काठमाडौँ- शिक्षक सेवा आयोगले शैक्षिक वर्ष २०८३/८४ का लागि अध्यापन अनुमतिपत्र, शिक्षक पदपूर्ति तथा बढुवासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रभावित बनेका आयोगका नियमित कामकारबाहीलाई पुनः सञ्चालन गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको हो। आयोगले असोज १ गते कार्यतालिका स्वीकृत गरेको जनाएको छ।
कार्यतालिकाअनुसार माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका खुला प्रतियोगितात्मक परीक्षा, बढुवा, अध्यापन अनुमतिपत्र परीक्षा तथा करार सूची प्रकाशनका कार्यक्रम वर्षभरिका लागि निर्धारण गरिएको छ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण आयोगका नियमित परीक्षा तथा अन्य प्रक्रिया प्रभावित भएका थिए। त्यसपछि निर्वाचन, नयाँ सरकार गठन र आयोगमा नयाँ पदाधिकारी नियुक्त भएसँगै नयाँ कार्यतालिका सार्वजनिक गरिएको आयोगले जनाएको छ।
कार्यतालिकाअनुसार माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाका लागि फागुनमा विज्ञापन प्रकाशन गरिनेछ। परीक्षा वैशाख र असारमा सञ्चालन हुने तथा नतिजा वैशाखमा प्रकाशन गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन चैतमा प्रकाशन गरिनेछ। परीक्षा जेठ र असारमा सञ्चालन हुने र नतिजा जेठमा प्रकाशन गर्ने कार्यतालिका छ।
माध्यमिक तहको अध्यापन अनुमतिपत्रसम्बन्धी प्रक्रिया कात्तिकदेखि र निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रसम्बन्धी प्रक्रिया मंसिरदेखि सञ्चालन गर्ने आयोगले जनाएको छ।
खुला प्रतियोगितात्मक परीक्षाबाट उम्मेदवार सिफारिस भएको एक महिनाभित्र करार सूची प्रकाशन गर्ने व्यवस्था पनि कार्यतालिकामा समेटिएको छ।
यसैगरी, दोस्रो र प्रथम श्रेणीको बढुवासम्बन्धी सिफारिस तथा अन्तिम नतिजा आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्य आयोगले राखेको छ।
माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको नतिजा प्रकाशन भएको एक महिनाभित्र अनुमतिपत्र वितरण गरिनेछ। निम्न माध्यमिक तहमा पनि नतिजा प्रकाशन भएको एक महिनाभित्र अध्यापन अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नयाँ कार्यतालिकासँगै लामो समयदेखि प्रभावित शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्रसम्बन्धी प्रक्रिया पुनः नियमित हुने अपेक्षा गरिएको छ।