काठमाडौँ- विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्ने प्रक्रिया तीव्र बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।
मन्त्रालयले शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ।
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित प्राविधिक तथा कानुनी कामलाई तीव्र रूपमा अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ। कार्यदलले विद्यालय शिक्षाका वर्तमान अवस्था, आवश्यकता, समस्या तथा दीर्घकालीन सुधारका विषयलाई समेटेर विधेयकको नयाँ मस्यौदा तयार गर्नेछ।
यसअघि संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लामो समयसम्म छलफल भए पनि प्रक्रिया निष्कर्षमा पुग्न सकेको थिएन।
यसपटक मन्त्रालयले यसअघिको मस्यौदालाई आधार बनाउँदै समयअनुकूल सुधार, शिक्षा क्षेत्रका वर्तमान आवश्यकता तथा विभिन्न सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर नयाँ विधेयक अघि बढाउने तयारी गरेको छ।
नयाँ विधेयक निर्माणअघि विद्यालय शिक्षासम्बन्धी वास्तविक आवश्यकता र समस्या पहिचान गर्न मन्त्रालयले सातै प्रदेशमा नीति संवादसमेत सम्पन्न गरिसकेको जनाएको छ। प्रदेशस्तरमा भएको छलफलबाट प्राप्त सुझावलाई विधेयक निर्माणमा समेटिने मन्त्रालयको तयारी छ।
अबको चरणमा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय तह, शिक्षाविद्, विद्यालय व्यवस्थापनलगायत अन्य सरोकारवालासँग थप संवाद गरी सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै पक्षका सुझाव र आवश्यकतालाई समेटेर विद्यालय शिक्षामा देखिएका विद्यमान समस्या समाधान गर्ने तथा दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने गरी विधेयक तयार गर्ने जनाएको छ।