काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी तथा विद्यालय सहायक कर्मचारी छनोटका लागि नयाँ पाठ्यक्रम, २०८३ सार्वजनिक गरिएको छ। प्युठानको माण्डवी गाउँपालिकाले तयार पारेको भनिएको पाठ्यक्रममा शिक्षक छनोटका लागि आवश्यक शैक्षिक ज्ञान, बालमनोविज्ञान, शिक्षण विधि, बालमैत्री वातावरण र व्यावहारिक सीपलाई प्राथमिकता दिइएको छ।
प्रारम्भिक बालविकास शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाका लागि निर्धारण गरिएको पाठ्यक्रमअनुसार लिखित परीक्षा वस्तुगत र विषयगत गरी दुई चरणमा सञ्चालन हुनेछ। लिखित परीक्षाको कुल पूर्णाङ्क १०० हुनेछ भने अन्तर्वार्ताका लागि थप २५ अंक छुट्याइएको छ। वस्तुगत र विषयगत परीक्षाको पूर्णाङ्क ५०–५० निर्धारण गरिएको छ।
वस्तुगत परीक्षामा २५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्नको अंकभार दुई हुनेछ। यसका लागि ४५ मिनेट समय दिइनेछ भने उत्तीर्णाङ्क २५ कायम गरिएको छ। वस्तुगत परीक्षामा गलत उत्तर दिएमा सम्बन्धित प्रश्नको अंकको २० प्रतिशत कट्टा हुने व्यवस्था गरिएको छ।
वस्तुगत परीक्षामा उत्तीर्ण भएका उम्मेदवारले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउनेछन्। विषयगत परीक्षामा १० वटा छोटो उत्तर आउने प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्न पाँच अंकको हुनेछ। यसका लागि दुई घण्टा समय निर्धारण गरिएको छ भने उत्तीर्णाङ्क २० कायम गरिएको छ। विषयगत परीक्षामा प्राप्त अंकमा वस्तुगत परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशतसमेत जोडेर लिखित परीक्षाको नतिजा तयार गरिनेछ।
पाठ्यक्रमले प्रारम्भिक बालविकासको अवधारणा, बालमनोविज्ञान, बालबालिकाको सर्वाङ्गीण विकास, स्वास्थ्य, पोषण, सुरक्षा, पाठ्यक्रम, दैनिक कार्यतालिका र मूल्याङ्कनसम्बन्धी विषयलाई समेटेको छ। नेपालको संविधानका धारा ३१ र ३९, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा रहेका बालविकाससम्बन्धी व्यवस्थाबाट समेत प्रश्न सोधिनेछन्।
त्यस्तै, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ (परिमार्जन २०८२) को परिचय, संरचना, उद्देश्य र वार्षिक कार्यान्वयनसम्बन्धी विषय पनि परीक्षामा समावेश गरिएको छ। शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, संवेगात्मक, सांस्कृतिक, नैतिक तथा सिर्जनात्मक विकासका पक्षलाई पाठ्यक्रमले महत्त्व दिएको छ।
वस्तुगत परीक्षामा बालविकास सहजकर्ताका तहगत सक्षमता, पूर्वभाषिक तथा पूर्वगणितीय सीप, दृश्यकला, सिर्जनशीलता विकास, बालगीत, खेल तथा कथाको प्रयोग, बालमैत्री वातावरण निर्माण र कक्षाकोठा व्यवस्थापनसम्बन्धी प्रश्न रहनेछन्। बालबालिकाको स्वास्थ्य, पोषण, व्यक्तिगत सुरक्षा, गुड टच र ब्याड टच, दुर्घटना रोकथाम तथा सरसफाइका विषय पनि समेटिएका छन्।
समावेशी शिक्षाअन्तर्गत फरक क्षमता, भाषा तथा पृष्ठभूमि भएका बालबालिकाको सिकाइ सहजीकरण र विशेष आवश्यकता भएका बालबालिकाको व्यवस्थापनबारे समेत उम्मेदवारको ज्ञान परीक्षण गरिनेछ। खेलमा आधारित तथा मनोरञ्जनात्मक सिकाइ, निरन्तर मूल्याङ्कन, पोर्टफोलियो निर्माण, अवलोकन फाराम र प्रगति विवरण तयार गर्ने सीपलाई पनि प्राथमिकता दिइएको छ। यसका साथै अभिभावक शिक्षा, सामुदायिक सहभागिता र स्थानीय तहसँगको समन्वयसम्बन्धी विषय समावेश छन्।
