काठमाडाैँ- सरकारले शिक्षा क्षेत्र सुधार गर्न पहल गरिरहेको छ। माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा पहिलो पटक परीक्षा सकिएको एक महिनामा सार्वजनिक भएको छ। नेपालको शिक्षा प्रणालीमा परिवर्तनको माग आइरहेको सन्दर्भमा सरकारले केही प्रयास अघि बढाएको छ। नेपालको शिक्षा, सुधारको प्रयास र आवश्यकताका सन्र्दभमा शिक्षाविद् एंव ललितपुर कुमारीपाटीमा अवस्थित युनाइटेड एकेडिमीका प्रिन्सिपल डा.लाल राप्चासँग गरिएको कुराकानीको अंशः
नेपालको शिक्षा क्षेत्रको सुधारका लागि सरकारले गरेका प्रयासहरुलाई यहाँले कसरी हेर्नुभएको छ?
निर्वाचन मार्फत बनेको बलियो सरकारले शिक्षाका क्षेत्रमा सकारात्मक कामहरु अघि बढाउँदै लगेको छ। शिक्षकहरु सिकाइका वाहक हुन्, उनीहरु कुनै पार्टी विशेषको हुन सक्दैनन्। उसले राजनीतिको झोला बोक्ने होइन। शिक्षकलाई राजनीतिबाट अलग गराउने सन्र्दभमा सरकारको प्रयासलाई मैले सकारात्मक कामको रुपमा लिएको छु। विश्वविद्यालयमा पनि सरकारले जुन खालको सफाई अभियान चलाएको छ यसले निश्चय पनि आगामी दिनमा हाम्रो विश्वविद्यालय शिक्षालाई सकारात्मक बाटोमा लैजाने मैले अपेक्षा गरेको छु।
शिक्षा प्रणालीमै सुधार गर्नुपर्ने आवाजहरु पनि आउने गरेको छ, सुधारको आवश्यकता के मा देखिन्छ?
नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तनको सन्दर्भ विगत देखिनै आइरहेकोे छ। नेपालको शिक्षालाई फिनल्यान्ड मोडलमा लैजानु पर्छ भन्ने विषय हामीले सरकारका विभिन्न पदाधिकारीहरुबाट सुनेका पनि छौँ। यो भनेको निशुल्क शिक्षाको अवधारणा हो। सरकारले मुलुकको शिक्षा प्रणाली सुधारका लागि जुन तत्परता देखाएको छ, यस बाट शिक्षा क्षेत्रमा केहि परिवर्तन हुने संकेत देखिएको छ। एक कोणबाट हेर्दा पछिल्ला सुधारका प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ। अव कुरा रह्यो हाम्रो शिक्षा प्रणाली कस्तो र कुन मोडालिटीमा लैजाने भन्ने सवाल छ, यसमा प्रशस्तै गृहकार्य गर्न जरुरी छ।
विकसित र विकासशिल देश अनुसार शिक्षाको मोडल फरक–फरक हुन सक्छ। विकसित देशहरू जापानको शिक्षा प्रणलीको सन्दर्भमा हेर्ने हो भने त्यहाँ साना बालबालिकाहरुका लागि प्राथामिक विद्यालय जसलाई उतोरी पनि भनिन्छ। जसमा बालबालिकाहरुलाई कुनै परीक्षा लिइदैन। उनीहरुलाई सीपसँग जोडने प्रयास गरिन्छ। कसरी खाना पकाउने, सरसफाई कसरी गर्ने? भन्ने अनिवार्य रुपमा सिकाएको पाइन्छ। त्यहाँ प्राथामिक विद्यालयहरुमा पढ्ने बालबालिकाहरुलाई आफनो काम आँफै गर्न लगाइन्छ। खाएको भाँडा धुनेदेखि आफ्नो काम आँफै गर्न उनीहरुलाई लगाइन्छ।
नेपालको सन्दर्भमा पनि अब यो बाटोमा जान लागेको देखिन्छ। सरकारले अबदेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई परीक्षा नलिने निर्णय पनि गरेको छ। यसले बालवालिकाहरूलाई परीक्षाको बोझ हटाउँछ। उनीहरुको दैनिक क्रियाकलाप आदिबाट मुल्याकंन गर्नुले शिक्षालाई सीपसँग जोड्ने आधार तय गर्न सक्छ। त्यसैगरि विकसित देश त्यसमा पनि म आफैले अध्ययन गरेको देश जर्मनीमा शिक्षा प्राथामिक अर्थात कक्षा ४ देखिनै कुन बाटोमा जाने भन्ने तय हुने गर्छ।
प्राविधिक धारमा जाने कि एकेडेमिक लाईनमा जाने उसको क्षमता हेरेर सानै देखि बाटो तय गर्ने गरिन्छ। अहिले फिनल्यान्डको कुरा आएको छ, जापान, जर्मनीको मात्र होइन हाम्रो आफ्नो मौलिकता अनुसारको शिक्षा प्रणालीको अबलम्बन गर्न जरुरी छ। विद्यार्थीलाई सीपसँग जोड्न आवश्यक छ। घोकन्ते विद्याले विद्यार्थीलाई व्यवहारिक र व्यवसायीक बनाउन सक्दैन। नेपालको शिक्षा प्रणाली सुधारका लागि यस क्षेत्रलाई राजनीतिबाट अलग गर्न जरुरी छ। यसलाई सुधार गर्न सरकारले प्रयास पनि गरेको छ। विद्यार्थीको क्षमता अनुसार उसलाई अध्ययनको बाटो देखाउन आवश्यक छ। क्षमता पत्ता लगाएर उसलाई मिल्ने शिक्षा प्रणाली लागु गर्नुपर्ने अहिलेको आवश्यकता हो।
सामुदायिक र निजी विद्यालयहरू देखिएको विभेद अन्त्यका लागि के गर्न आवश्यक देख्नुहुन्छ?
