काठमाडौँ - नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयहरुले विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेका छन्। शैक्षिक सत्र सुरु हुनुभन्दा करिब एक महिना अगाडिदेखि नै भर्ना सम्बन्धी प्रारम्भिक गतिविधिहरू सञ्चालन गर्ने गरेका निजी विद्यालयलाई सरकारले नतिजा अघि विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।
विद्यालयले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिने, विद्यालय अवलोकन गराउने, कक्षा कोठा, ल्याब, लाइब्रेरी र पाठ्यक्रमबारे जानकारी दिने जस्ता गतिविधिहरू गर्दे आएका छन्।
नयाँ शैक्षिकसत्र सुरुभए सँगै निजी विद्यालयहरुको भर्ना प्रक्रिया, विद्यालय शिक्षाको गुणस्तर बढाउन निजी विद्यालयको भूमिका लगायतका विषयमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी सँग गरिएको कुराकानी :
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, निजी विद्यालयहरुले के - कस्तो तयारी गरिरहेका छन्?
विद्यालयले परीक्षा सञ्चालन गर्ने र नतिजा निकाल्ने काम गरिरहेका छन्। हामीले प्याब्सन अन्र्तगतका विद्यालयहरुलाई परीक्षा सकेर मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन भनेका छौँ।
हामीले विद्यार्थी र अभिभावकलाई उपयुक्त पाठयक्रमहरुको छनोट गर्न, कक्षाकोठा देखि अभिभावकहरुलाई सहि ढँगवाट परामर्श प्रदान गर्न पत्राचार गरेका छौँ। त्यससँगै एक वर्ष भरिको वार्षिक कार्यक्रम बनाउने, शिक्षकहरुलाई तालिम प्रदान गर्ने, पाठयक्रमको तयारी र सशक्तिकरण गर्ने सन्दर्भमा हामीले निजी विद्यालयहरुलाई जोड दिएका छौँ।
कतिपय निजी विद्यालयहरुले त एक महिना अघि देखि नै भर्ना प्रक्रिया अघि बढाएका छन् नि ?
विद्यालयहरूले आफ्ना विद्यालयका बारेमा अभिभावक र विद्यार्थीलाई जानकारी दिनु स्वभाविक हो। अभिभावक र विद्यार्थीलाई विद्यालय छनोटको अवसर दिनुपर्छ। त्यस्तै अभिभावकलाई सन्तुष्ट पार्दै विद्यार्थी भर्ना गर्ने प्रणालीको हिस्साका रुपमा पनि यो समयलाई हामीले लिएका छौँ।
बैशाख १५ गते पछि अधिकांश निजी विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सञ्चालनमा आइसक्ने भएकाले छोटो समयमा भर्ना, पोशाक र पाठ्यपुस्तक व्यवस्थापन सम्भव नहुने अवस्था रहने भएका कारण पनि भर्नाको प्रक्रिया निजी विद्यालयहरुले सुरुगर्दा त्यसको प्रभाव सकारात्मकै हुने अपेक्षा हामीले गरेका छौँ।
नेपालको शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान कस्तो छ?
हाल नेपालका ३४प्रतिशत बालवालिकाहरु निजी विद्यालयमा अध्ययन गर्ने गरेका छन्। संख्याको हिसाबमा पनि यो धेरै हो। निजी विद्यालयहरुले दिँदै आएको गुणस्तरीय शिक्षाका कारण पनि आर्कषण बढेको हो। यस सन्र्दभमा निजी विद्यालयहरुको सबैभन्दा राम्रो पक्ष भनेको प्रशस्त तयारी हो।
विद्यार्थीलाई कक्षा कोठामा राखेर शिक्षकलाई उब्याउँदैमा मात्र सिकाई प्रक्रिया पुरा हुँदैन। पाठयपुस्तकका प्रत्येक पाठ पाठलाई केलाएर त्यसै अनुसारको सिकाइको स्वरुपमा शिक्षकहरुलाई तालिम दिने र वर्षभरीको कार्ययोजना बनाउने कार्य हामीले गर्दै आएका छौँ।
शिक्षालाई सीप र संस्कारसँग जोडने प्रयास हामीहरूले गर्दै आएका छौँ। त्यस्तै कक्षा कोठाको वातावरणलाई कसरी राम्रो र सिकाइमुखि बनाउने भन्ने सन्दर्भमा निजी विद्यालयहरुले आफ्नो क्षमता अनुसारका प्रयास गरिनै रहेका छन्।
पाठयक्रम बिकास केन्द्रको एउटा पुस्तकले मात्र, एउटा पानाले मात्र विद्यार्थीको जिन्दगी बन्दैन, यस भित्र अरु विषयहरुलाई पनि कसरी सिकाउन सकिन्छ? पुस्तकालय र ल्याबको माध्यमबाट जिवन जगतलाई आवश्यक पर्ने शिक्षा कसरी दिन सकिन्छ भनेर निजी विद्यालय लागि परेका कारण नै निजी विद्यालयमा अभिभावक र विद्यार्थीको विश्वास कायम छ।
सार्वजनिक तथा सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ भन्ने दाबी यहाँको हो?
