काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भोटेकोशी विपद्सँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउन निर्देशन दिएको छ।
आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री शाहसहित परराष्ट्रमन्त्री र अन्य सरकारी प्रतिनिधिको महासभा सहभागिताबारे छलफल गर्दै यस्तो नीतिगत निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। रास्वपाको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको जानकारी यसअघि पार्टीले दिएको थियो।
रास्वपाका अनुसार महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषयसँगै बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयलाई सम्बोधनमा समेट्ने गरी तयारी गर्न भनिएको छ।
बैठकले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारीसमेत लिएको छ। यसअघि रास्वपाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत र दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ।
बेपत्ताको डीएनए परीक्षण गर्न आग्रह
बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेका व्यक्तिको शीघ्र डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, लामो समयदेखि बेपत्ता रहेका र परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन आग्रह गरिएको छ। पीडित परिवारलाई राहत तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउन पनि सरकारलाई आग्रह गरिएको रास्वपाले जनाएको छ।
मधेश प्रदेशको संगठनात्मक अवस्थाबारे छलफल
बैठकमा मधेश प्रदेशको संगठनात्मक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन पनि प्रस्तुत भएको छ।
पार्टीका सहमहामन्त्री तथा मधेश प्रदेश संयोजक हरि ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ।
विभिन्न विभागमा जिम्मेवारी तोकियो
रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै विभिन्न व्यक्तिलाई सदस्यमा मनोनयन गरेको छ।
आयोग सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई मनोनयन गरिएको छ।
त्यस्तै, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई मनोनयन गरिएको छ।
बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।