नेपालमा सामुदायिक र निजी गरि दुई क्षेत्रले शिक्षा प्रदान गर्ने कार्य गर्दै आईरहेका छन्। निजी तबरबाट नेपालको शिक्षा क्षेत्रमा २० प्रतिशत योगदान रहेको छ। बाँकी ८० प्रतिशतमा सरकारको योगदान रहेको छ। निजी शिक्षा केही महँगो भएपनि यसको गुणस्तरीयता र जवाफदेहिता अब्बल देखिएको छ। नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहदै आएको छ। निजी विद्यालयहरुले विद्यार्थीहरुमा जसरी जिम्मेवारी लिएर शिक्षा प्रदान गर्छन्, सामुदायिक विद्यालयहरुले पनि यसको अनुसरण गर्न आवश्यक छ।
सामुदायिक र निजी विद्यालयबीच देखिएको खाड्ल अन्त्यका लागि सरकारी विद्यालयहरु विद्यार्थीकेन्द्रित हुन जरुरी छ। त्यहाँ कार्यरत शिक्षक र प्रधानध्यापकहरु विद्यार्थीहरु प्रति बढि उत्तरदायी बन्दै ज्ञानसँग निरन्तर अपडेट हुन आवश्यक छ। निजी विद्यालयले विद्यार्थीहरुको नङ समेत काट्ने गरेका छन्। यसले उनीहरु विद्यार्थी प्रति कति उत्तरदायी छन भन्ने पुष्टि गर्दछ। सरकारी विद्यालयहरुलाई बढि भन्दा बढि उत्तरदायी बनाउन सकेमा सरकारी र निजी विद्यालयको विभेद बिस्तारै अन्त्य हुँदै जानेछ।
एसईई पछि अध्ययनका लागि कस्तो विद्यालयलाई राम्रो विद्यालय मान्ने?
विश्वमा विभिन्न खालका फरक – फरक विद्यालयहरु छन्। देशको आवश्यकता र परिवेश अनुसार विद्यालयको स्वरुप पनि फरक – फरक हुने गरेको छ। विकसित देशमा पनि महंगा विद्यालयहरु पनि छन्। केही देशहरुले निशुल्क पनि पढाइरहेका छन्। नेपालमा २० प्रतिशत शिक्षा निजी क्षेत्रले धानेको अवस्था छ भने बाँकी ८० प्रतिशत शिक्षा सरकारी तबर मार्फत हुदै आएको छ। त्यसैले सरकारी निजी भन्दा पनि सवैभन्दा बलियो पक्ष भनेको विद्यार्थीहरुको हेरचाह, उनीहरुलाई विद्यालयले गर्ने माया ममता हुने गरेको छ। शिक्षालाई व्यवहारिक बनाउदै विद्यार्थी, अभिभावक र विद्यालय बिचको त्रिकोणात्मक सम्वन्ध भएका विद्यालयहरुनै राम्रा विद्यालयहरु हुन्।
विद्यार्थीलाई राम्रोसँग हेर्ने संस्कार भएका विद्यालयनै विद्यार्थी र अभिभावकको छनोटमा पर्न आवश्यक छ। विद्यार्थीलाई ग्रेड मात्र महत्वपूर्ण हँुदैन, उनीहरुको व्यवहारमा पनि त्यत्तिकै ध्यान दिन जरुरी छ। विद्यार्थीहरुलाई विद्यालयले राम्रो भविष्यका लागि परामर्श प्रदान गर्नुपर्छ। संस्कार र संस्कृतिलाई समेत जिवन्त बनाउने विद्यालयहरु राम्रो विद्यालय हुन सक्छन्। बालबालिकाहरु हाम्रा भविष्य हुन भन्ने मान्यतामा विद्यालय र विश्वविद्यालय चल्नु पर्छ। शिक्षा बिग्रियो भने मुलुक बिग्रन्छ भन्ने चेतना अभिभावक, विद्यार्थी र विद्यालयहरुमा हुन सकेमा हाम्रा विद्यालय र विश्वविद्यालय राम्रो बन्नेछन्।