अवश्य पनि निजी विद्यालयहरूले सरकारी पाठ्यक्रम पूर्ण रूपमा लागू गरिरहेको र त्यसमा आधुनिक आवश्यकताअनुसार अतिरिक्त सामग्री पनि समावेश गरि निजी विद्यालयहरुले अध्यापन गराइरहेका छन्।
अहिलेका विद्यार्थी प्रविधिमैत्री छन्, त्यसैले पाठ्यक्रम पनि समययानुकुल परिमार्जन हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। निजी विद्यालयहरूले प्रविधिमैत्री शिक्षा प्रणाली अवलम्बन गर्दै कोडिङ, एप विकास, रोबोटिक्स जस्ता विषयमा पनि लगानी बढाएका छन् यस मार्फत विद्यार्थीको सिकाई र बुझाईको स्तर निकै माथी पुगेको छ।
विद्यार्थी संख्या मात्रै ठूलो हुनु गुणस्तरको मापन हुन सक्दैन। ‘एउटै कक्षामा ७५ जना विद्यार्थी राखेर गुणस्तरीय शिक्षा सम्भव हुँदैन,’ निजी विद्यालयहरुले कक्षा कोठालाई पनि सिकाई अनुकुल हुने गरि विकास गरेका छन्।
तर, शिक्षा महँगो भयो भन्ने गुनासो सुनिन्छ नि? अभिभावकले आफ्ना वालवालिकालाई पढाइमा धेरै खर्च गर्नुपर्ने अवस्था छ नि?
विद्यालयमा उपलब्ध सेवा र सुविधा अनुसार शुल्क पनि फरक हुने गर्छ। एउटा विद्यालय संचालन गर्नु सामान्य विषय होइन यसका लागि धेरै लगानी र खर्च समेत रहेको छ, अभिभावकहरुको दबाब पनि झेल्नु परिरहेको छ।
एउटा सानो विद्यालयले सामान्य शुल्कमै विदेशवाट रोवोटिक्स जस्ता धेरै शुल्क तिरेर कोर्शहरु ल्याएको पाइएको छ। अहिलेको आवश्यकता अनुसार विद्यार्थीलाई सिकाउन पनि निजी विद्यालयहरुले लगानी राम्रै गर्नुपरिरहेको अवस्थामा अभिभावकहरुको यसमा लगानी भन्दा महत्वपूर्ण सिकाइ भएको छ। अभिभावकहरुको सन्तुष्टिलाई पनि निजी विद्यालयहरुले प्राथामिकता दिएका छन्।
भौतिक शैक्षिक पूर्वाधार हुँदैमा विद्यालयको गुणस्तरको छ भनी मान्न सकिन्छ र?
आज भन्दा ३० वर्ष अघि हेर्ने हो भने ३० प्रतिशत नेपाली विद्यार्थी स्कुल पढ्नकै लागि भारत लगायतका देश जाने प्रवृति रहेको थियो। सम्पन्न परिवारले आफ्ना वालवालिका भारतको दार्जलिङमा लैजाने गर्थे तर यो संख्या अहिले जम्मा १देखि २ प्रतिशतमा सिमित भएको छ।
नेपालमै विदेशीहरुले संचालन गरेका विद्यालयमा विदेशी कुटनीतिक नियोगका छोराछोरी मात्र होइन नेपाली अभिभावकले डलरमा शुल्क तिरेर समेत आफ्ना वालवालिकाहरुलाई पढाएका छन्। सुविधा सम्पन्न विद्यालयहरु यहाँ नभएको भए ती विद्यार्थीहरु विदेशमै पढ्न जाने थिए।
त्यसैले ठूलो रकम विदेश जान पनि निजी विद्यालयहरुले रोकेको अवस्था छ। अर्को तर्फ साना र मझौला प्रकारका विद्यालयहरु दुःख गरेर भोलीको भविष्य हेर्दै बसेका पनि छन्। सरकारले निजी विद्यालयका शिक्षकलाई पनि तालिम दिन्छ कि भनी उनीहरू बसेका छन्।
त्यसैले विद्यालयका भवनहरु मात्र ठूलो कुरा होइन। निजी विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा दिँदै आएका छन्। त्यसमा पनि निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै समेत आएका छन्।
नयाँ शैक्षिक सत्रसुरु हुँदै गर्दा अभिभावकहरुले राम्रो विद्यालय भनि कसरी चिन्ने ? आफ्ना बालबालिकालाई कस्तो विद्यालयमा भर्ना गर्ने?
गुणस्तरीय शिक्षा आज सबैको आवश्यकता हो। अभिभावकको चाहाना आफ्ना बालबालिकालाई राम्रो विद्यालयमा बालबालिका पढुन् भन्ने चाहाना स्वभाविकै हो।
अभिभावकले बुभ्नु पर्ने कुरा भनेको भवन ठूलो र चिटिक्क भएर मात्र राम्रो विद्यालय हुने भन्ने होइन। जुन विद्यालयले शिक्षालाई सीपसँग जोड्न खोजेको छ त्यस्ता विद्यालय आजको आवश्यकता हो।
सँगै दक्ष र अनुभवी शिक्षकहरु विद्यालयमा कति छन्, कस्तो सिकाइ पद्धति अवलम्वन गरिएको छ, विद्यार्थीहरुको कक्षाकोठा, सरसफाई, नर्स आदिको व्यवस्था कस्तो छ, सबै बुझेर मात्र आफ्ना वालवालिकहरुलाई भर्ना गर्न राम्रो हुने सल्लाह म अभिभावकहरुलाई दिन चाहान्छु।