काठमाडौँ- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न अपिल गरेको छ। परिषद्का सूचना अधिकारी एवं अधिकृत रामबहादुर चन्दले मंगलबार जारी गरेको सूचनामार्फत बाढी प्रभावित बालबालिकाको गोपनीयता र मर्यादा कायम राख्न आग्रह गरिएको हो।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा प्रदान गरिएका दृश्यसमेत सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको छ।
परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बालबालिकाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्न भनेको छ।
पीडित तथा प्रभावित बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर, भिडियो वा अन्य श्रव्यदृश्य सामग्री पोस्ट नगर्न तथा नगराउन परिषद्ले संघसंस्था, सरोकारवाला निकाय र सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।