काठमाडौँ- उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेसँगै चारदिने महापर्व छठ सम्पन्न भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्।

छठको अन्तिम दिन बिहान गाईको दूध, जल, फूल तथा विभिन्न पूजासामग्रीसहित सूर्यदेवलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा छ। यससँगै व्रतालुहरूले छठको प्रसाद ग्रहण तथा वितरण गरेका छन्।
यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन देशभरका छठघाटमा श्रद्धालुहरूको ठूलो भीड लागेको थियो। काठमाडौँको गौरीघाट पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको थियो। त्यस्तै, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कमलपोखरी पुगेर सूर्यदेवलाई अर्घ्य दिनुभएको थियो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार सोमबार बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय हुने समय निर्धारण गरिएको थियो। छठको अन्तिम दिन व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर उदाउँदो सूर्यको प्रतीक्षा गर्दै पूजा तथा आराधना गर्ने परम्परा छ।
सूर्य र जललाई सम्पूर्ण जीवजगत्को जीवन तथा संरक्षणको आधार मान्दै छठ पर्वमा सूर्यदेव र नदीप्रति विशेष श्रद्धा प्रकट गरिन्छ। धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको पूजा आराधना गर्दा मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने विश्वास छ।

छठ पर्वका अवसरमा विवाहित महिला तथा पुरुषले पति–पत्नीको दीर्घायु, अविवाहितले योग्य जीवनसाथी तथा सन्तान प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्छन्। विशेषगरी महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणका लागि कठोर उपवास गर्ने परम्परा छ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन चतुर्थीमा स्नान गरी शुद्ध भोजन गर्ने, दोस्रो दिन खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक विधि छ। पर्व अवधिभर व्रतालुहरूले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोलगायतका खानेकुरा त्याग्ने गर्छन्।
परम्परागत रूपमा तराई–मधेस क्षेत्रमा विशेष रूपमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरूमा पनि लोकप्रिय बन्दै गएको छ। वि.सं. २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा छठ मनाउने क्रम विस्तार भएको हो। वि.सं. २०६३ देखि थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष रूपमा छठ मनाउन थालिएको थियो। यद्यपि २०७२ सालको भूकम्पपछि रानीपोखरीमा छठ मनाउने क्रम रोकिएको छ।

पछिल्ला वर्षमा काठमाडौँको कमलपोखरीमा छठ पूजाको आकर्षण बढ्दै गएको छ। यसबाहेक गौरीघाट, बागमती दोभान, टङ्केश्वर, बल्खुको कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड, रामघाट, बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि छठ पूजा आयोजना हुँदै आएको छ।
काठमाडौँ महानगरपालिकाले छठ पर्वलाई व्यवस्थित बनाउन छठघाटमा भीड व्यवस्थापन, पूजा तथा दर्शनको सहजीकरण, स्वास्थ्य सेवा र आकस्मिक उद्धारको व्यवस्था गर्दै आएको छ। घर फर्कन कठिनाइ हुने श्रद्धालु तथा व्रतालुका लागि यातायात सहयोग, खानेपानी र अन्य आवश्यक सेवासमेत उपलब्ध गराउने गरिएको छ।

पछिल्लो समय काठमाडौँमा छठ मनाउने समुदाय र श्रद्धालुको संख्या बढ्दै जाँदा राजधानीमा छठ पर्वको सांस्कृतिक र धार्मिक महत्त्व पनि विस्तार हुँदै गएको छ। विविध समुदायबीच धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा छठले आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ।