काठमाडाैँ- ज्ञानोदय माध्यामिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा रहेको छ। काठमाडौँको बाफलमा रहेको यस विद्यालयले एसईईको परीक्षामा निरन्तर उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ। गुणस्तरीय शिक्षा, ज्ञानोदयको पछिल्लो अवस्था, विद्यालय शिक्षा लगायतका विषयमा विद्यालयका प्रधानध्यापक विष्णु घिमिरे रिमालसँग गरिएको कुराकानी :
ज्ञानोदयमा निरन्तर विद्यार्थीहरुको आर्कषण बढ्नुको कारण के देख्नुहुन्छ?
सामुदायिक विद्यालयहरु बिस्तारै अब्बल हुने बाटोमा अघि बढदै गएका छन्। स्थानीय सरकरको अधिकार क्षेत्रमा विद्यालय शिक्षा आएसँगै स्थानीय तह जिम्मेवार भएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिइरहनु भएको छ। हाम्रो विद्यालयकै कुरा गर्ने हो भने विद्यालयमा भर्ना हुन विद्यार्थीहरुको चाप थामिनसक्नु रहेको छ।
हरेक शैक्षिकसत्रमा भर्नाका लागि आवेदन दिनेको संख्या बढदै आएको छ। सबै विद्यार्थीले भर्ना नपाउने अवस्था छ। सामुदायिक विद्यालयहरुले विद्यार्थी र अभिभावकको विश्वास जित्दै गरेको उदाहरण पनि हो। ज्ञानोदय विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र तीनै तहको सरकारको सामुहिक प्रयासबाट स्थापित हुन सफल विद्यालय हो। यहाँको शिक्षक कर्मचारीको मेहनत नतिजाले पनि देखाएको छ। यस वर्षको एसईई परीक्षाको नतिजामा २१ जना विद्यार्थी ४ जीपीए ल्याउन सफल भएका छन्।
ज्ञानोदयमा शिक्षक–विद्यार्थी अनुपात कस्तो छ ?
ज्ञानोदयमा स्थायी दरबन्दीका शिक्षक ६६ जना हुनुहुन्छ। केही राहत कोटामा कार्यरत हुनुहुन्छ। शिक्षकहरु निजी स्रोतमा पनि कार्यरत हुनुहुन्छ। पार्टटाइम शिक्षक पनि नियुक्त गरेका छौँ। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म गरेर हामी कर्मचारीसहित १६७ जना कार्यरत छौँ। निजी स्रोतका शिक्षक कर्मचारीका लागि मात्रै होइन, विद्यालयको आन्तरिक व्यवस्थापनका लागि पनि अभिभावकसँग शुल्क लिनैपर्ने बाध्यता छ।
सरकारले बालकक्षा (ईसीडी)लाई दुईवटा दरबन्दी दिएको छ। नौवटा त कक्षा चलाउँछौँ। हामीले पूर्वप्राथमिक तह १२ जनाको टिमबाट चलाइरहेका छौँ। ३०–३५ जना विद्यार्थी एउटा कक्षामा राख्छौँ। विद्यालयले उहाँहरूलाई वर्षको एकपल्ट तालिम दिन्छ। अभिभावकसहितको प्याकेज राखेर पनि ईसीडी शिक्षकलाई तालिम दिने गरेका छौँ। अभिभावकको थोरै सहयोगबाट त्यसलाई व्यवस्थापन गछौँ। माथिल्लो तहमा पनि पर्याप्त शिक्षक छैनन्। निजी स्रोतका शिक्षक र कर्मचारीलाई राज्यले तलब दिँदैन। उहाँहरूलाई विद्यालयले नै तलब दिनुपर्छ।
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सरकरको भूमिका कस्तो हुनुपर्छ?
अब सरकारले गर्नुपर्ने विषयमा भन्ने हो भने एकै प्रकारको नीति आवश्यक छ। अहिले तीन तहको सरकार छ, तीनका फरक – फरक नीति छ। जसका कारण समन्वयको कार्य प्रभावकारी हुन सकेको छैन। स्थानीयतह मातहत विद्यालय शिक्षा भए पनि सबै काम स्थानीय तहले गर्न सक्ने अवस्था छैन। तर, स्थानीय तहले विद्यालय शिक्षाको सबै अधिकार पाउन सकेका छैनन्। स्थानीय तहले विद्यालयको भौतिक संरचना हेर्ने र विद्यालयले विद्यार्थी मात्र हेर्नुपर्ने अवस्था आएमा गुणस्तरमा सुधार आउने छ। अहिले निर्माण, भौतिक संरचना प्रदेश सरकारले पनि हेरिरहेको छ। त्यसैले तीनै तहका सरकारको एकीकृत नीति बन्न सके सामुदायिक विद्यालयको गुणस्तर सुधारसँगै नतिजा पनि राम्रो आउने देखिन्छ।
अहिले सामुदायिक विद्यालयसामु के – कस्ता चुनौती छन्?
