काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेट संसदमा प्रस्तुत गर्न केही दिन मात्र बाँकी छँदा सरकारी कर्मचारीहरुको तलब बृद्धि हुने विषयले मिडिया र सामाजिक सञ्जालमा चर्चा पाएको छ।
निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने भनिएको छ। तर ४ वर्ष यता कर्मचारीको तलब बृद्धि हुन नसकिरहेको सन्दर्भमा सरकारलाई यस बजेटमा कर्मचारीको तलब बृद्धि बाध्यता जस्तै भएको छ। यस अघि आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा तलब बढेन।
ऐनको दफा २७ मा भएको व्यवस्थाअनुरुप गत साल नै कर्मचारीको तलब बृद्धि हुनुपर्ने हो।तर, गत वर्ष सरकारले राजस्वले नधान्ने भन्दै कर्मचारीको तलब बढाएन।तर यसपटक भने मुख्यसचिव सुमनराज अर्याल अध्यक्ष,अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको तलब भत्ता पुनरावलोकन समितिले तलब बढाउन सिफारिस गरेको उच्च स्रोतले जानकारी दिए सँगै सरकारी कर्मचारीहरु र शिक्षकहरुको तलब बृद्दि हुने निश्चित भएपनि कुन अनुपातमा बढ्ने भन्ने जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट भाषणकै बखत मात्रै थाहा हुनेछ।
स्रोतले बाहिर ल्याएका सुचनालाई आधार मान्ने हो भने कार्यलय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्य सचिवको एक लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस भएको छ। हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ छ।
स्रोतले बाहिर ल्याएको सुचना अनुसार पुनरावलोकन समितिले गरेको सिफारिसअनुरुप नै तलब वृद्धि भयो भने सबैभन्दा तल्ला तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले बढ्नेछ, भने मुख्यसचिवको तलब ५६.७१ प्रतिशतले बढ्नेछ ।
तथापी यस्को आधिकारिकता भने छैन्।अघिल्ला वर्षमा पनि सरकारी कर्मचारीहरुको तलब बढने भन्ने हल्ला एक महिना अघि देखि फैलिएको भए पनि महंगीभत्ता ३ हजार रुपैयाँ मात्र बृद्धि गरिएको थियो। यस पटक तलब बृद्धि हुने राम्रै हल्लाले केहि प्रतिशत त तलब बढ्ला तर ढाड थिच्न महङ्गीलाई सम्बोधन हुने गरि तलब बढनेमा सरकारी कर्मचारीहरु विश्वस्त देखिदैनन्।
कति बढदैछ शिक्षकको तलब ?
निजामती कर्मचारीको तलब बृद्दि सँगै सरकारी संगठित संस्था र शिक्षकहरुको पनि सोही अनुमातमा तलब बृद्धि हुन्छ।आर्थिक वर्ष २०७९/८० देखि सरकारी शिक्षकहरुले खाईपाई आएको मासिक तलबमा ग्रेडबाहेक ३ हजार ६०१ रुपैयाँदेखि ७ हजार ४०७ रुपैयाँसम्म बृद्धि भएको थियो।
त्यस बेला शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको तलब १५ प्रतिशतले बृद्धि गरिएको थियो। हाल सरकारी विद्यालयका प्रथम श्रेणीका मावि शिक्षकको तलब ग्रेड बाहेक ५६ हजार ७८६ रुपैयाँ रहेको छ। माविकै द्वितीय श्रेणीका शिक्षकको ४८ हजार ७३७ र माविको तृतीय श्रेणीका शिक्षकहरुले ४३ हजार ६८९ रुपैयाँ तलब पाउने गरेका छन् ।
यसैगरी निमावि तहको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४५ हजार ८६२ रुपैयाँ, द्वितीय श्रेणीको ४३ हजार ६८९ र तृतीय श्रेणीको ३४ हजार ७३० रुपैयाँ तलब स्केल रहेको छ ।यसैगरी प्रावितर्फ प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४३ हजार ६८९ रुपैयाँ छ ।द्वितीय श्रेणीका शिक्षकको तलब ३४ हजार ७३० र तृतीय श्रेणीको तलब ३२ हजार छ।
बहिर हल्ला आए जसरी तलब बृद्धि भएमा शिक्षकहरुले पनि राम्रै राहात महशुस गर्नेछन्। शिक्षकहरुले पाउने पारिश्रमिक र सेवा सुविधा निजामती कर्मचारी सरह हुनुपर्ने माग पनि शिक्षकहरुले उठाउदै आएका छन्। यो मागको सम्वोधन यस पटकको बजेटले गर्ला नगर्ला तर केही प्रतिशत तलब बढेको अनुभुती भने शिक्षकहरुले गर्न पाउने अपेक्षा गर्न सकिन्छ।