काठमाडौं - नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सञ्चालन गरेको ६९औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६६ दशमलव ९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको परीक्षामा दुई हजार २६३ जना सहभागी भएकामध्ये एक हजार ५१५ जना उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको नतिजा उल्लेखनीय देखिएको छ भने विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी असफल भएका छन्।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ जनामध्ये ९६३ जना अर्थात् ७६.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका विद्यार्थीको नतिजा भने अपेक्षाकृत कमजोर देखिएको छ। चीनबाट एमबीबीएस अध्ययन गरी आएका १३३ जनामध्ये २० जना (१५.०४ प्रतिशत) मात्र सफल भएका छन्।
बङ्गलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना (४१.१४ प्रतिशत) उत्तीर्ण भएका छन् भने भारतबाट अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण दर ४२.३१ प्रतिशत रहेको छ। फिलिपिन्सबाट अध्ययन गरेका परीक्षार्थीमध्ये २८.५७ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्।
यसैगरी इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी आएका परीक्षार्थीमध्ये यसपटक एक जना पनि उत्तीर्ण हुन सकेनन्।बीडीएसतर्फ पनि स्वदेशी कलेजका विद्यार्थीको नतिजा उत्कृष्ट देखिएको छ। नेपालका कलेजबाट सहभागी ४०० जनामध्ये ३४३ जना अर्थात् ८५.७५ प्रतिशत उत्तीर्ण भएका छन्।
भारतबाट बीडीएस अध्ययन गरी आएका १७ जनामध्ये एक जना मात्रै सफल भएका छन्।कलेजगत नतिजामा एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३.१० प्रतिशत उत्तीर्ण दरसहित पहिलो स्थानमा रहेको छ। त्यसपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९२.२१ प्रतिशत र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ९१.६७ प्रतिशत विद्यार्थी सफल भएका छन्।
बीडीएसतर्फ भने गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विदेशबाट अध्ययन गरी आएका विद्यार्थीको नतिजा कमजोर हुनुमा भाषागत कठिनाइ, पाठ्यक्रमको भिन्नता तथा अध्ययन प्रणालीमा रहेको अन्तर मुख्य कारण रहेको डा. पाण्डेले बताए। उनका अनुसार विदेशी विश्वविद्यालयको पाठ्यक्रम र नेपालमा प्रचलित चिकित्सा अभ्यासबीचको फरकले पनि लाइसेन्स परीक्षाको नतिजामा प्रभाव पारेको छ।