काठमाडौँ- अटिजमसम्बन्धी चेतनालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यसहित तीनदिने ‘विशेष शिक्षा तालिम तथा सेमिनार’ सोमबार सम्पन्न भएको छ। कार्यक्रम नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र भारतस्थित स्कोप अफ होप फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको हो।
सेमिनारमा अटिजमलाई एक विकासात्मक अवस्था (डिभेलपमेन्टल कन्डिसन) का रूपमा व्याख्या गरिएको थियो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ। अटिजम भएका व्यक्तिहरूमा प्रायः सामाजिक सञ्चारमा कठिनाइ, आँखाको सम्पर्क कम हुनु, सामाजिक संकेत नबुझ्नु, सम्बन्ध विस्तारमा समस्या हुनुजस्ता लक्षण देखिन्छन्। साथै, दोहोरिने व्यवहार, नियमप्रतिको कडाइ, विशेष विषयप्रति अत्यधिक रुचि तथा संवेदनशीलता पनि देखिन सक्छ।
कार्यक्रमका प्रशिक्षक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहका अनुसार अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ, किनभने प्रत्येक व्यक्तिमा यसको लक्षण र आवश्यकताहरू फरक–फरक हुन्छन्। केहीलाई उच्च स्तरको सहयोग आवश्यक पर्न सक्छ भने केही व्यक्तिले सामान्य सहयोगमै स्वतन्त्र जीवनयापन गर्न सक्छन्।
उनले अटिजमको कुनै एक निश्चित कारण नभएको उल्लेख गर्दै वंशाणुगत प्रभाव र मस्तिष्क विकाससँग सम्बन्धित भिन्नतालाई प्रमुख कारणका रूपमा लिइने बताउनुभयो। अटिजमका प्रारम्भिक संकेतहरू सामान्यतया ६ देखि १२ महिनामा देखिन सुरु हुने र १८ देखि २४ महिनाको अवधिमा विश्वसनीय पहिचान गर्न सकिने उनको भनाइ छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा यो दर अझ बढी रहेको तथ्यांक छ।
प्रशिक्षक शाहले अटिजमलाई निको पार्नुपर्ने रोगका रूपमा नभई मानव विविधताको एक भागका रूपमा बुझ्नुपर्ने धारणा राखे। उनका अनुसार सामाजिक अवरोध हटाई समावेशी वातावरण निर्माण गर्न सके अटिजम भएका व्यक्तिहरूलाई सहज जीवनयापनमा सहयोग पुग्छ।
तालिममा व्यवहार थेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य व्यवहारिक र शैक्षिक सहयोगमार्फत अटिजम भएका व्यक्तिको जीवनस्तर सुधार गर्न सकिने विषयमा पनि जोड दिइएको थियो। पछिल्लो समय दया र परोपकारमा आधारित सहयोगभन्दा अधिकारमा आधारित समर्थन आवश्यक रहेको विषयले विश्वव्यापी रूपमा प्राथमिकता पाउँदै गएको पनि कार्यक्रममा उल्लेख गरियो।
शैक्षिक क्षेत्रमा अटिजम भएका विद्यार्थीलाई छुट्टै राख्ने भन्दा न्यून अवरोधयुक्त वातावरणमा समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। अटिजमलाई समस्या होइन, ‘न्यूरो–विविधता’ का रूपमा हेर्ने दृष्टिकोण विस्तार हुँदै गएको पनि कार्यक्रममा औंल्याइएको थियो।
समापन कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, समाजसेवी तथा विश्लेषक प्रकाश रायमाझी, प्रा. डा. प्रेमकुमार खत्री, सहप्राध्यापक अस्वत्थामाभक्त खरेल, प्राध्यापक कृष्ण आचार्य, डा. राजेन्द्र खत्री, डा. बिनिता सिंह, अटिजम विशेषज्ञ भगवती भट्टराई तथा बैंकर हरि आचार्यलगायतले अटिजमबारे व्यापक जनचेतना आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका मुख्य प्रशिक्षक भारतको मुम्बईबाट आएका विशेष शिक्षक तथा स्कोप अफ होप फाउन्डेसनका संस्थापक विपिन मौर्य थिए। साथै, बहुविषयगत अनुसन्धानकर्ता शाहले साइकोलोजी, समावेशी तथा विशेष शिक्षा र राजनीतिक विज्ञानका क्षेत्रसँग सम्बन्धित विषयहरूमा प्रशिक्षण प्रदान गरे।