ९२.३ प्रतिशत र २०७८ सालमा ९९.३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या १२७ रहेको छ।
लिभरपुल ७ रोपनि क्षेत्रफलमा ३ वटा भवनमा सञ्चालित एक उत्कृष्ट नमुना विद्यालय हो। यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, होटल म्यानेजमेन्ट ल्याब, एसी र प्रोजेक्टर सहितको हल, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
लिभरपुलले मलेसियामा सम्पन्न ‘एपीसीवाइएस २०२४’ मा गोल्ड मेडल प्राप्त गर्नुको साथै फुटबल, बास्केटबल लगायतका प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। लिभरपुलले शिक्षक कर्मचारीको लागि विषय विज्ञबाट तालिम प्रदान गर्नुको साथै कानुनका विद्यार्थीहरुलाई संसदको नमूना तालिमको व्यवस्था गर्दै आएको छ।
यस विद्यालयका विद्यार्थीहरु अध्ययनपश्चात् देश तथा विदेशका विभिन्न अस्पताल, अदालत, हवाईसेवा, बैँक लगायतका विभिन्न प्राविधिक क्षेत्रहरुमा कार्यरत छन्। विद्यार्थीहरुलाई उच्च गुणस्तरको शिक्षा प्रदान, विषयगत शैक्षिक भ्रमण, सिकाइ वातावरणलाई बढावा, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रुपमा फस्टाउने, मार्गदर्शन र प्रेरणा दिने, प्रतिस्प्रधात्मक बजारमा उत्कृष्ट हुन आवश्यक ज्ञान र सीपहरु प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। कलेजले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयले जनाएको छ।
विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर, काठमाडौँ
काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ५ सय २ जना, २०८० सालमा २ हजार ६ सय १८ जना र २०७९ मा २ हजार ३ सय ४८ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले २०८० सालमा ९६.२३ प्रतिशत, २०७९ मा ९६ प्रतिशत र २०७८ सालमा ९४.२ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १५७ जना रहेको छ। यस विद्यालय १० रोपनि क्षेत्रफलमा २ वटा भवनमा अवस्थित छ। विश्व निकेतनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२ मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
विश्व निकेतनका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १०को परीक्षामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल हुने गरेका छन्। जसमा २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए। त्यस्तै १५ जनाले एमबीबीएस र ४३ जनाले ईन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता, अन्तरविद्यालय बक्सिङ्ग प्रतियोगितामा ११ स्वर्ण सहित प्रथम स्थान हुनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ। ९० प्रतिशत शिक्षक कर्मचारीको छोराछोरी यसै विद्यालयमा पठनपाठन र जीवनोपयोगी शिक्षामा विशेष जोड दिनु यस विद्यालयको फरक विशेषता हो।
न्यून शुल्कमा पठनपाठन, छात्रावृत्तिको व्यवस्था, स्तरीय पठनपाठन, अनुशासित वातावरण, दक्ष तथा अनुभवि विषयगत शिक्षक, सर्वोत्कृष्ट नतिजा, व्यवस्थित भौतिक शैक्षिक पूर्वाधारका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले जानकारी दिए।
समृद्धि स्कुल, बालाजु, काठमाडौँ
व्यवस्थापन तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्न सफल समृद्धि स्कुल काठमाडौँको बालाजुमा रहेको छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा व्यवस्थापन अन्तर्गतका सम्पूर्ण विषयहरु अध्यापन गराईन्छ।
समृद्धि स्कुलमा कक्षा ११ र १२ मा २०८२ सालमा ४७८ , २०८१ सालमा ५ सय ८८ जना, २०८० सालमा ६ सय ८८जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८१ सालमा ९३ प्रतिशत २०८० सालमा ९५ प्रतिशत र २०७९ सालमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए।
समृद्धि स्कुलमा ४५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्। कुल ८ रोपनी भन्दा बढि क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न शैक्षिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ। समृद्धिमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षाकोठा, पुस्तकालय, चमेना गृह, कम्प्युटर ल्याब र यातायातको व्यवस्था रहेको छ। समृद्धिले विद्यार्थी तथा शिक्षकहरुलाई विभिन्न तालिम सञ्चालन गर्दे आएको छ।
समृद्धिले विद्यार्थीहरुका लागि सेयर मार्केट सम्वन्धी तालिम, आर्टिफिसियल इन्टलिजेन्स, होटल सम्वन्धी तालिम समेत सञ्चालन गर्दे आएको छ। विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यायार्थीहरूको चौतर्फी व्यक्तित्व विकासमा मद्दत गर्दे आएको छ। समृद्धिले साउथ एसियन ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स सर्ट स्टोरी र ग्रीटिङ कार्ड प्रतियोगितामा दोस्रो स्थान, अन्तरविद्यालय गु्रप डान्स प्रतियोगितामा तेर्स्रो स्थान हासिल गर्न सफल भएको थियो।
