काठमाडौँ- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले काठमाडौंको समग्र विकास, सुशासन र रूपान्तरणका लागि मेयर पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।
उनले आफ्नो जीवन र कार्यक्षेत्रबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौं महानगरको सेवामा समर्पित गर्ने बताएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषयमा भने खुलाएकी छैनन्।
गत आम निर्वाचनअघि श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी थिइन्। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा समेत कार्यरत रहेकी थिइन्।
मेयर पदमा उम्मेदवारी दिने घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि हुने प्रतिस्पर्धामा श्रेष्ठको प्रवेशलाई चासोका साथ हेरिएको छ।
