पोखरा- चाङ्गानको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ‘नेभो क्यू ०५’ पोखरामा सार्वजनिक गरिएको छ। एमएडब्यू वृद्धि अटोकर्पले क्यू ०५ को अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो।
क्यू ०५ को मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। नयाँ गाडी सार्वजनिकसँगै पोखराको चाउथेस्थित डीपल शोरुममा असोज ३ देखि ६ गतेसम्म विशेष परीक्षण सञ्चालन गरिनेछ।
कम्पनीका अनुसार क्यू ०५ मा २,७३५ मिलिमिटर ह्वीलबेस, ५४० लिटरको बुट स्पेस र विभिन्न प्रयोजनका लागि २९ वटा भण्डारण स्थान छन्। चयनित भेरियन्टमा प्यानोरामिक ग्लास रुफ र पावर सनसेड पनि उपलब्ध छन्।
गाडीमा १२० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ। डब्लुएलटीपीसी परीक्षणअनुसार गाडीले एकपटकको चार्जमा ४०५ किलोमिटर दूरी तय गर्न सक्छ।
क्यू ०५ मा ३ सी फास्ट चार्जिङ प्रणाली प्रयोग गरिएको छ। कम्पनीका अनुसार उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिन्छ।
गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युिङ प्रणालीलगायतका सुविधा छन्।
कम्पनीका अनुसार क्यू ०५ को डिजाइन ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको सहभागितामा विकास गरिएको हो। कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजकी अध्यक्ष शोभा गौतम, नाडाका पूर्वअध्यक्ष ध्रुव थापालगायतको उपस्थिति थियो।