काठमाडौँ- नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जुम्लाको तिला गाउँपालिका–१, राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।
शाहीले तिला गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त शिक्षण सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक पदमा नियुक्ति पाउन नक्कली स्थायी अध्यापन अनुमतिपत्र तयार गरी पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
उनले उक्त नक्कली अनुमतिपत्र तथा झुट्टा प्रमाणपत्र पेस गरी २०७९ जेठ १५ गते ज्योति माध्यमिक विद्यालयमा करार शिक्षकका रूपमा नियुक्ति लिएको पाइएको छ।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवकको हैसियतमा पद, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले उनको कार्य भ्रष्टाचारजन्य कसुर भएको आयोगको ठहर छ।
आयोगले शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनासम्बन्धी अनुसन्धान पूरा भएपछि शाहीविरुद्ध कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा अघि बढाइएको हो।
