काठमाडौँ- बालगायकका रूपमा चर्चामा आएका अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र आर्थिक कठिनाइबारे सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।
फेसबुकमा लामो स्टाटस लेख्दै दर्जीले आफू अहिले आर्थिक अभावमा रहेको बताएका छन्। उनले जीवनमा विभिन्न उतारचढाव र संघर्ष भोग्दै आएको उल्लेख गर्दै आफू अझै पनि संघर्षकै क्रममा रहेको बताएका छन्।
दर्जीले आफूले समाजबाट पाएको माया र विश्वासलाई जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै त्यसलाई सधैँ सम्मान गर्ने बताएका छन्। समाजले आफूबाट केही गर्छ भन्ने अपेक्षा राखेकाले त्यो अपेक्षा पूरा गर्न आफू अझै अघि बढ्न चाहेको उनको भनाइ छ।
दसैँ–तिहार नजिकिँदै गर्दा परिवार र भाइबहिनीको खर्च व्यवस्थापन गर्ने विषयले आफूलाई चिन्तित बनाएको उनले बताएका छन्। पढ्ने उमेर भए पनि परिवारको जिम्मेवारीका कारण पैसा कमाउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्।
आफ्नो आर्थिक अवस्थाबारे उनले लेखेका छन्, ‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ। धन्य, एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो। अनि कसैले दिनुभएको अधिया जग्गा छ।’
गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको बताउँदै दर्जीले गरिबीप्रति आफूलाई कुनै हीन भावना नरहेको बताएका छन्। संघर्ष र कठिनाइका बीच पनि आफू मेहनत गरेर अघि बढ्ने उनको भनाइ छ।
उनले आफूले विगतमा गरेका काममा कुनै गल्ती वा कमजोरी भएको भए क्षमा गरिदिन पनि आग्रह गरेका छन्। आफू धेरै थाकिसकेको उल्लेख गर्दै अब आफ्नो जीवन र संगीत यात्रालाई सहज ढंगले अघि बढाउन चाहेको उनले बताएका छन्।
दर्जीले आफू छिट्टै आफ्नै गीत लिएर दर्शकमाझ आउने तयारीमा रहेको जानकारी दिँदै दर्शक तथा शुभेच्छुकसँग निरन्तर माया र साथको अपेक्षा गरेका छन्।
संगीतकार टंक बुढाथोकीसँगको विगतको विवादलगायत विषयतर्फ संकेत गर्दै उनले आफूले कसैलाई दोष दिन वा नराम्रो भन्न आफ्नो अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्।
‘आज मैले मेरो मनको कुरा मात्र भनेको हुँ। मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ,’ उनले लेखेका छन्।
उनले जीवनमा एक दिन राम्रो समय आउने आशा व्यक्त गर्दै संघर्षबाट पछि नहट्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।