विषयगत परीक्षाका लागि पाँचवटा मुख्य क्षेत्र निर्धारण गरिएको छ। प्रत्येक क्षेत्रबाट दुईवटा प्रश्न सोधिनेछन् र प्रत्येक प्रश्न पाँच अंकको हुनेछ। पहिलो क्षेत्र बालमनोविज्ञान तथा समावेशी कक्षासँग सम्बन्धित छ। यसमा शून्यदेखि आठ वर्षसम्मका बालबालिकाको विकास, बालमनोविज्ञानका आधारभूत सिद्धान्त, बालअधिकार, बाल संरक्षण तथा विशेष आवश्यकता भएका बालबालिकाको व्यवस्थापन समेटिएको छ।
दोस्रो क्षेत्र पाठ्यक्रम तथा दैनिक कार्यतालिकासँग सम्बन्धित छ। यसमा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रमको ढाँचा, विकासका क्षेत्र, पूर्वगणित, पूर्वपठन तथा पूर्वलेखन सीप र दैनिक कार्यतालिका निर्माणका विषय समावेश छन्। स्वागत, सामूहिक समय, खेल, खाजा तथा समीक्षा समयजस्ता गतिविधिको व्यवस्थापनबारे पनि प्रश्न सोधिनेछ।
तेस्रो क्षेत्र शिक्षण विधि तथा सिकाइ वातावरण हो। यसमा स्वतन्त्र तथा निर्देशित खेल, कथा वाचन, गीत, कविता, नाटक, अभिनय र कठपुतली प्रविधिको प्रयोग समेटिएको छ। भाषा, गणित, निर्माण, कला, प्रकृति तथा विज्ञानसम्बन्धी सिकाइ कुनाको व्यवस्थापन र बालमैत्री कक्षाकोठा निर्माण पनि यसैअन्तर्गत पर्छन्।
चौथो क्षेत्रमा सिकाइ सामग्री निर्माण तथा प्रयोगलाई समेटिएको छ। स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गरी निःशुल्क वा न्यून लागतका शैक्षिक सामग्री निर्माण गर्ने तरिका, भित्री तथा बाहिरी खेल सामग्रीको प्रयोग, सुरक्षा मापदण्ड र श्रव्यदृश्य सामग्रीको उपयोगबारे उम्मेदवारको ज्ञान परीक्षण गरिनेछ।
पाँचौँ क्षेत्र मूल्याङ्कन तथा अभिलेखीकरणसँग सम्बन्धित छ। यसमा निरन्तर अवलोकन, पोर्टफोलियो, चेकलिस्ट, घटना वृत्त अभिलेख, व्यक्तिगत प्रगति प्रतिवेदन र अभिभावक परामर्शका विषय समावेश छन्। बालपोषण, बालस्वास्थ्य, प्राथमिक उपचार, व्यक्तिगत सरसफाइ र अभिभावकसँगको सहकार्यसम्बन्धी विषयलाई पनि यसै क्षेत्रमा राखिएको छ।
लिखित परीक्षापछि हुने अन्तर्वार्ताका लागि १५ अंक निर्धारण गरिएको छ। शैक्षिक योग्यताका लागि चार अंक र अनुभवका लागि पाँच अंक छुट्याइएको छ। सेवा प्रवेशका लागि तोकिएको शैक्षिक योग्यतामा प्रथम श्रेणी प्राप्त गरे तीन र द्वितीय श्रेणी प्राप्त गरे दुई अंक दिइनेछ। सोभन्दा माथिल्लो शैक्षिक योग्यतामा प्रथम श्रेणी प्राप्त गरे दुई र द्वितीय श्रेणी प्राप्त गरे एक अंक प्रदान गरिने व्यवस्था छ।
प्रारम्भिक बालविकास शिक्षकका रूपमा काम गरेको अनुभवबापत प्रत्येक वर्ष आधा अंकका दरले बढीमा पाँच अंक प्रदान गरिनेछ। अन्तर्वार्तामा उम्मेदवारलाई ६० प्रतिशतभन्दा बढी वा ३५ प्रतिशतभन्दा कम अंक दिनुपर्ने अवस्थामा त्यसको स्पष्ट कारण खुलाउनुपर्ने व्यवस्था पनि पाठ्यक्रममा गरिएको छ।
लिखित परीक्षाको माध्यम नेपाली वा अंग्रेजी दुवै भाषा हुन सक्नेछ। पाठ्यक्रममा समावेश कानुन, नियम तथा नीतिमा संशोधन वा नयाँ व्यवस्था थप भएमा परीक्षाको मितिभन्दा तीन महिनाअघिसम्म कायम रहेको व्यवस्थालाई आधार मानेर प्रश्न तयार गरिने उल्लेख छ।