काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि भएको बताएका छन्।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गरेका छन्।
यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।
उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।
नेपालले सन् १९८९ को संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गर्दै भेदभावरहित व्यवहार, बालबालिकाको सर्वोत्तम हित, जीवन तथा विकासको अधिकार र विचार व्यक्त गर्ने अधिकारप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
यी अधिकारलाई नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति २०८० तथा बालबालिकासम्बन्धी ऐन २०७५ ले समेत सुनिश्चित गरेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले अबको मुख्य प्राथमिकता संविधान र कानुनले सुनिश्चित गरेका बालअधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नु रहेको बताएका छन्।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र स्पष्ट उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ।
उनले सङ्घ सरकारले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार बलियो बनाउने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
तीनै तहका सरकारका प्रयासलाई एउटै परिणाममुखी दिशामा अघि बढाउन सके मात्रै बालबालिकाको अधिकार सुनिश्चित गर्दै सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न सकिने प्रधानमन्त्री शाहले बताएका छन्।