काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) परीक्षाका लागि आवेदन आह्वान गरेको छ। आयोगले विज्ञापन प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारबाट अनलाइन आवेदन माग गरेको हो।
आयोगका अनुसार आगामी मंसिर ९ गतेदेखि आवेदन प्रक्रिया सुरु हुनेछ। उम्मेदवारले नियमित दस्तुरमा पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म फाराम भर्न पाउने व्यवस्था गरिएको छ।
अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ। परीक्षाका लागि आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ। परीक्षा लिखित तथा वस्तुगत प्रकृतिको हुने आयोगले जनाएको छ। परीक्षाको मिति, समय र केन्द्रसम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।
आयोगका अनुसार परीक्षामा सहभागी हुन शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ९ बमोजिमको न्यूनतम शैक्षिक योग्यता तथा आवश्यक तालिम पूरा गरेको हुनुपर्नेछ।
विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन तथा बाली विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले तालिम नलिएको भए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यी विषयबाहेक अन्य विषयका उम्मेदवारका लागि भने तोकिएको शिक्षण तालिम अनिवार्य गरिएको छ।
आयोगले नेपाली नागरिक नभएका, १८ वर्ष उमेर पूरा नगरेका, मानसिक रूपमा अयोग्य ठहरिएका, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका तथा भविष्यमा सरकारी वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका व्यक्तिलाई आवेदन दिन अयोग्य हुने स्पष्ट पारेको छ। त्यस्तै, आवश्यक शैक्षिक योग्यता तथा तालिम पूरा नगरेका उम्मेदवारको आवेदनसमेत स्वीकार गरिने छैन।
इच्छुक उम्मेदवारले आयोगको आधिकारिक वेबसाइटमा गई अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, शैक्षिक योग्यताको प्रमाणपत्र तथा लब्धाङ्कपत्र, तालिमको प्रमाणपत्र र आवश्यकताअनुसार समकक्षता प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्नेछ।
आवेदन दस्तुर राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडमार्फत बैंक भौचरबाट जम्मा गर्न सकिनेछ। त्यसैगरी कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई पेमार्फत अनलाइन भुक्तानी गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।
आयोगले आवेदन फाराम भर्दा व्यक्तिगत विवरण तथा अपलोड गरिएका कागजात ध्यानपूर्वक जाँच गरेर मात्र अन्तिम रूपमा पेस गर्न उम्मेदवारलाई आग्रह गरेको छ। विवरण वा कागजातमा त्रुटि भेटिएमा आवेदन रद्द हुन सक्ने आयोगले जनाएको छ।
माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षा सबै प्रदेशमा एकै दिन र एकै समयमा सञ्चालन हुनेछ। त्यसैले उम्मेदवारले आवेदन फाराम भर्दा आफू परीक्षा दिन इच्छुक रहेको एउटा प्रदेश मात्र छनोट गर्नुपर्नेछ। परीक्षा केन्द्र तथा अन्य आवश्यक जानकारी आयोगले पछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नेछ।