काठमाडौँ- शिक्षा क्षेत्रका सराेकारवालाले निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक गुठीमा लैजानुपर्ने सुझाव दिएका छन् । विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा शिक्षा ऐन जारी भएको ५ वर्षभित्रमा निजी विद्यालयलाई निजी वा सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने विषयमा उनीहरूले सुझाव दिएका हुन् ।
केदारभक्त माथेमा, विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, मीनबहादुर विष्ट, विनय कुसियत, ब्रजेश पन्त, टीका भट्टराईसहितका शिक्षाविद्हरूले शिक्षाजस्तो विषयमा राज्यले जिम्मेवारी लिनुपर्ने बताएका छन्। विधेयकमाथि संशोधन गर्न उक्त सुझावहरू प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा पेस गरिएको भट्टराईले बताए। विधेयकमा हाल कम्पनी मोडेलमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयलाई अहिलेकै अवस्थामा पठनपाठन गर्न र विद्यार्थीसँग शुल्क लिन छुट दिने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्था हुबहु पारित गर्दा संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको व्यवस्था प्रतिकूल हुने विज्ञहरूले बताए । ‘शिक्षाजस्तो विषय निजी क्षेत्रमा छाड्न हुँदैन । राज्यले नै सञ्चालन गर्नुपर्छ । व्यावसायिक निजीकरणका दुष्प्रभावका बारेमा सार्वजनिक वृत्तमा पर्याप्त छलफल भएको छ,’ सुझाव प्रतिवेदनमा भनिएको छ ।
सरकारले मन्त्रिपरिषद्बाट पहिलो पटक विधेयक स्वीकृत गर्दा निजीलाई ५ वर्षभित्र गैरनाफामूलक गुठीमा लैजाने व्यवस्था प्रस्ताव गरेको थियो । तर निजी विद्यालय सञ्चालकहरूको असन्तुष्टिपछि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिएर प्रस्तावित उक्त व्यवस्था हटाई प्रतिनिधिसभामा विधेयक दर्ता गराएको थियो । सरकार निजी विद्यालय सञ्चालकको दबाबमा झुकेको भन्दै आलोचना भइरहेको छ । विज्ञहरूले भने सरकारले हटाएको व्यवस्थालाई कायम राख्नुपर्ने सुझाव दिएका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले पनि निजीलाई १० वर्षभित्र गुठीमा लैजान सिफारिस गरेको थियो ।
शिक्षाविद्हरूले निजी विद्यालयमा छोराछारी पढाउने अभिभावकसँग शुल्कअनुसार सार्वजनिक शिक्षा कर लिने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । निजी विद्यालयबाट छात्रवृत्ति पाएका अवस्थामा बाहेक अन्य अभिभावकबाट तोकिएबमोजिम कर लिने गरी विधेयक संशोधन गर्नुपर्ने औंल्याइएको छ । कर लिने व्यवस्थाले राज्यले पूरा जिम्मेवारी नलिएसम्म सार्वजनिक शिक्षाका लागि स्रोत जुटाउने एउटा उपाय हुने र त्यसले सामाजिक न्यायको संकेतसमेत गर्ने प्रतिवेदनमा उल्लेख छ ।
निजीमा बालबालिका पढाउन चाहने अभिभावकले निःशुल्क शिक्षा पाउने हक दाबी गर्न नपाउने व्यवस्था गर्न सकेमात्र संविधानसम्मत हुन सक्ने उनीहरूको तर्क छ । संविधानले माध्यमिक तहसम्म निःशुल्क र आधारभूत तह अनिवार्यसहित निःशुल्क हुने ग्यारेन्टी गरेको छ । विज्ञहरूका सुझावलाई शिक्षा नीति तथा अभ्यास केन्द्रले प्रतिवेदन तयार पारेर समितिमा पेस गरेको हो ।
