काठमाडौँ- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा उनलाई नेतृत्वबाट हटाउने विषय प्रतिवेदनमा समावेश नगर्ने सहमति गरेको कार्यदलका सचिव महेश बस्नेतले बताएका छन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अध्यक्षको आलोचना नगर्ने र पार्टी एकतालाई प्राथमिकता दिएर प्रतिवेदन अघि बढाउने सहमति भएको जानकारी दिए।
उनका अनुसार बल्थली बैठकपछि आएका विभिन्न मस्यौदा तथा कार्यदलका सदस्यहरूले दिएका सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरिएको हो। यसका लागि तीन जना नेतालाई जिम्मेवारी दिइएको थियो।
बस्नेतले भने, “बल्थलीको बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौँ।”
कार्यदलभित्र अध्यक्ष ओलीको राजीनामा र नेतृत्व परिवर्तनको विषयमा फरक–फरक धारणा देखिएपछि त्यसलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने प्रयास गरिएको थियो। पछिल्लो सहमतिअनुसार तत्काल नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा नराखिने भएको हो।
बस्नेतका अनुसार अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय प्रतिवेदनमा समावेश गरिने छैन।
यसअघि कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदनलाई अध्ययन गरी एउटै दस्तावेज बनाउने प्रक्रिया अघि बढाइएको थियो।
तत्काल विशेष महाधिवेशन नबोलाइने
कार्यदलले तत्काल विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन नबोलाउने निर्णयसमेत गरेको बस्नेतले बताए।
उनका अनुसार अहिले विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउनु उपयुक्त नहुने निष्कर्ष निकालिएको छ। नियमित महाधिवेशनका क्रममा भने नेतृत्व परिवर्तनको विषय उठ्न सक्ने र त्यसबारे विधानअनुसार छलफल गर्न सकिने उनको भनाइ छ।
राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने
कार्यदलले पार्टीको एकता प्रदर्शन र संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति गरेको बस्नेतले बताए।
उनका अनुसार बैठकमार्फत पार्टीलाई थप संगठित र सक्रिय बनाउने तथा वर्तमान सरकारका कामकारबाहीविरुद्ध राजनीतिक रूपमा अघि बढ्ने विषयमा छलफल हुनेछ।
बस्नेतले वर्तमान सरकारको कार्यशैलीविरुद्ध पार्टीले राजनीतिक आन्दोलन अघि बढाउने बताएका छन्।
केन्द्रीय कमिटीमा प्रतिवेदन पेस हुने
कार्यदलका सचिव राजन भट्टराईका अनुसार तयार भएको प्रतिवेदनलाई आवश्यक परिमार्जन गरी केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।
अर्का सचिव छविलाल विश्वकर्माका अनुसार २९ पृष्ठको प्रतिवेदनलाई थप छलफल र परिमार्जन गरी अन्तिम रूप दिने तयारी छ। तल्लो तहबाट आएका सुझावलाई पनि प्रतिवेदनको अनुसूचीमा समेटिनेछ।
कार्यदलले विभिन्न १३ समूहबाट प्राप्त सुझावलाई समेत प्रतिवेदनमा समेट्ने जनाएको छ।
अन्तिम प्रतिवेदन पार्टी सचिवालय हुँदै सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी गरिएको छ।