काठमाडाैँ - विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतो नियुक्त भएकी छन्। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको विरा एजुकेसन कन्सलटेन्सीले आइतबार काठमाडौँ स्थित हिल्टन हाेटलमा आयोजित कार्यक्रममा पूजा महतोलाई ब्राण्ड एम्बासडर नियुक्त गरेकाे हाे।
सम्झाैता पत्रमा विरा कन्सलटेन्सीकी प्रवन्ध निर्देशक रेश्मा महर्जन र पूजाले हस्ताक्षर गरेका हुन्। खेल र शिक्षालाई जोड्ने उदेश्यले ब्राण्ड एम्बेसेडरमा महिला क्रिकेटर महतोलाई नियुक्त गरेको विरा एजुकेसन कन्सलटेन्सी जनाएकाे छ। साथै पूजाको राष्ट्रिय टिमको किकेट करियर अवधिभरका लागि सम्झाैता गरिएको विरा एजुकेसनले जनाएको छ।


कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्दकाे मुख्य अतिथि र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य मनिष झाकाे विशेषा अतिथ्यता रहेकाे थियाे।
कार्यक्रममा बाेल्दै प्रतिनिधि सभाका सांसद झाले आफु केही समय अगाडी खेलसँग जोडिएको बताउदैँ हाल राजनितिमा भएतापनि खेलकुद क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दे आएको बताए। उनले आजको यस कार्यक्रम पनि खेलकुद क्षेत्र कै प्रतिनिधिसँग जोडिएको कार्यक्रम भएकोले विशेष प्राथमिकता राखी समय निकालेको बताए। साथै उनले पूजालाई बधाई दिदैँ पूजा जस्ता खेलाडी देशको गहना रहेको बताए।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्ययक्ष राजेन्द्र बरालले नवनियुक्त ब्राण्ड एम्बासडर पूजालाई शुभकामना दिँदै क्यान महासंघले लामो समयदेखी खेलाडी, कमेडियन र कलाकारहरुसँग सहकार्य गर्दे आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्ययक्ष शेषराज भट्टराईले ईक्यानले खेलकुद क्षेत्रसँग लामाे समयदेखी सहकार्य गर्देआएको बताए। उनले ईक्यानमा आवद्ध प्राय संस्थाहरुले ब्राण्ड एम्बासडरमा पुरुष खेलाडी नियुक्त गर्ने गरेको बताउदैँ विरा एजुकेसनले महिला खेलाडीलाई छनोट गरेकोमा खुसी लागेको बताए।

नवनियुक्त विराकी ब्राण्ड एम्बासडर पूजाले यो आफ्ना लागि गर्वको क्षण भएको बताइन्। ‘यो मेरा लागि गर्वको क्षण हो। मेरो ममी ड्याडीलाई यो अवसरमा धेरै धन्यवाद दिन चाहन्छु। यो शिक्षा र क्रिकेटको बण्ड राम्रो छ’ उनले भनिन्।
पूजाले आफु यो स्थानसम्म आईपुग्न परिवारको ठुलो हात रहेको बताउदैँ उनले भनिन्,' मधेसमा छोरीहरुलाई घरको काम बाहेक अन्य बाहिरी क्रियाकलापमा सहभागी हुन दिइँदैनथ्यो। तर मेरो आमाबुवाले हिम्मत दिनुभयो। अगाडी बढ्न हौसला दिनुभयो। तराईमा पहिलो पटक छोरी मान्छेको नामको पछाडी जी लगाईएको हो भने त्यो छाेरी म हुँ। अहिले म र मेरो परिवारका सबै सदस्यको पछाडी जी थपिएको छ यो नै मेरो लागि गर्वको कुरा हो।'
त्यस्तै विराकी प्रवन्ध निर्देशक महर्जनले वुमन इम्पावरमेन्टका लागि पूजासँग काम गर्न खोजेको बताउँदै उनले पूजाको राष्ट्रिय टिमको किकेट करियर अवधिभरका लागि सम्झाैता गरिएको जानकारी दिइन्। साथै उनले सहकार्यकाे अमाउन्ट डिस्क्लोज नगरी हरेक वर्ष पारीश्रमीक बढ्दै नै जाने बताइन्।
पूजाको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको थियो। पूजा सिनियर टिमको समेत उपकप्तान बनिसकेकी छन्।

