काठमाडौँ- कक्षा १२ को परीक्षा सकिएसँगै हजारौं विद्यार्थी जीवनको महत्वपूर्ण मोडमा उभिएका छन्। अबको प्रश्न एउटै छ – ‘अब के गर्ने?’ विषय छनोटदेखि विश्वविद्यालय रोजाइ, स्वदेश कि विदेश भन्ने निर्णयसम्मका अनेक द्विविधाबीच विद्यार्थी र अभिभावक दुवै अन्योलमा देखिन्छन्। यो समय केवल शैक्षिक संक्रमण मात्र होइन, भविष्यको दिशानिर्देश तय गर्ने संवेदनशील घडी पनि हो।
काठमाडौँका रामेश्वर पुडासैनी आफ्ना सन्तानको भविष्यबारे चिन्तित छन्। छोरीको रुचि सूचना प्रविधितर्फ भए पनि उनको चाहना कानुन विषय पढाउनेतर्फ छ। यस्तै, कोटेश्वरका प्रनील कार्की स्वदेशमै इन्जिनियरिङ वा आईटी पढ्ने कि विदेश जाने भन्ने द्विविधामा छन्। अहिलेको समय विद्यार्थी आफै पनि कुन विषय अध्ययन गर्दा के हुन्छ र यस पश्चातका अवसरहरु कस्ता छन् भन्ने जस्ता जानकारी सहजै लिन सक्ने अवस्था पनि छ।
तनँहुका नितेश पोख्रेल आफ्नो अनुभव सुनाँउदै भन्छन्, ‘१२ कक्षाको परीक्षा राम्रो अंकका साथ उत्तिर्ण भएपछि एमबीबीएसको तयारी त गरेको थिए तर, कहाँ र कसरी गर्ने भन्ने निर्णय भएको थिएन। इन्टरनेटमा देश बाहिरका मेडिकल कलेजहरुको खोजी गर्दै जाँदा छात्रवृत्ति सहितको कलेज भेटियो र अध्ययन गर्ने अवसर प्राप्त भयो।’
यी त प्रतिनिधि पात्र मात्र हुन्, देशभरका अधिकांश परिवार यस्तै निर्णय प्रक्रियामा छन्।
शिक्षाविद् विद्यानाथ कोईरालाको भनाइमा, ‘विद्यार्थीले पढ्ने विषय उसकै रुचिअनुसार हुनुपर्छ।’ विद्यार्थीको रुचि र क्षमता अनुसार विषय छनोट गर्दा मात्र अध्ययनमा निरन्तरता र सफलता सम्भव हुन्छ। अभिभावकले मार्गदर्शन गर्ने हो, निर्णय थोपर्ने होइन।
यता त्रिभुवन विश्वविद्यालय का उपप्राध्यापक देवराज अर्यालले विषय छनोट गर्दा भविष्यका अवसर र बजारको मागलाई ध्यान दिनुपर्ने बताउँछन्। ‘सस्तो र सजिलो भन्दै विषय छान्दा पछि रोजगारीको अभाव हुन सक्छ,’ उनको चेतावनी छ।
विश्वविद्यालय प्रवेशको तयारीः प्रतिस्पर्धाको सुरुवात
कक्षा १२ पछि विद्यार्थीका लागि अर्को ठूलो चुनौती भनेको प्रवेश परीक्षा हो। चिकित्सा शिक्षा अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षा अनिवार्य छ भने इन्जिनियरिङ अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पास गर्नुपर्छ।
मेरिटका आधारमा छात्रवृत्ति प्राप्त गर्न सकिने भएकाले तयारी अझै महत्वपूर्ण हुन्छ। यही समयलाई सदुपयोग गर्दै विद्यार्थीहरू प्रवेश परीक्षा तयारी कक्षा, भाषा तयारी कक्षा वा विभिन्न सीपमूलक तालिमतर्फ आकर्षित भएका छन्।
कुन विषय रोज्ने? यस्ता छन् विकल्पहरू
