रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीपछि करिब ३५० बालबालिका अझै परिवार र आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। प्रारम्भिक विवरणअनुसार ५० भन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन्।
उत्तरगया गाउँपालिका–५ सहित मैलुङ, पहिरेबेसी, खाल्टे, कैदेलडाँडा, बोगटी र बेत्रावती क्षेत्र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले घर, विद्यालय तथा बस्ती बगाएपछि सयौँ परिवार विस्थापित भएका छन्।
अहिले शिवालय आधारभूत विद्यालयमा ठूलो संख्यामा बालबालिकालाई आश्रय दिइएको छ। कोही टोलाएर बसेका छन्, कोही रोइरहेका छन् भने कोही खेलिरहेका छन्। विद्यालयमा अपरिचित मानिस आएको देख्नेबित्तिकै उनीहरू झुम्मिने गरेका छन्। हराइरहेका आमा–बुबा वा आफन्त फर्किए कि भन्ने आश उनीहरूमा अझै देखिन्छ।
९ वर्षीया भुजना तामाङ कक्षा ३ मा अध्ययनरत छिन्। बाढी आउनुअघि उनी उत्तरगया–५ खाल्टेस्थित घरबाट विद्यालय जाने तयारीमा थिइन्। तर बाढी आएपछि उनको परिवारसँग सम्पर्क टुट्यो।
भुजनाका बुबा नजिकैको हाइड्रोपावरमा काम गर्थे भने आमा खेतीपाती गर्थिन्। घरमा रहेका पाँच वर्षीय भाइ र १६ वर्षीया दिदीसहित परिवारका सबै सदस्य बाढीपछि सम्पर्कविहीन छन्।
बाढी आएको दिन प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेका थिए। तर त्यसपछि आमा, भाइ र दिदीसँग उनको भेट भएको छैन।
परिवारका सदस्यलाई बाढीले बगाएको हुन सक्ने आशंका गरिए पनि भुजनाले अझै त्यो कुरा स्वीकार गर्न सकेकी छैनन्। उनी आफ्ना परिवारका सदस्य फर्किएर आउने आशामा छिन्।
१० वर्षीया अप्सरा तामाङको अवस्था पनि उस्तै छ। पैरेबेसीमा बस्ने उनी श्री मालिका देवी विद्यालयमा कक्षा ४ मा पढ्छिन्।
बाढी आएको दिन शिक्षिकाले उनलाई सुरक्षित स्थानतर्फ लगेपछि उनको ज्यान जोगियो। तर घरमा रहेका उनका बुबा, आमा, हजुरबुबा, हजुरआमा, फुपू र १५ महिनाका भाइको अवस्था अझै अज्ञात छ।
परिवारका सदस्यहरू बाढीमा परेका हुन सक्ने कुरा सुनेपछि अप्सरा भावविह्वल हुन्छिन्।
‘अहिले उहाँहरू कहाँ हुनुहुन्छ होला ?’ भन्दै उनी परिवारको खोजी गरिरहेकी छन्।
अहिले शिवालय विद्यालयमा आश्रय लिएर बसेकी अप्सराको अर्को चिन्ता छ—अब कहाँ बस्ने र आफ्नो हेरचाह कसले गर्ने?
तीन विद्यालयका संरचना ध्वस्त
बाढीले उत्तरगया क्षेत्रका विद्यालयहरूमा समेत ठूलो क्षति पुर्याएको छ। नीलकण्ठ माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, मोडर्न ट्रिनिटी र उत्तरगया बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी प्रभावित भएका छन्।
नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालका अनुसार विद्यालयका करिब २०० विद्यार्थी अझै सम्पर्कविहीन छन्। विद्यालय क्षेत्रभित्र रहेका अन्य तीन विद्यालयका समेत करिब १५० विद्यार्थी सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी छ।
बाढीका कारण तीनवटा विद्यालयका संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये करिब ६० जनाले अभिभावकविहीन भएको विवरण प्रारम्भिक रूपमा नाम टिपाएका छन्। यो संख्या करिब १०० सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
चार शिक्षक–कर्मचारी पनि बेपत्ता
बाढीपछि विद्यालयका चार जना शिक्षक तथा कर्मचारीसमेत सम्पर्कविहीन छन्। उनीहरूमा कम्प्युटर इन्जिनियरिङका शिक्षक, प्लस टु तहका शिक्षक, बाल शिक्षिका र विद्यालयकी नर्स रहेका छन्।
विद्यालय प्रशासनले उनीहरू जीवितै भेटिने आशा अझै नछाडेको जनाएको छ।
‘खोला होइन, आँधी आएजस्तो भयो’
नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालले बाढीको अवस्था सामान्य खोलाको बाढीजस्तो नभएको बताएका छन्।
उनका अनुसार बाढी आउनुअघि उनले विद्यार्थी, अभिभावक र स्थानीयलाई सामाजिक सञ्जालमार्फत सचेत गराएका थिए। तर सूचना दिएको केही मिनेटमै धुन्चेतर्फबाट ठूलो भेल आएको खबर प्राप्त भयो।
उनले भने, ‘त्यो खोला जस्तो लागेन, बरु आँधी वा हावाहुरी जस्तो आएको थियो।’
बाढीको दृश्य अत्यन्तै भयावह र अकल्पनीय रहेको उनको भनाइ छ।
दीर्घकालीन व्यवस्थापन आवश्यक
भूकम्पपछि विस्थापित गरिएका कतिपय बस्तीलाई खोला किनारमा पुनःस्थापना गरिएकाले यसपटक ठूलो मानवीय क्षति भएको स्थानीयको भनाइ छ।
बाढीका कारण परिवार गुमाएका बालबालिकाको तत्कालीन उद्धार र राहतसँगै उनीहरूको दीर्घकालीन भविष्यबारे सरकारले योजना बनाउनुपर्ने शिक्षक नेपालको माग छ।
´तीन वटा विद्यालयको संरचना नै छैन। परिवार गुमाएका बालबालिकाको भविष्यबारे सरकारले दीर्घकालीन रूपमा सोच्नुपर्छ,’ उनले भने।
दूरसञ्चार सेवा प्रभावित हुँदा धेरै विद्यार्थी, अभिभावक र स्थानीयसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। त्यसैले बाढीबाट भएको वास्तविक मानवीय क्षतिको विवरण अझै यकिन हुन बाँकी छ।