काठमाडौँ- नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घ रोगका कारण हुने गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले जनाएको छ। मुटुरोग, क्यान्सर, मधुमेह, उच्च रक्तचाप तथा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी नियमित औषधि र फलोअपमा निर्भर हुन्छन्।
तर प्राकृतिक विपद्का बेला स्वास्थ्य संस्था, यातायात र औषधि आपूर्तिमा अवरोध हुँदा यस्ता बिरामीको उपचार प्रभावित हुने गरेको छ। भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायतका जिल्लामा स्वास्थ्य पूर्वाधार तथा सेवा प्रवाह प्रभावित भएकाले नियमित उपचारमा थप चुनौती देखिएको छ।
बाढीका कारण स्वास्थ्य संस्था पुग्न कठिन हुनुका साथै औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्तिमा समेत समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। नियमित औषधि छुट्नु वा फलोअप सेवा रोकिँदा बिरामीको स्वास्थ्य अवस्था बिग्रिन सक्ने जोखिम हुन्छ।
चिकित्सकहरूका अनुसार विपद् व्यवस्थापनलाई उद्धार, राहत र घाइतेको उपचारमा मात्र सीमित नगरी नियमित उपचार आवश्यक पर्ने बिरामीलाई पनि समेट्नुपर्छ। विशेषगरी दीर्घ रोगका बिरामीका लागि अत्यावश्यक औषधिको पूर्वभण्डारण, स्वास्थ्य अभिलेखको व्यवस्थापन र वैकल्पिक उपचार सेवाको व्यवस्था आवश्यक हुन्छ।
विपद्का बेला स्वास्थ्यकर्मीको परिचालन, औषधि आपूर्ति र बिरामीलाई आवश्यक परे अर्को स्वास्थ्य संस्थामा सुरक्षित स्थानान्तरण गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा स्वास्थ्य क्षेत्रका जानकारहरूले जोड दिएका छन्।
बिरामीको उपचार र सुरक्षा स्वास्थ्यकर्मीको मात्र नभई परिवार, स्वास्थ्य संस्था, स्थानीय तह र सरकारको साझा जिम्मेवारी भएको उनीहरूको भनाइ छ। नियमित औषधि सेवन गर्ने व्यक्तिले आफूले प्रयोग गर्ने औषधि, उपचारसम्बन्धी विवरण र चिकित्सकको जानकारी सुरक्षित राख्नुपर्ने सुझावसमेत दिइएको छ।