अहिले विद्यार्थीहरूमा इन्जिनियरिङ, चिकित्सा, सूचना प्रविधि (आईटी), व्यवस्थापन र कानुन विषयप्रति आकर्षण बढी देखिन्छ।
१. इन्जिनियरिङः कम्प्युटर, सिभिल, इलेक्ट्रिकलदेखि एरोस्पेससम्म विविध विकल्प
२. चिकित्सा शिक्षाः MBBS, BDS, Nursing लगायत उच्च प्रतिस्पर्धी क्षेत्र
३. आईटीः BIT, BSc CSIT, BCA जस्ता कोर्समार्फत विश्वव्यापी अवसर
४. व्यवस्थापनः BBA, BBS, BBM, BHM बैंकिङदेखि पर्यटनसम्म अवसर
५. कानुनः पछिल्लो समय बीएएलएलबी जस्ता कोर्समा आकर्षण बढ्दो छ। कानुन विषयमा बढ्दो आकर्षणले विद्यार्थीहरूलाई स्वरोजगार र पेशागत स्थायित्वतर्फ आकर्षित गरिरहेको छ।
स्वदेश कि विदेश?
विद्यार्थीहरूका लागि अर्को ठूलो प्रश्न हो- नेपालमै पढ्ने कि विदेश जाने? अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, कोरिया लगायत देशमा अध्ययनका लागि जाने प्रवृत्ति बढ्दो छ। यसका लागि भाषा परीक्षा र आर्थिक तयारी अनिवार्य हुन्छ।
तर पछिल्लो समय नेपालमै विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन हुने क्रम बढेको छ। बेलायत, अमेरिका, मलेसिया लगायत देशका विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालका कलेजहरूले अन्तर्राष्ट्रिय डिग्री प्रदान गरिरहेका छन्। यसले विद्यार्थीलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्ने अवसर दिएको छ।
सीपमुखी शिक्षातर्फको आवश्यकता
लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलान, ‘आउटकम बेस लर्निङ’ मा जोड दिन्छन्। उनका अनुसार, 'डिग्री मात्र होइन, सीप आवश्यक छ। बजारले खोजेको दक्ष जनशक्ति उत्पादन गर्न पाठ्यक्रम र शिक्षण शैली परिवर्तन जरुरी छ।'
आईटी क्षेत्रमा विशेष सम्भावना रहेको उल्लेख गर्दै उनी विद्यार्थीलाई कलेज छनोट गर्दा पाठ्यक्रम, पूर्वाधार, शिक्षक र अवसरबारे गहिरो अध्ययन गर्न सुझाव दिन्छन्।
‘गोल्डेन टाइम’ को सदुपयोग
पीईए एसोसिएसनका सीईओ लक्ष्मण पोखरेलका अनुसार, 'यो समय विद्यार्थीका लागि गोल्डेन टाइम हो।' छोटो समयका सीपमूलक तालिम=डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, कुकरी, कम्प्युटर कोर्सले भविष्यमा अतिरिक्त अवसर सिर्जना गर्न सक्छ।
सही निर्णय, सफल भविष्य
कक्षा १२ पछिको समय केवल विषय छनोटको मात्र होइन, आत्मपहिचानको समय हो। रुचि, क्षमता, आर्थिक अवस्था र भविष्यका अवसरलाई सन्तुलनमा राखेर गरिएको निर्णयले मात्र दीर्घकालीन सफलता सुनिश्चित गर्न सक्छ। विश्वविद्यालय शिक्षातर्फको बाटो कुनै एक सूत्रीय निर्णय होइन। यो सोच, खोज र तयारीको समिश्रण हो। सही जानकारी, स्पष्ट लक्ष्य र निरन्तर प्रयासले मात्र विद्यार्थीलाई सही गन्तव्यमा पुर्याउन सक्छ।