काठमाडौँ - शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले निर्वाचन तथा सामाजिक–राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ।
एनसिई नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आसन्न निर्वाचन तथा विभिन्न सामाजिक–राजनीतिक गतिविधिको सन्दर्भमा १८ वर्षमुनिका बालबालिका (विशेषगरी Gen-Z उमेर समूहअन्तर्गत पर्ने) लाई कुनै पनि बहानामा निर्वाचन वा राजनीतिक गतिविधिमा संलग्न नगराउन अपिल गरिएको हो।
विज्ञप्तिमा नेपाल बालबालिका सम्बन्धी ऐन २०७५, निर्वाचन आचारसंहिता २०७९ तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय कार्ययोजना तथा कार्यान्वयन निर्देशिका २०६८ अनुसार बालबालिकालाई दलीय, राजनीतिक, हिंसात्मक वा निर्वाचनसम्बन्धी गतिविधिमा संलग्न गराउनु कानुनी रूपमा निषेध गरिएको स्मरण गराइएको छ।
एनसिई नेपालका अनुसार बालबालिकालाई प्रत्यक्ष रूपमा (जुलुस, सभा, र्याली, आन्दोलन, प्रचारप्रसार), अप्रत्यक्ष वा प्रतीकात्मक रूपमा (झण्डा, नारा, फोटो, भिडियो, सन्देश), मौखिक, दृश्य वा डिजिटल माध्यमबाट तथा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म वा अन्य सञ्चार माध्यममार्फत कुनै पनि व्यक्ति, संस्था वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रयोग गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत हो।
यस्ता गतिविधिले बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र विकासमा गम्भीर नकारात्मक असर पार्ने विज्ञप्तिमा उल्लेख छ। विद्यालय जाने उमेरका बालबालिकालाई आन्दोलन वा निर्वाचनको वातावरणमा तान्नु बालअधिकारको उल्लङ्घन मात्र नभई गैरजिम्मेवार व्यवहार भएको एनसिई नेपालले जनाएको छ।
संस्थाले अभिभावक, शिक्षक, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय तथा सम्पूर्ण सरोकारवालालाई बालबालिकाको संरक्षण गर्न र उनीहरूको अधिकारको सम्मान गर्दै जिम्मेवारीपूर्ण व्यवहार अपनाउन आग्रह गरेको छ।
एनसिई नेपालले स्पष्ट रूपमा भनेको छ, “बालबालिका कुनै आन्दोलन वा निर्वाचनका साधन होइनन्। उनीहरू सुरक्षित बाल्यकाल र गुणस्तरीय शिक्षाका हकदार हुन्।”
