काठमाडाैँ - पश्चिम नवलपरासीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान दिने १४ जना जना शिक्षकहरूलाई सम्मान गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइले विषयगत आधारमा सामुदायिक विद्यालयका ८ जना र संस्थागत विद्यालयका ६ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको हाे।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदीका अनुसार, अनिवार्य विषयमा सबैभन्दा बढी औसत सिकाइ उपलब्धि हासिल गर्न सफल भएका आधारमा सामुदायिक विद्यालयका ८ जना र संस्थागत विद्यालयका ६ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको हाे।
सामुदायिक विद्यालयबाट सम्मानित हुने शिक्षकहरूमा कृष्ण प्रसाद अधिकारी, कामना गैरे, धुव्रराज घिमिरे, तुलसी कुँवर, सभ्यता प्रसाई, दुर्गा प्रसाद उपाध्याय, सदन पौडेल र राम राज श्रेष्ठ रहेका छन्। यसैगरी, संस्थागत विद्यालयबाट दोसल्ला र सम्मान पत्रसहित सम्मानित शिक्षकहरूमा, दिनानाथ पौडेल, दुर्गा प्रसाद पंगेनी, मोहन शरण पाण्डेय, देवेन्द्र हिताङ्ग, चिरञ्जिवी न्यौपाने र रामबहादुर कार्की रहेका छन्। संस्थागत विद्यालयतर्फ सम्मानित सबै विषयगत शिक्षकहरू न्यू लाईफ बोर्डिङ्ग बर्दघाटका हुन्।
यस वर्ष नवलपरासीको एसइई नतिजामा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष जम्मा ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ५९ प्रतिशतभन्दा बढी विद्यार्थी 'ग्रेडेड' भएका छन्। जिल्लाभरिमा सुनवल नगर क्षेत्रको नतिजा सबैभन्दा राम्रो रहेको छ भने प्रतापपुर गाउँपालिकाका विद्यालयहरूको नतिजा सबैभन्दा कमजोर देखिएको छ। जहाँ जम्मा २९.७२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।