काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष पेस गरेको छ।
आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन गरिएका प्रमुख कार्य, उपलब्धि, समग्र गतिविधि, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको प्रतिवेदन मन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा प्रतिवेदन पेस गरिएको हो। कार्यक्रममा मन्त्री पोखरेलले आयोगले आफ्नो जिम्मेवारीअनुसार महत्त्वपूर्ण कार्यहरू सम्पादन गरेको भन्दै धन्यवाद व्यक्त गरे।
नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार सामुदायिक विद्यालयमा रिक्त शिक्षक तथा कर्मचारी पदमा नियुक्तिका लागि सिफारिस गर्नुका साथै नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाका लागि सिफारिस गर्ने जिम्मेवारी आयोगको रहेको छ।
शिक्षा ऐनमा आयोगले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आयोगले १८औँ वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका प्रमुख सल्लाहकार, सहसचिवहरू, आयोगका प्रशासनिक प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
