काठमाडाैँ - जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षा ऐन, २०७५ (पहिलो संशोधन), २०८३ राजपत्रमा प्रकाशित गर्दै स्थानीय शिक्षा व्यवस्थापनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण व्यवस्था संशोधन गरेको छ। नगरसभाबाट पारित संशोधित ऐन कार्यान्वयनसँगै स्थानीय पाठ्यक्रम विकासदेखि शिक्षकहरूको मर्यादाक्रमसम्म नयाँ व्यवस्था लागू गरेकाे हाे ।
संशोधित ऐनअनुसार अब उपमहानगरपालिकामा स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास एवं परिमार्जन केन्द्र स्थापना गरिनेछ। उक्त केन्द्रले स्थानीय आवश्यकता र परिवेशअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास, परिमार्जन र व्यवस्थापन गर्नेछ।
केन्द्रको संयोजक शिक्षा महाशाखा प्रमुख वा उपसचिव तहको कर्मचारी रहनेछन्। समितिमा सामुदायिक विद्यालयका माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका विषय शिक्षकबाट नगर प्रमुखले मनोनयन गरेका तीन जना सदस्य तथा शिक्षा शाखा प्रमुख वा शिक्षा अधिकृत सदस्य–सचिव रहने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार समितिले अन्य विज्ञलाई पनि आमन्त्रण गर्न सक्नेछ।
त्यस्तै, संशोधित ऐनले उपमहानगरपालिकाभित्र कार्यरत शिक्षकहरूको मर्यादाक्रम समेत निर्धारण गरेको छ। ऐनअनुसार माध्यमिक प्रथम श्रेणी शिक्षकलाई नेपाल सरकारकाे सह-सचिव वा सो सरहको, माध्यमिक द्वितीय श्रेणी शिक्षकलाई उप-सचिव वा सो सरहको तथा माध्यमिक तृतीय श्रेणी शिक्षकलाई शाखा अधिकृत वा सो सरहको मर्यादाक्रम प्रदान गरिएको छ।
यसैगरी, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकहरूको मर्यादाक्रम सम्बन्धित सरकारी तहका समान स्तरका कर्मचारीसरह रहने व्यवस्था गरिएको छ भने प्रधानाध्यापकहरूको मर्यादाक्रम उनीहरू रहेको तह र श्रेणीअनुसार कायम हुने उल्लेख गरिएको छ। संशोधित ऐनमा उपमहानगरपालिकाभित्र आयोजना हुने औपचारिक सभा, समारोह तथा सार्वजनिक कार्यक्रममा शिक्षकहरूको आसन व्यवस्था र उपस्थिति पनि यही मर्यादाक्रमअनुसार हुने व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले शिक्षा ऐन संशोधनमार्फत स्थानीय पाठ्यक्रम विकासलाई संस्थागत गर्नुका साथै शिक्षकहरूको पेशागत सम्मान, जिम्मेवारी र औपचारिक हैसियतलाई थप स्पष्ट र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।