समृद्धि फुटसल, बास्केटबल जस्ता खेलहरुको अन्तरविद्यालय प्रतियोगितमा उपाधी जित्न सफल भएको छ। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सीए, सफ्टवयेर डेप्लपर तथा बैँकर बन्न सफल भएका छन्।विद्यार्थीहरुको क्षमता, इच्छा चाहाना अनुरुप निखार्नु समृद्धिको फरक विशेषता हो। विद्यार्थीहरुको समग्र विकासलाई जोड दिदैँ उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, शिक्षण सिकाइमा जोड दिदै व्यवहारिक शिक्षालाई प्राथमिकता दिएकै कारण समृद्धि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको छ।
सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ
काठमाडौँको मुख्य केन्द्र माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेज विद्यार्थी तथा अभिभावको पहिलो रोजाईमा पर्ने गरेको छ। विज्ञान विषय तर्फ विद्यार्थीकोे पहिलो रोजाइको शैक्षिक गन्तव्यको रुपमा ‘सेन्ट जेभियर्स कलेज’ पर्ने गरेको छ।
यस कलेजले कक्षा १० उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने ५ सय जना विद्यार्थी भर्ना गर्ने गरेको छ। कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस कलेजको विगत ३ वर्षको नतिजा ९९ प्रतिशत रहेको छ।
यस कलेजमा कक्षा ११ र १२ मा १३० जना शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको ३ वटा भवन रहेको छ भने ६ हजार वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। कलेजले विद्यार्थीका लागि विज्ञान र सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गरेको छ भने कलेजमा प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, विषयगत ल्याब र चमेना गृहको पनि व्यवस्था रहेको छ। कलेजले अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ।
यस कलेजका विद्यार्थीले राष्ट्रिय तहमा मेडिकल, ईन्जिनियरिङ र कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय रुपमा एमआईटी, स्टानफोर्ड, प्रिन्सटन, ब्रेन्ट स्मिथ राइस जस्ता विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।
त्यस्तै यस कलेजका विद्यार्थीले गणित, भौतिक शास्त्र, जैविक शास्त्र लगायतका राष्ट्रिय तथा अन्तराराष्ट्रिय ओलम्पियाडहरुमा पुरस्कार प्राप्त गर्न सफल भएका छन। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी अन्तर विद्यालय स्तरका विभिन्न प्रतियोगितामा समेत उत्कृष्टता हासिल गर्न सफल भएका छन्।
यस कलेजले शिक्षक र विद्यार्थी केन्द्रित कम्प्युटर, फिजिक्स, म्याथ, केमेस्ट्रि ओलम्पियाड र साइन्स फेस्ट जस्ता कार्यक्रम सञ्चालन गर्दे आएको छ। विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान दिनु यस कलेजको फरक विशेषता हो। उत्कृष्ट शैक्षिक उपलब्धि, अन्तर्राराष्ट्रिय स्तरमा शैक्षिक अनुभव र सहभागिता, अनुभवी र दक्ष शिक्षक, आधुनिक प्रयोगशाला रहेको यस कलेजले आधुनिक शिक्षा प्रदान गर्दे आएका कारण विद्यार्थी र अभिभावकको रोजाइमा यस कलेज पर्ने गरेको छ।
हिमालय माध्यमिक विद्यालय, कोटेश्वर, काठमाडौँ

काठमाडौंको कोटेश्वरमा रहेको यस हिमालय स्कुल काठमाडौ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको छ। वि.स.२०४५ सालमा स्थापना भएको यस स्कुलले सुरुवातदेखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शान्त, अनुशासित र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यार्थीलाई उत्कृष्ट नतिजा निकाल्दै विद्यालयले निरन्तर सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा विद्यालयले प्राप्त गर्दै आएको उल्लेखनीय नतिजाले विद्यालयको शैक्षिक विश्वसनीयतालाई अझ मजबुत बनाएको छ।
यस विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा तर्फ २०८१ मा ९१ प्रतिशत, २०८० मा ९२ प्रतिशत र २०७९ मा ८९ प्रतिशत उत्तिर्ण नतिजा ल्याउन सफल भएको थियो। विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा ९ सय ७० जना, २०८१ सालमा १ हजार ४३ जना र २०८० मा १ हजार ९२ जना विद्यार्थीले यस विद्यालयमा अध्ययन गरेका थिए।
