काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। जेठ महिनामा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।
नतिजाअनुसार एक लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन्। परीक्षामा सहभागी कुल परीक्षार्थी तीन लाख ६३ हजार आठ जनामध्ये ५२.०४ प्रतिशत परीक्षार्थीले नन ग्रेड ल्याएका हुन्। सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याउने परीक्षार्थीको ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ लेख्ने कार्यविधिमा उल्लेख छ।
नतिजाअनुसार ३.६ देखि ४.० जीपीए ल्याउने परीक्षार्थी ४ हजार १७९ छन्।
३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थी ३० हजार १६० जना छन्। त्यस्तै २.८ देखि ३.२ ल्याउने जीपीए परीक्षार्थी ६५ हजार २४८ जना, २.४ देखि २.८ ल्याउने ६४ हजार ९३, २.० देखि २.४ ल्याउने विद्यार्थी १० हजार नौ सय रहेको बोर्डले जनाएको छ। १.६ देखि २.० ल्याउने ३५ जना छन्।
नतिजा बोर्डको वेबसाइट डब्ल्यूडब्ल्यू एनईबी डट जीओभी डट एनपीमा केही बेरमा उपलब्ध हुनेछ। नेपाल टेलिकमको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू एनईबी डट एनटीसी डट एनपी र १६०१ नम्बरमा डायल गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।
परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी थिए। देशभर एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९, १९:०८:००