निजीले शुल्क लिन पाउने तर पर्याप्त अनुदानसमेत नपाउने सामुदायिक विद्यालयले शुल्क लिन नपाउने प्रावधानले विभेद हुने शिक्षाकर्मीहरूले तर्क गर्दै आएका छन् । गुठीमा मात्रै निजी विद्यालय स्थापना गर्न पाइने विधेयकको व्यवस्थाले निजी विद्यालयको एकाधिकार बढ्ने भन्दै आलोचनासमेत हुँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, प्राध्यापकसहितका शिक्षाविद्ले विधेयक संविधान र संघीयताविपरीत रहेकाले त्यसलाई समेत संशोधन गर्न सचेत गराएका छन् । जिल्ला शिक्षा कार्यालय राख्दा संविधानको विरुद्धमा हुने ठहर छ । विधेयकमा कार्यालय कायमै राख्ने र शिक्षकको खटनपटनमा भूमिका दिने उल्लेख छ । विज्ञहरूले प्रधानाध्यापकको छनोटमा पालिका र विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्णायक भूमिका हुनुपर्नेमा जोड दिएका छन् । सुझाव प्रतिवेदनमा भनिएको छ, ‘जिशिका राख्नु भनेको २०२८ को ऐन नै फर्काउनु हो । प्रअ छनोट विव्यस तथा पालिकाको शिक्षा शाखाको प्रतिनिधि र विज्ञसहितको समितिबाट गर्नु उचित हुन्छ ।’ विधेयकमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, प्रशासकीय प्रमुख र शिक्षाविज्ञ सम्मिलित समितिले प्रअ छनोट गर्ने उल्लेख छ । विज्ञहरूको सुझावमा शिक्षकको दरबन्दी, नियुक्ति, रेखदेख, कार्यसम्पादन मूल्यांकन, बढुवालगायत काममा सबैभन्दा बढी भूमिका स्थानीय तहलाई नै दिनुपर्ने औंल्याएका छन् ।
विधेयक संसद्मा दर्ता भएपछि आन्दोलित नेपाल शिक्षक महासंघसँग सरकारले स्थानीय तहको अधिकारमा हस्तक्षेप हुने गरी सम्झौता गरेको छ । संविधानले माध्यमिक तहसम्मको शिक्षामा स्थानीय तहको एकल अधिकार हुने व्यवस्था गरेको छ । नगरपालिका संघ र गाउँपालिका महासंघले एकल अधिकार सुनिश्चित हुनुपर्ने भन्दै खबरदारी गर्दै आएका छन् । विधेयकमा संशोधन गर्न संसद्मा डेढ सयभन्दा बढी संशोधन दर्ता भइसकेको छ ।
प्रदेशलाई शैक्षिक तथ्यांक अद्यावधिक गर्ने र जनशक्तिको प्रक्षेपण गर्ने, विद्यालयको पाठ्यपुस्तक छपाइ गर्ने र विद्यालयको नक्सांकन तथा सेवा क्षेत्र निर्धारण गर्ने अधिकार थप गर्नुपर्ने औंल्याइएको छ । ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा प्रदान गर्ने पालिकाहरूको जिम्मेवारी र व्यवस्थापन गर्ने अग्राधिकार हो । यसलाई अरू तहका सरकारले ती अधिकार सीमित गर्ने होइन, सहजीकरण गर्ने हुनुपर्छ,’ सुझावमा भनिएको छ ।
विज्ञहरूले भने शिक्षक महासंघको सट्टा नेपाल शिक्षक काउन्सिल हुनुपर्ने माग गरेका छन् । महासंघ राजनीतिक प्रकृतिको संगठन भएकाले त्यसको सट्टा स्वतन्त्र, गैरराजनीतिक अवधारणामा जानुपर्ने औंल्याइएको छ । काउन्सिललाई शिक्षक लाइसेन्सको कामसमेत दिन सक्ने सुझाव दिइएको छ । उनीहरूले प्रारम्भिक बालविकास कक्षा (ईसीडी) लाई पनि विद्यालय तहमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् । विधेयकमा ईसीडीलाई विद्यालय तह बाहिर राखिएको छ । विदेशी बोर्डको सम्बन्धनमा सञ्चालित विद्यालय खारेज गर्नुपर्ने विज्ञहरूको निष्कर्ष छ । हाल नेपालमा १४ वटा विदेशी बोर्डका विद्यालय सञ्चालनमा छन् भने केहिले ए लेभललगायत कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
विधेयकले सञ्चालनमा रहेका विद्यालयलाई निर्वाध सञ्चालन हुन दिने र कूटनीतिक नियोगको सिफारिसमा थप विद्यालय स्थापना गर्न सकिने व्यवस्था गरेको छ । शिक्षाविद्हरूले भने विद्यालय तहमा विदेशी सम्बन्धनको प्रावधान राख्नु त्रुटिपूर्ण रहेको जनाएका छन् । उच्चशिक्षामा मात्रै विदेश बोर्डको कार्यक्रम सञ्चालन गर्न सकिने औंल्याइएको छ । ए लेभल, आईबी र सीबीएसई जस्ता विदेशी बोर्डबाट सञ्चालित कार्यक्रम खारेज गर्न उनीहरूले माग गरेका छन् । गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा मात्रै पठनपाठन गराउने विधेयक व्यवस्था पनि अनुचित रहेको औंल्याइएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराउन सक्ने शिक्षकको संख्या कमी रहेकाले विद्यार्थीले आफूले बुझ्ने भाषामा सिकाइ गर्दा गहिराइमा पुगिने राय पेस गरिएको छ ।