जनकपुरधाम - प्रधानाध्यापक संघ नेपाल (पान) ले नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास तथा विद्यालयको समग्र रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ।
संघको आयोजनामा २०८३ मंसिर ४ देखि ६ गतेसम्म जनकपुरधाममा सम्पन्न तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनले ‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने नारासहित उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो।
सम्मेलनमा देशभरका करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञ, नीति निर्माता र अभ्यासकर्ताबीच विद्यालय शिक्षाका चुनौती, सम्भावना र सुधारका उपायबारे छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।
सम्मेलनमा शैक्षिक नीति तथा कानुनी सुधार, विद्यालय नेतृत्व, शिक्षक तथा कर्मचारी व्यवस्थापन, शैक्षिक गुणस्तर, राष्ट्रिय पाठ्यक्रम प्रारूप, प्रविधिको प्रयोग, कृत्रिम बौद्धिकता (एआई), विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनलगायतका विषयले प्राथमिकता पाएका थिए।

संघले सार्वजनिक गरेको १२ बुँदे प्रतिबद्धतामा शिक्षा नीति तथा कानुनी सुधार, प्रधानाध्यापकको नेतृत्व क्षमता विकास, शिक्षक तथा विद्यालय कर्मचारीको मनोबल अभिवृद्धि र निरन्तर व्यावसायिक विकासलाई विशेष प्राथमिकता दिइएको छ। त्यसैगरी प्रविधिमैत्री तथा कृत्रिम बौद्धिकतामा आधारित विद्यालय निर्माण गर्ने लक्ष्यसमेत अघि सारिएको छ।
प्रतिबद्धतामा सुरक्षित विद्यालय निर्माण, विपद् जोखिम न्यूनीकरण, हरित विद्यालय प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यलाई पनि समेटिएको छ। विद्यालयमा भएका असल अभ्यासको आदानप्रदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र सहकार्य विस्तार गर्ने विषयलाई समेत महत्त्व दिइएको छ।
त्यस्तै विद्यार्थी, अभिभावक र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने, गुणस्तरीय तथा नवप्रवर्तनशील सिकाइ प्रवर्द्धन गर्ने र विद्यालयको संस्थागत सुदृढीकरण तथा जवाफदेहिता कायम गर्ने प्रतिबद्धता संघले व्यक्त गरेको छ।
सम्मेलनले विद्यालय रूपान्तरण कुनै एक व्यक्ति, संस्था वा सरकारको एकल प्रयासबाट सम्भव नहुने निष्कर्ष निकालेको छ। गुणस्तरीय विद्यालय शिक्षा निर्माणका लागि प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, सरकार र विकास साझेदारबीच साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको सम्मेलनको ठहर छ।
प्रतिबद्धता कार्यान्वयनका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर नीतिगत संवाद, समन्वय र सहकार्य गर्ने योजना संघले अघि सारेको छ। साथै विद्यालय नेतृत्वको क्षमता विकास, शैक्षिक सम्मेलन तथा तालिम सञ्चालन र प्रतिबद्धता कार्यान्वयनको प्रगति नियमित समीक्षा गरी सार्वजनिक प्रतिवेदन गर्ने उल्लेख गरिएको छ।
संघका अध्यक्ष सुदाम प्रसाद गौतम र महासचिव लक्ष्मण श्रेष्ठद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रले सक्षम प्रधानाध्यापक, सम्मानित शिक्षक तथा कर्मचारी, प्रेरित विद्यार्थी, सक्रिय अभिभावक र रूपान्तरित विद्यालय निर्माण गर्ने साझा दृष्टिकोण अघि सारेको छ।
‘सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धि’ भन्ने मूल मन्त्रसहित संघले नेपालको विद्यालय शिक्षालाई सुरक्षित, हरित, डिजिटल, एआई–सक्षम, समावेशी तथा विपद् उत्थानशील बनाउने लक्ष्य सार्वजनिक गरेको छ।