सामुदायिक विद्यालयका सामु धेरै चुनौतीहरु छन्। भौतिक संरचनाहरुको अभाव बढ्दै गएको छ। भौतिक संरचना र शिक्षक दरवन्दी बढाउने वित्तिकै बढि संख्यामा विद्यार्थीलाई अध्ययन गर्न सक्ने अवस्था हुन्छ। विद्यार्थी संख्याका आधारमा भौतिक संरचना पर्याप्त छैन। हाम्रै सन्दर्भमा पनि काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे र शिक्षामा सीप कार्यक्रम लागू गरेको छ। त्यसका लागि कक्षाकोठा पु¥याउन हामीलाई अत्यन्त गाह्रो परेको छ। त्यसैगरि ‘फोकल’ शिक्षक व्यवस्थापन गर्न सकेका छैनौँ। नजिकै खोला छ। विद्यालयमा बाढी पसेर दुःख दिन्छ। विद्यार्थी संख्याअनुसार फर्निचर लगायतका शैक्षिक सामाग्रीहरु छैन। विद्यार्थीको चापका कारण शिक्षकले राम्रोसँग उभिएर पढाउन पनि सक्नुहुन्न। विद्यालयका यस्ता चुनौती सामना गर्न शिक्षक–कर्मचारी र विद्यालयबाट मात्र सम्भव देखिदैन। स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार र शिक्षाप्रति सचेत सबैको दायित्व पनि हो।
एउटा विद्यालयलाई राम्रो बनाउन प्रधानध्यापकको भूमिका कस्तो हुनुपर्छ ?
विद्यालय सुधार अथवा विद्यालयलाई राम्रो बनाउने भनेको समुहगत कार्यबाट हो। गेटमा बस्ने व्यक्तिदेखि प्रधानध्यापकसम्मको सफल सामुहिक कार्य मार्फत नै विद्यालय राम्रो हुने हो। प्रधानाध्यापक एउटा अंग मात्र हो। अन्य अंगहरुको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। प्रअले गलत गरेका सह प्रअ र अन्य शिक्षकहरुले पनि देखाइदिनु पर्छ। व्यक्तिले आफूलाई ठूलो नठानी समुहगत कार्य गर्न सकेमा कुनै पनि कार्य सफल हुने भएकाले अवलोकन निरिक्षण र स्प्रष्टिकरणलाई प्रधानध्यापकले बलियो बनाउन सके उसको भूमिका प्रभावकारी हुने रहेछ।
एसईई उत्तीर्ण भएका विद्यार्थीहरुले विद्यालय परिवर्तन गर्न जरुरी छ कि छैन?
सबै विद्यालयमा एउटै पाठ्यक्रम हुने भएकाले आफू पढेकै विद्यालयमा कक्षा ११ र १२ पढदा उपयुक्त हुन्छ। तर, उमेरले पनि अब ११ पढ्न अर्को विद्यालय जान्छु भन्ने भावना विद्यार्थीमा आउनु स्वभाविकै हो। त्यसका अलवा पनि आफूले पढ्न चाहेको विषयहरु विद्यालयमा छ कि छैन, प्रयोगशालाहरुको व्यवस्था कस्तो छ भन्ने विषयलाई पनि ख्याल गर्न जरुरी छ। हाम्रो विद्यालयको सन्दर्भमा प्रयोगशालादेखि कक्षा कोठासँगै विषयगत शिक्षकहरुको दक्षताका कारण पनि ज्ञानोदयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु उही विषय पढ्नका लागि अर्को विद्यालय जानुपर्ने अवस्था छैन।
अभिभावक र विद्यार्थीले राम्रो विद्यालयको छनोट कसरी गर्ने?
अहिलेको सन्दर्भमा राम्रो विद्यालय भनेको सुरुमै देखिने विद्यालयको भौतिक संरचना हो। विद्यार्थी विद्यालय आएर सुरक्षित रुपमा घर फर्कने वातावरण महत्वपुर्ण हुन्छ। विद्यालयका कक्षा कोठा, प्रयोगशाला, शिक्षक कर्मचारीका व्यवहार आदि पनि महत्वपूर्ण हुन्छ। विद्यालयले विद्यार्थीलाई गर्ने हेरचाह पनि निकै महत्वपूर्ण हुन्छ। यिसँगै सबैभन्दा महत्वपूर्ण विषय भनेको नतिजा हो। हामीले जे गरे पनि विद्यार्थीको नतिजा राम्रो आएन भने अभिावकहरुले पनि विश्वास गर्ने वातावरण बन्न सक्दैन। त्यसैले कुन विद्यालयले कस्तो नतिजा ल्याएको छ। विद्यालय छनोटका मुख्य आधार भनेको नतिजा नै हो।