अभिभावक, शुभेच्छुक तथा समाजको अपेक्षालाई आत्मसात गर्दै विद्यालयले २०५६ सालदेखि ११ र १२ कक्षा सूरुगर्दे हाल विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन संकाय सञ्चालन गर्दै आफ्नो शैक्षिक दायरा विस्तार गरेको छ। विद्यार्थीहरुलाई अध्ययन भ्रमण सँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको यस विद्यालयले विभिन्न राष्ट्रिय स्तरका पुरस्कार एंव सम्मान समेत प्राप्त गर्दे आएको छ। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न परीक्षाहरुमा सहभागी हुँदै छात्रवृत्ति समेत प्राप्त गर्न सफल भएका छन्। विद्यालयले सबै विद्यार्थीहरुलाई समान व्यवहार प्रस्तुत गर्दै आएको छ। आधुनिक सिकाई प्रणालीको प्रयोग गर्दै प्रभावकारी नतिजा निकाल्नु यस विद्यालयको विशेषता रहेको छ।
५ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा सुविधा सम्पन्न कक्षा कोठा रहेको यस विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै सामाजिक, नैतिक, बौद्धिक तथा भावनात्मक विकासमा विशेष ध्यान दिदै आएको छ। विद्यालयमा अत्याधुनिक प्रयोगशाला,पुस्तकालय, चमेना गृह, यातायात र आवासीय प्रबन्धको पनि राम्रो व्यवस्था रहेको छ।
हेराल्ड माध्यमिक विद्यालय, बसुन्धारा, काठमाडौँ

काठमाडौँको बसुन्धरामा रहेको हेराल्ड माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, कानुन, मानविकीसँगै फेसन डिजाईनका साथै काईकोलोजी विषयमा अध्यापन हँुदै आएको छ। कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा अध्याधुनिक भवनमा कक्षा कोठाहरु रहेका छन्।
आधुनिक विज्ञान प्रयोगशाला, होटल व्यवस्थापनका लागि प्रयोगात्मक कक्ष, कम्प्युटर ल्याव, पुस्तकालय, चमेनागृह सहित यातायातको समेत विद्यालयमा व्यवस्था रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ। विद्यालयले २०८१ सालमा भएको कक्षा १२ को परीक्षामा ९२ प्रतिशत, २०८० मा ९१ प्रतिशत र २०७९ सालमा ८७ प्रतिशत नतिजा प्राप्त गरेको थियो।
विद्यालयमा कक्षा ११ र १२ तर्फ गरि २०८२ मा २हजार ६६ जना, २०८१ मा १९ सय ६० जना र २०८०मा १९ सय १० जना विद्यार्थीले अध्ययन गरेका थिए। विद्यालयमा शिक्षक तथा कर्मचारीको संख्या २ सय ९० जना रहेका छन्। विद्यालयले शिक्षक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड् दिँदै आएको छ।
विद्यालयले शिक्षकहरुका लागि शिक्षण सिकाई तालिम, होटल व्यवस्थापन सम्वन्धी तालिम सञ्चालन गर्दै आएको छ। विभिन्न प्रतियोगिताहरुमा सहभागी हुनेक्रममा विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ, कविता प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता जस्ता प्रतियोगिताहरुमा सहभागीभई उत्कृष्ट नतिजा निकाल्दै आएको छ।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल हुँदै आएका छन्। देश विदेशका सरकारी, गैरसरकारी लगायातका क्षेत्रमा उनीहरु कार्यरत छन्। दक्ष तथा अनुभवि शिक्षक, आधुनिक तथा सुविधा सम्पन्न पूर्वाधार, उच्च शैक्षिक वातावरण यस विद्यालयका विशेषताहरु हुन्।
विज्ञ व्यक्तित्वको समुहद्धारा सञ्चालित यस विद्यालयमा विदार्थीहरुका लागि पठनपाठनसँगै सिपमुलक तालिममा समेत जोड दिने गरिएको छ। आवधिक रुपमा विद्यार्थीहरुको गुणस्तर मापन गरी उनीहरुलाई सुधारमा जोड दिनु यस विद्यालयको फरक विशेषता रहेको छ।
ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाडौँ
काठमाडौँ बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, कानुन तथा सिभिल इन्जिनियरिङ संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ६ सय ८१ जना, २०८० सालमा १ हजार ५ सय ९८ जना र २०७९ मा १ हजार २ सय २६ जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०८० सालमा ८१ .३५ प्रतिशत, २०७९ सालमा ८२.२१ प्रतिशत र २०७८ सालमा ८४.२१ प्रतिशत नतिजा ल्याउन सफल यस विद्यालयले आफूलाई अब्बल सावित गरिसकेको छ। यस विद्यालयमा १६७ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन्।
करिब ६ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयमा ४ वटा भवन रहेका छन्।ज्ञानोदयमा विद्यार्थीहरुका लागि भौतिक शैक्षिक पुर्वाधारको प्रयाप्त व्यवस्था गरिएको छ। विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला,प्रविधि मैत्री कक्षा कोठा, आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय रहेका छन्। यस विद्यालयले विषय शिक्षकहरुलाई तालिम, ईसीडी तालिम, पाठ्यक्रम सम्बन्धी तालिम लगायतका विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ।
ज्ञानोदयका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरुमा पूर्ण तथा आशिंक छात्रवृत्ति प्राप्त गरेका छन्। अभिभावकको रोजाइ, बालमैत्री वातावरण, व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन हुनु यस विद्यालयको विशेषता हो।
अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकको रोजाइमा ज्ञानोदय मावि पर्न सफल भएको छ।