काठमाडौँ- शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्रमा सरकारले प्रस्ताव गरेको धरौटी व्यवस्थाप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले गम्भीर असहमति जनाएको छ। इक्यानका अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले शैक्षिक परामर्श क्षेत्रलाई व्यापारिक कारोबारसँग तुलना गरेर धरौटीको व्यवस्था गर्न खोजिनु अनुचित भएको बताएका छन्।
EduSawal सँगको विशेष कुराकानीमा अध्यक्ष पौडेलले कन्सल्टेन्सीहरू विशुद्ध रूपमा परामर्श सेवा दिने संस्था भएकाले विद्यार्थीको शैक्षिक शुल्कसँग प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पारे। ´विद्यार्थीको शुल्क सिधै सम्बन्धित विश्वविद्यालय वा कलेजमा बैंकिङ प्रणालीमार्फत जाने भएकाले कन्सल्टेन्सीले आर्थिक दायित्व वहन गर्ने अवस्था नै हुँदैन,` उनले भने।
उनका अनुसार शिक्षा मन्त्रालयले लामो समयदेखि नयाँ कन्सल्टेन्सी दर्ता प्रक्रिया रोकेर राखेको अवस्थामा व्यवसाय सञ्चालन गरिरहेका संस्थामाथि अचानक धरपकड र कारबाही गर्नु न्यायोचित हुन सक्दैन। “पहिले दर्ता र अनुमति प्रक्रियालाई व्यवस्थित गरिनुपर्छ, त्यसपछि मात्रै नियमनको कुरा आउँछ,” उनले बताए।
धरौटीको व्यवस्था ल्याउनुअघि सरोकारवालासँग कुनै औपचारिक छलफल नगरिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। “यत्रो ठूलो उद्योगका व्यवसायीलाई छलफलमै नबोलाई नियम बनाउनु उपयुक्त हुँदैन,” उनले भने।
अध्यक्ष पौडेलले गलत काम गर्ने संस्थालाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा इक्यान स्पष्ट रहेको पनि बताए। “गल्ती गर्नेलाई कारबाही हुनुपर्छ, तर सबै व्यवसायीलाई एउटै दृष्टिकोणले हेर्नु उचित हुँदैन,” उनको भनाइ छ।
देशभर सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूको यकिन तथ्यांक सरकारी निकायसँग समेत नभएको दाबी गर्दै उनले नियमनभन्दा पहिले तथ्यांक व्यवस्थापन र स्पष्ट नीति आवश्यक रहेको बताए।
विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउने मात्र नभई नेपाललाई पनि अन्तर्राष्ट्रिय अध्ययन गन्तव्य (स्टडी डेस्टिनेसन) बनाउन इक्यानले पहल गरिरहेको उनको भनाइ छ। यसका लागि निकट भविष्यमा अन्तर्राष्ट्रिय विश्वविद्यालय र नेपाली शैक्षिक संस्थालाई एउटै मञ्चमा ल्याउने गरी ‘ग्लोबल एजुकेशन समिट’ आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
सरकारले ल्याउने नयाँ नियमावली विद्यार्थी, सेवाग्राही र शैक्षिक परामर्श क्षेत्र सबैको हितमा आउने विश्वास व्यक्त गर्दै अध्यक्ष पौडेलले सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीति निर्माण गर्न आग्रह गरेका छन्।