काठमाडौँ- नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले जुम्लाको तिला गाउँपालिका–१, राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगको अनुसन्धानअनुसार शाहीले आर्थिक वर्ष २०७८/७९ मा तिला गाउँपालिकाबाट प्राप्त शिक्षा सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षक पदमा नियुक्ति लिन नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरेका थिए।
उनले उक्त अनुमतिपत्रका आधारमा २०७९ जेठ १५ गते विद्यालयमा करार शिक्षकका रूपमा नियुक्ति लिई राष्ट्रसेवकको हैसियतमा तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गरेको आयोगको ठहर छ।
नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी सार्वजनिक पदमा नियुक्ति लिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर भएको आयोगले जनाएको छ।
सोही कानुनी व्यवस्थाअनुसार शाहीलाई कैद तथा जरिवाना सजाय हुनुपर्ने मागदाबीसहित आयोगले २०८३ कात्तिक १९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन्।