काठमाडौं- प्रारम्भिक बाल विकास तथा शिक्षा (ईसीडी) मा औपचारिक विद्यालयको जस्तै पढाइ, लेखाइ, गृहकार्य र परीक्षालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। बालबालिकाको स्वाभाविक विकास, खेल, जिज्ञासा र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्नेमा ईसीडीलाई विद्यालय प्रवेशको तयारीमा मात्र सीमित गरिँदै गएको उनीहरूको विश्लेषण छ।
बालचन्द्र लुइँटेल, रुपा मुनाकर्मी र बबिता महर्जनले तयार पारेको विश्लेषणमा नेपालमा पछिल्लो दुई दशकयता प्रारम्भिक बाल शिक्षामा विद्यालयीकरणको प्रभाव तीव्र रूपमा बढिरहेको उल्लेख गरिएको छ।
विद्यालयीकरण भन्नाले साना बालबालिकाको सिकाइ वातावरणलाई औपचारिक विद्यालयको ढाँचामा ढाल्दै डेस्क-बेन्च, पाठ्यपुस्तक, कापी, गृहकार्य र परीक्षामा केन्द्रित गर्नु हो। यसले बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभ व्यवहारलाई पछाडि पारिरहेको विश्लेषणमा उल्लेख छ।
प्रारम्भिक बाल विकासको मुख्य उद्देश्य बालबालिकाको शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक विकास गर्नु हो। यस्तो विकास घोकाइबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहपूर्ण अन्तरक्रियाबाट सम्भव हुने लेखकहरूको भनाइ छ।
विश्लेषणअनुसार विद्यालय तयारी र विद्यालयीकरण फरक अवधारणा हुन्। विद्यालय तयारीले बालबालिकाको समग्र विकासलाई जोड दिन्छ भने विद्यालयीकरणले प्रारम्भिक सिकाइलाई औपचारिक पाठ्यक्रम, समयतालिका, अनुशासन, परीक्षा र प्रतिस्पर्धामा सीमित गर्छ। विद्यालयलाई बालबालिकाको आवश्यकताअनुसार तयार गर्नुपर्नेमा बालबालिकालाई विद्यालयको दबाबअनुसार ढाल्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ।
नेपालमा विद्यालयीकरणका प्रमुख स्वरूपमा विदेशी तथा आयातित प्रि-स्कुल मोडेलको अन्धाधुन्ध प्रयोग, साना बालबालिकालाई पाठ्यपुस्तक र अभ्यास पुस्तिकाको भार, औपचारिक कक्षा संरचना तथा प्राप्ताङ्कमा आधारित मूल्याङ्कनलाई लिइएको छ। यसले स्थानीय भाषा, संस्कृति, लोककथा, परम्परागत खेल र सामुदायिक ज्ञानलाई समेत ओझेलमा पारेको विश्लेषण छ।
विशेषगरी चार वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत पढ्ने, लेख्ने र गणना गर्ने अभ्यासमा केन्द्रित गराउने प्रवृत्ति बढेको छ। खेलकुद, चित्रकला, कथा, गीत र सामाजिक अन्तरक्रियालाई सिकाइको मुख्य माध्यम बनाउनुपर्ने उमेरमा कापी-कलम र औपचारिक अभ्यासलाई प्राथमिकता दिइनु उचित नभएको लेखकहरूले औँल्याएका छन्।
अत्यधिक गृहकार्य, कठिन पाठ्यक्रम र लिखित परीक्षाको दबाबले साना बालबालिकामा मानसिक तनाव, चिन्ता र असफलताको डर पैदा गर्न सक्ने विश्लेषणमा उल्लेख छ। बालबालिकाको उमेर र विकासक्रमअनुसार सिकाइको अवसर नदिँदा उनीहरूको जिज्ञासा, आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ।
युनिसेफको ‘स्कुल रेडिनेस रिपोर्ट’मा प्रस्तुत शैक्षिक वर्ष २०२३/२४ को तथ्याङ्कअनुसार नेपालमा ४० हजार ६८४ प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षा सञ्चालनमा थिए। तीमध्ये ८१.२ प्रतिशत सरकारी वा सामुदायिक र १८.७ प्रतिशत निजी क्षेत्रबाट सञ्चालित थिए। सोही अवधिमा प्रारम्भिक बाल शिक्षाको कुल भर्नादर ९९.९ प्रतिशत पुगेको थियो। तर उच्च भर्नादरले मात्रै गुणस्तरीय सिकाइ र बालबालिकाको समग्र विकास सुनिश्चित नगर्ने विश्लेषण गरिएको छ।
यस समस्याको समाधानका लागि लेखकहरूले खेलमा आधारित, बालबालिकाको नेतृत्व र स्थानीय परिवेशमा आधारित सिकाइ प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका छन्। पाठ्यपुस्तकको अत्यधिक प्रयोग घटाउँदै कथा, गीत, स्थानीय खेल, बालुवा-पानीको खेल र प्रकृति अन्वेषणलाई सिकाइको अभिन्न हिस्सा बनाउनुपर्ने उनीहरूको जोड छ।
त्यस्तै, नेपाली समाजको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई ईसीडीको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औँल्याइएको छ। स्थानीय लोककथा, चाडपर्व, मौलिक खेल र सामुदायिक ज्ञानलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्दा बालबालिकाले आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिएर सिक्न सक्ने विश्लेषणमा उल्लेख छ।
प्रारम्भिक बाल विकासलाई विद्यालय प्रवेशपूर्वको एकवर्षे कार्यक्रमका रूपमा मात्र नभई गर्भावस्थादेखि आठ वर्षसम्मको एकीकृत विकास प्रक्रियाका रूपमा बुझ्नुपर्ने लेखकहरूको धारणा छ। यसका लागि सरकारी लगानी वृद्धि, प्रभावकारी नियमन, अभिभावक सचेतना र अनुसन्धानमा आधारित नीतिगत सुधार आवश्यक रहेको उनीहरूले बताएका छन्।
लेखकहरूका अनुसार बाल्यकाललाई औपचारिक पढाइ र प्रतिस्पर्धाको दबाबमा सीमित गर्नु हुँदैन। बालबालिकालाई खेल्न, खोज्न, प्रश्न गर्न र आफ्नै गतिमा सिक्न पाउने वातावरण निर्माण गर्नु नै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आधार हो। नेपालको ईसीडीलाई बालमैत्री, समावेशी र स्थानीय परिवेशअनुकूल बनाउन सरकार, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको विश्लेषणको निष्कर्ष छ।