काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी, संसद र सरकारलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने निष्कर्ष निकालेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल गर्दै पार्टी, संसद र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले बाढीका कारण स्थगित रास्वपाका जनसंगठनसम्बन्धी गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
मधेसमा भएका घटनाको अडिट
बैठकमा पछिल्ला महिनामा मधेस प्रदेशमा भएका विभिन्न घटनाक्रम तथा संगठनात्मक अवस्थाबारे तयार गरिएको अडिट प्रतिवेदनबारे पनि छलफल भएको छ।
प्रवक्ता खरेलका अनुसार उक्त अडिट प्रतिवेदनका आधारमा मधेसमा पार्टीका आगामी कार्यक्रम सञ्चालन गरिनेछ। रास्वपाले मधेस प्रदेशको संगठनात्मक अवस्थाबारे स्थलगत अध्ययनका लागि यसअघि नै अडिट समिति गठन गरेको थियो।
‘राइट टु रिकल’ कार्यान्वयनतर्फ
रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् निर्वाचित प्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि जनमतका आधारमा फिर्ता बोलाउन सकिने व्यवस्थालाई कार्यान्वयनको दिशामा अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको छ।
यसका लागि आवश्यक दस्तावेज तथा व्यवस्था तयार गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।
स्वर्णिम वाग्लेको भारत भ्रमणबारे जानकारी
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणबारे सचिवालयलाई जानकारी गराएका थिए।
वाग्लेले भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले नेपाललाई गरेको सहयोगप्रति सरकारका तर्फबाट आभार व्यक्त गरिएको जानकारी बैठकमा गराएको प्रवक्ता खरेलले बताए।
रास्वपाले यसअघि पनि विपद् व्यवस्थापन तथा राहतका विषयमा विभिन्न राजनीतिक दलसँग समन्वय गर्दै आएको छ।