काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। शिक्षक र कर्मचारीका पेसागत मागबारे सरकारलाई दबाब दिन विभिन्न १४ शिक्षक संघसंगठनहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा बाेल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षकलाई सरकारले न्युनतम पारिश्रमिक पनि उपलव्ध नगराएकाे आराेप लगाए। उनले भने,‘शिक्षकलाई राज्यले तलब दिने विषयमा पनि विभेद गर्ने गरेको छ। १७ थरिका शिक्षक बनाएको राज्य शिक्षकका मद्दामा गम्भिर नबने अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौँ।’
यस्तै विराेध सभामा बाेल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालका कर्मचारीकाे तलब सेवा सुविधा लगायतका समस्या समाधान गर्न महासंघले अग्रसरता देखाएकाे र माग पुरा नभएसम्म आन्दाेलन जारी राख्नुपर्ने बताए।
![](https://edusawal.com//uploads/editor/2023-05-12/163336540sickshak andolan.jpg)
विराेध सभामा सहभागी शिक्षकहरूले नयाँ संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, आगामी बेजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकहरूलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलबभत्ता दिनुपर्ने माग अघि सारेका छन्। यस्तै शिक्षा क्षेत्रको लगानी कुल बजेटको २० प्रतिशत गराउनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारीसरह गराउनुपर्ने उनीहरूकाे माग छ।
![](https://edusawal.com//uploads/editor/2023-05-12/163521338school teachers.jpg)
महासंघले शिक्षक कर्मचारीको तलबभत्ता सःसर्त अनुदान शीर्षकअन्तर्गत पठाउने र उक्त तलब निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्गाको नेतृत्वमा बसेर काम गरेको शिक्षकको टुटेको सेवा अवधि जोडेर नियमानुसार सेवासुविधा दिनुपर्ने माग पनि अघि राखेको छ।
प्रदर्शनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, नेपाल राष्ट्रिय शिक्षक परिषद्, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्मा आबद्ध शिक्षक कर्मचारीहरूको सहभागिता थियो।
![](https://edusawal.com//uploads/editor/2023-05-12/163642646andolan teacher.jpg)